Skip This
बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ स्थापना
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
कमल खत्री म्याग्दी
२o८१ बैशाख २९ शनिबार o६:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ स्थापना

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o६:४o:oo

म्याग्दी सदरमुकाम बेनीस्थित बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ स्थापना गरिएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास कार्यक्रम र अस्पतालको आन्तरिक स्रोतबाट ६२ लाख ४० हजार लागतमा जिल्लामै पहिलोपटक अक्सिजन उत्पादन केन्द्र ‘अक्सिजन प्लान्ट’ स्थापना गरिएको हो । अब जिल्लामै अक्सिजन उत्पादन र अक्सिजन भर्ने सेवा सुरु भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । 

प्लान्ट स्थापनाका लागि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको ४२ लाखमा मेसिन तथा उपकरण खरिद गरिएको थियो । केन्द्रको भवनलगायतको पूर्वाधार निर्माणमा पाँच लाख खर्च भएको छ भने अक्सिजन भर्ने बुस्टर मेसिन खरिदमा १५ लाख ४० हजार खर्च भएको अध्यक्ष कटुवालले बताए । 

बुस्टर खरिदमा स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाको सिफारिसमा रघुगंगा गाउँपालिकामा विनियोजन भई खर्च हुन नसकेको करिब १४ लाख बजेटलाई परिचालन गरिएको थियो । बाँकी रकम अस्पतालले थपेको थियो । 

अहिले सिलिन्डरमार्फत अक्सिजन प्रयोग हुँदै आएको छ । अब केही महिनाभित्रै अस्पतालका आवश्यक पर्ने कोठाहरूमा सोझै पाइपलाइनमार्फत पु¥याउने तयारी गरिएको अस्पतालका निमित्त प्रमुख डा. जितेन्द्र कँडेलले बताए । पाइपलाइन विस्तारका लागि सामाजिक विकास मन्त्रालयबाट १० लाख बजेट विनियोजन भएको छ । 

अक्सिजन उत्पादन केन्द्र र भर्ने सुविधा विस्तार भएसँगै नियमित रूपमा अक्सिजन प्रयोग गर्दै आएका श्वासप्रश्वास, दमका बिरामीसँगै जटिल रोगका बिरामीको उपचारमा सहजता हुने डा. कँडेलले बताए । म्याग्दीमा अहिलेसम्म पोखराबाट अक्सिजन सिलिन्डर ल्याउने गरिएको थियो । अहिले दैनिक १० देखि १२ वटासम्म सिलिन्डरमा अक्सिजन भर्न सकिने जनाइएको छ । 

ad
ad