१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o६:५३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

अमेरिकाबाट खेल्ने मेस्सीको चाहना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:५३:oo

पछिल्लो समय अर्जेन्टिनी कप्तान लियोनल मेस्सी मिडियासँग निकै नजिक छन् । आफूलाई चित्त नबुझेको पक्ष तत्कालै स्पेनिस वा अर्जेन्टिनी मिडियालाई बताउने गर्छन् । मेस्सी राष्ट्रिय टोली वा बार्सिलोना क्लबमा भइरहेका घटनाक्रमबारे सबै आफ्ना फ्यानलाई अवगत हुनुपर्ने विश्वास गर्छन् । जसकारण बितेको तीन महिना मेस्सीसँग सम्बन्धित कुनै न कुनै समाचार मिडियाले प्राथमिकताका साथ प्रकाशित गर्दै आइरहेका छन् । 

बार्सिलोनाले २०२० को सिजन नसकिँदै उरुग्वेका स्ट्राइकर लुइस सुआरेजलाई बेच्दा मेस्सीले कडा रूपमा क्लबको निर्णयप्रति असन्तुष्ट पोखेका थिए । क्लबभित्र आफ्ना समकक्षीहरूको बहिर्गमनसँगै उनले बार्सिलोनामा बस्न खासै इच्छा नभएको बारम्बार भनिरहेका छन् । तर, उनी क्लबसँगको सम्झौतामा बाँधिएका छन् । बार्सिलोनासँगको सम्झौता बाँकी रहेकाले उनी तत्काल अन्य क्लबमा जान असमर्थ छन् । यदि उनले जान चाहे सम्झौता गर्ने क्लबले चर्को मूल्य चुकाउनुपर्छ । यही कारणले पनि मेस्सीलाई अनुबन्ध गर्न युरोपका धनी क्लबले आनाकानी गरिरहेका छन् । 

विश्व फुटबलका सर्वाधिक सफल खेलाडी मेस्सी फेरि पेरिस सेन्ट जर्मेन (पिएसजी) तथा म्यानचेस्टर सिटीसँग आबद्ध हुने चर्चा चलेको छ । तर, उनले यसपटक आफ्नो गन्तव्य फरक भएको स्पष्ट पारेका छन् । मेस्सीले स्पेनिस टेलिभिजन ला सेक्ट्रालाई हालै दिएको एक अन्तर्वार्तामा उनले अमेरिकाबाट खेल्ने चाहना भएको खुलासा गरेका छन् । ‘यो मेरो भित्री भावना हो, मलाई थाहा छैन, अब के हुन्छ,’ मेस्सीले भनेका छन्, ‘म सिजनको अन्तिम दिनसम्म रहनेछु, तर मेरो अबको इच्छा अमेरिकाबाट खेल्ने हो ।’ 

३३ वर्षीय मेस्सीले अमेरिकन लाइफ स्टाइल तथा त्यहाँको फुटबलबाट आफू प्रभावित भएको बताएका छन् । यही कारण हुन सक्छ, उनलाई युरोपियन क्लबतर्फ मोह नभएको । उनी भन्छन्, ‘अमेरिकनको रहनसहनबाट म प्रभावित छु, त्यहाँको लिग पनि राम्रो लाग्छ ।’ 

बार्सिलोनाका निवर्तमान अध्यक्ष जोसेप मारिया बार्टोमेउले एकल निर्णय गरेका कारण बार्सिलोनाले गत सिजनमा कुनै पनि उपाधि जित्न नसकेको मेस्सी मान्छन् । ‘खेलाडीमाथि हस्तक्षेप हुँदा त्यसको असर नतिजामा पर्छ,’ व्यवस्थापनको हस्तक्षेपपछिको नतिजाबारे उनले भने, ‘यही कारण थियो कि बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग आठ गोलको अन्तरले पराजित भयो ।’ 

बार्सिलोनालाई धेरै योगदान दिइसकेको र जीवनको एक खण्ड नै नाउ क्याम्पमा बिताएका कारण अन्य क्लबमा जान चाहेको मेस्सीले सुनाए । ‘मैले आफ्नो करिअरको एक पाटो बार्सिलोनालाई दिइसकेको छु, अब यहाँ योभन्दा धेरै गर्न सकिँदैन, मबाहिर निस्कन चाहन्छु,’ बार्सिलोनासँग सम्बन्ध राम्रो नभएको इंगित गर्दै उनले भने, ‘अहिले पनि बार्सिलोनालाई च्याम्पियन्स लिग उपाधि दिलाउने इच्छा छ, त्यसविरुद्ध लडाइँ चलिरहेको छ, तर समय परिवर्तन भइरहेको छ ।’ 

१३ वर्षको उमेरमै बार्सिलोनासँग आबद्ध भएका मेस्सी सर्वकालीन गोलस्कोरर हुन् । उनले गत साता मात्र बार्सिलोनाबाट ६४४ गोलको विश्व कीर्तिमान राखेका थिए । उनले ब्राजिलका पेलेको नाममा रहेको ६४३ गोलको रेकर्ड तोडेका हुन । बार्सिलोनामा रहँदा मेस्सीले १० पटक स्पेनिस ला लिगा, चारपटक च्याम्पियन्स लिग तथा ६ पटक बालोन डिअर (विश्वको उत्कृष्ट खेलाडी) जितेका छन् । 

एजेन्सीको सहयोगमा 

ad
ad