१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ पौष ११ शनिबार ०९:१५:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फुटबल गतिविधि नहुँदा समस्यामा रेफ्री

Read Time : > 3 मिनेट
२०७७ पौष ११ शनिबार ०९:१५:००

मंसिरदेखि जेठसम्म फुटबल खेलको पिक सिजन मानिन्छ, तर कोरोनाका कारण प्रतियोगिता ठप्प हुँदा राष्ट्रियस्तरका रेफ्री आर्थिक संकटमा

फुटबल मैदानभित्र खेलाडी तथा अफिसियललाई अनुशासनको दायरामा राखी खेल सञ्चालन गर्ने काम रेफ्री र साइड लाइन्समेनले गर्छन् । तर, कोरोना भाइरस (कोभिड–१९) ले नौ महिनादेखि खेलकुद गतिविधि ठप्प रह्यो । फिफा तथा राष्ट्रियस्तरका रेफ्रीले मैदानभित्र ‘ह्विसल’ फुक्न नपाएको पनि लामै समय भइसकेको छ । यही ‘ह्विसल’ फुकेको भरमै उनीहरूको घरमा चुलो बल्छ र परिवारको जीविकोपार्जन चल्छ । केन्द्र तथा मोसफलमा नियमित रूपमा फुटबल प्रतियोगिता गराउन नपाउँदा राष्ट्रियस्तरका रेफ्री आर्थिक संकटमा परेका छन् ।

गत फागुनमा सहिद स्मारक ‘ए’ डिभिजन लिग र मोसफलमा चलेका गोल्डकप सम्पन्न भए । एक रेफ्रीले जति धेरै म्याच खेलाउँछ त्यहीअनुसार उसको आम्दानी हुन्छ । हरेक वर्षको भदौ अन्तिमदेखि जेठ महिनासम्म व्यावसायिक रेफ्रीहरू व्यस्त हुन्छन् । मंसिरदेखि जेठसम्म त झन् उनीहरूलाई भ्याइनभ्याई हुन्छ । तर, ११ चैतपछि पूर्ण रूपले फुटबल गतिविधि रोकियो । यसबाट फुटबलसँग प्रत्यक्ष आबद्ध रेफ्री पनि घरमै बस्न बाध्य भए । कोरोनाले आफ्नो पेसामा धैरै नै असर गरेको बताउँछिन् महिला रेफ्री माया लामा । रेफ्री करिअरमा मात्र निर्भर भएकाले आर्थिक समस्या बेहोर्नुपरेको उनको भनाइ छ । लामा भन्छिन्, ‘धेरैजसो रेफ्री आर्थिक रूपमै समस्यामा छन्, पहिलो निरन्तर खेल हुँदा जीवन राम्रोसँग चलिरहेको थियो, अहिले फुटबल ठप्प नै छ ।’

आफू पार्टटाइम शिक्षक भएकाले घरमा त्यति समस्या नभएको उनी बताउँछिन् । ‘यदि यो समयमा पार्टटाइम शिक्षक नभएको भए आर्थिक रूपमा धेरै समस्या आउने थियो होला, वैकल्पिक पेसाले नै यो नौ महिना जीवन धानेको छ,’ उनी भन्छिन् । नियमित फुटबल गतिवधि भइरहँदा महिनाको दुई–तीनवटा प्रतियोगिता हुन्थ्यो । यसबाट रेफ्रीलाई केही समस्या थिएन । ‘पहिले महिनामै तीनवटासम्म प्रतियोगिता हुन्थ्यो, साथै फुटसल खेल पनि । त्यसवेला आर्थिक समस्या केही थिएन,’ उनले भनिन् । 

लकडाउनको समयमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले रेफ्रीहरूलाई आर्थिक सहयोग नगरेको भने होइन । तर, त्यो पर्याप्त थिएन । ‘लकडाउनको समयमा एन्फाबाट आर्थिक सहयोग प्राप्त भयो,’ उनी भन्छिन् । एन्फाले प्रतियोगिता भएका वेला फिफा रेफ्रीलाई प्रतिदिन तीन हजार र राष्ट्रियस्तरकालाई २५ सय रुपैयाँसम्म भत्ता दिने गर्छ । नेपालमा १० जना फिफा रेफ्री छन् । जसमा आठ पुरुष र दुई महिला छन् । फिफा रेफ्रीहरूले मात्र एन्फाबाट मासिक रूपमा आठ हजार रुपैयाँ पारिश्रमिक लिने गर्छन् । यसबाहेक अन्यले पारिश्रमिक पाउँदैनन् । 

फुटबल खेल खेलाएर दैनिकी चलाउनुपर्ने पेसामा संलग्न व्यक्तिको जीवन अहिले कष्टकर रूपमा बितिरहेको छ । अन्तर्राष्ट्रिय र घरेलु खेल नभएकाले आर्थिक रूपमा गाह्रो भएको छ । भाडामा बस्ने रेफ्रीहरूको अवस्था अझ राम्रो नभएको सुनेको छु । - सुरेन्द्र सिंखाकार, पूर्वफिफा रेफ्री

                                                                          .......

पूर्वफिफा रेफ्री सुरेन्द्र सिंखाकार कोरोनाले रेफ्रीहरूको दैनिक जीवन निकै संकटमय भएको बताउँछन् । ‘खेल खेलाएर दैनिकी चलाउनुपर्ने पेसामा संलग्न व्यक्तिको जीवन अहिले कष्टकर रूपमा बितिरहेको छ,’ सिंखाकार भन्छन्, ‘अन्तर्राष्ट्रिय र घरेलु खेल नभएकाले आर्थिक रूपमा गाह्रो भएकोे छ ।’ उनका अनुसार घरभाडामा बसेका रेफ्रीहरूको अवस्था त झनै दयनीय छ । ‘भाडामा बस्ने रेफ्रीहरूको अवस्था राम्रो नभएको सुनेको छु,’ उनले भने ।

एन्फाका प्रवक्ता किरण राई फुटबलको सर्वोच्च संस्था फिफाले कोभिड फन्डबाट प्राप्त आर्थिक सहयोग रेफ्रीहरूलाई वितरण गरेको बताउँछन् । ‘यो समयमा फिफाबाट कोभिड–१९ फन्डबाट एकपटक आर्थिक सहयोग आएको थियो, त्यो दश हजार रुपैयाँ थियो, हामीले त्यो रकम रेफ्रीहरूलाई वितरण ग¥यौँ,’ प्रवक्ता राईले भने, ‘त्यसबाहेक यस्तो केही काम भएको छैन ।’ उनले राष्ट्रियस्तरका रेफ्री आर्थिक रूपमा कमजोर भएको गुनासो वा सूचना एन्फासमक्ष नआएको जनाए । ‘अहिलेसम्म रेफ्रीहरू अप्ठ्यारोमा परेको सुनेको छैन,’ राई भन्छन् । 

महिला रेफ्रीमध्ये चर्चित नाम हो लक्ष्मी श्रेष्ठ । धनगढीकी श्रेष्ठ मैदानमा सिटी फुक्न नपाउँदा बिरामीझैँ महसुस भएको बताउँछिन् । ‘मैदानमा सिटी हातमा लिएर उत्रन नपाएको लामो समय भयो,’ उनी भन्छिन्, ‘यसरी कहिल्यै पनि बस्नुपरेको थिएन ।’ मैदानमा सक्रिय हुन नपाउँदा आफू पनि आर्थिक रूपले ग्रसित भएको उनको भनाइ छ । ‘घरबाट पनि वैकल्पिक बाटो खोज्न निकै दबाब परिरहेको छ, फिफा रेफ्रीको वर्गमा परेकाले मात्र एन्फाबाट पारिश्रमिक पाउँछन्, हामी तलबविहीन छौँ,’ उनी भन्छिन् ।’ 

रेफ्री कमिटीका प्रमुख रवीन्द्रनाथ श्रेष्ठले भने यो पेसामा संलग्नहरू त्यति समस्यामा नरहेको दाबी गर्छन् । ‘त्यति समस्या आएकोजस्तो लाग्दैन, यो लकडाउनको समयमा सबै केही न केही रूपमा काम गरी दैनिक जीवन चलाइरहेका छन्,’ श्रेष्ठले भने, ‘सबै रेफ्री खेल पेसामा मात्र निर्भर छैनन् ।’ 

मोफसलमा पनि समस्या उस्तै

विराटनगर/कोरोना संक्रमणले फुटबल प्रतियोगिता र प्रशिक्षण कार्यक्रम आयोजना हुन नसक्दा मोसफलका रेफ्री बेरोजगार बनेका छन् । विगतमा जस्तो खेल खेलाउन नपाउँदा उनीहरू आर्थिक संकट झेल्न बाध्य छन् ।

पूर्वसहायक फिफा रेफ्री तथा फिटनेस ट्रेनर किरण गिरी नेपाली रेफ्री कोरोना महामारीमा प्रत्यक्ष आर्थिक मारमा परेको बताउँछन् । उनका अनुसार चरम आर्थिक संकट झेलेका रेफ्रीलाई पूर्वरेफ्री समूहले कुनै राहत सहयोग गरेको छैन । ‘आर्थिक संकट झेलिरहेका रेफ्रीलाई सम्बन्धित निकायले आवश्यक सहयोग हुनुपर्छ,’ गिरीले भने, ‘घरपरिवारको जीवन धान्न धौ–धौ परिरहेको छ, एन्फाले उनीहरूलाई न्यूनतम मासिक सहयोग गर्न आवश्यक छ ।’ गिरीका अनुसार पहिलो श्रेणीका ३० जना सहायक रेफ्री आर्थिक संकटमा छन् । मोरङका रेफ्री मदन काफ्लेले प्रतियोगिता आयोजना ठप्प भएपछि आर्थिक मारमा परेको बताए । ‘जेनतेन ऋण गरेर जीवन धानिरहेका छौँ, महामारी अझै लम्बिएमा चाहिँ परिवारको जीवन चलाउन निक्कै धौ–धौ पर्नेछ,’ काफ्लेले भने, ‘एन्फाले यो समयमा न्यूनतम आर्थिक सम्बोधन गर्नुपर्ने हो । तर, भएको छैन ।’ 

खेल गतिविधि नहुँदा वैकल्पिक पेसा अपनाउनुपर्ने बाध्यता आएको रेफ्री श्याम दनुवारले बताए । भन्छन्, ‘हामीले जानेको सीप भनेकै फुटबल खेल्न, खेलाउन हो, यसैले वैकल्पिक पेसा गर्न सजिलो छैन, केहीले बन्द व्यापार गर्न खोज्दा लगानीसमेत गुमाएका छन् ।’ 

पिक सिजन र आम्दानी हुनेवेला नै फुटबल प्रतियोगिता बन्द भएपछि यसबाटै कमाएर खाने रेफ्रीहरू प्रत्यक्ष मारमा परेको रेफ्री बलिदान राई बताउँछन् । ‘लकडाउनमा पनि कुनै गतिविधि भएन, जसले उनीहरूले कमाएर सञ्चय गरेको आम्दानी पनि सबै खर्च गर्न बाध्य भए,’ राईले भने, ‘लकडाउन खुलेपछि पनि अझै फुटबलका कुनै गतिविधि आयोजना हुन सकेका छैनन् । यसैले रेफ्रीहरूको आम्दानी अझै ठप्प छ ।’ अहिलेसम्म फुटबल रेफ्रीकै लागि सरकार वा एन्फाबाट कुनै व्यवस्था नभएको उनले बताए । आर्थिक समस्याले गर्दा नियमित कडा शारीरिक व्यायाम गर्नुपर्ने रेफ्रीहरूलाई पोषणयुक्त आहारको समेत समस्या परिरहेको उनको भनाइ छ ।