मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ पौष ९ बिहीबार ०६:५०:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

बेलायतमा नयाँ कोरोना भाइरस

विश्व स्वास्थ्य संगठन भन्छ– ‘नयाँ भाइरसबाट संक्रमित हुनेको संख्या तीव्र रूपमा बढे पनि संक्रमणले गम्भीर रूप लिने सम्भावना छैन’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ पौष ९ बिहीबार ०६:५०:००

विश्व स्वास्थ्य संगठनले बेलायतमा नयाँ किसिमको कोरोना भाइरस भेटिएको बताएको छ । बेलायतमा एक हजारभन्दा बढी केसहरूमा स्पाइक उत्पादन भएको पाइएसँगै हाल प्रयोगमा आइरहेको भ्याक्सिन नयाँ संक्रमणविरुद्ध प्रभावकारी हुने नहुने चिन्ताको विषय बनेको छ ।

नयाँ भाइरसको संक्रमणबाट संक्रमित हुनेको संख्या दु्रत रूपमा बढिरहे पनि संक्रमणले गम्भीर रूप लिने सम्भावना नरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । सार्स कोभिडबाट उत्पन्न भएको यो भाइरस विश्वमा छिटो फैलिने अनुमान गरिएको छ ।

विज्ञहरूका अनुसार नयाँ भाइरस हाल महामारीको रूप लिएको कोभिड भाइरसभन्दा ७० प्रतिशत बढी तीव्र फैलिन सक्छ । यो भाइरसलाई बेलायतले भियुआई अर्थात् भ्यारियन्ट अन्डर इन्भेस्टिगेसन नाम दिएको छ । संक्रमितको संख्या बढ्दै गएपछि विभिन्न देशले बेलायतबाट प्रवेश गर्न रोक लगाएका छन् । 

कोभिडविरुद्धको भ्याक्सिन निर्माण भइसकेपछि महामारी नियन्त्रणमा आउने आशा गरिए पनि नयाँ संक्रमणले झन् त्रास थपेको विज्ञहरूले बताउँदै आएका छन् । तर, भियुआई नाम दिइएको यो भाइरसले हालसम्म गम्भीर समस्या निम्त्याएको भने रिपोर्टमा उल्लेख छैन ।

यो भाइरस सार्स कोभिडका स्पाइक प्रोटिनमा जेनेटिक म्युटेसन भएर आएको अनुमान गरिएको छ । यो भाइरस अन्य भाइरसभन्दा तीव्र रूपमा फैलिन्छ । तर, यसका छुट्टै लक्षण भने देखिएका छैनन् । सामान्यतः भियुआई संक्रमण भएका व्यक्तिमा ज्वरो, खोकी, छाती दुखाई र स्वाद वा गन्ध थाहा नपाउनेजस्ता लक्षण देखिएको बताइएको छ । 

भियुआई भाइरस संक्रमण पहिलोपटक गत सेप्टेम्बरमा बेलायतमा भेटिएको थियो, तर संक्रमितको संख्या नोभेम्बरदेखि बढ्न थालेको पाइएको अध्ययनले देखाएको छ । बेलायतमा मात्र नभई इटाली र अस्ट्रेलियामा पनि यो भाइरसका केही नयाँ केस भेटिएको पाइएको छ ।

सामान्यतः कुनै पनि भाइरसमा म्युटेसन वा आनुवंशिक परिवर्तन भएर नयाँ भाइरस उत्पन्न हुनुलाई स्वाभाविक मानिन्छ । मे महिनामा सार्स कोभिडको म्युटेसनबारे गरिएको एक अध्ययनअनुसार आनुवंशिक परिवर्तन भएर नयाँ भाइरस उत्पन्न हुने बताइएको थियो । अर्थात् भाइरसको आनुवंशिक परिवर्तन भएर नयाँ देखिनु सामान्य मानिए पनि यो भाइरसविरुद्ध खोप प्रभावकारी हुन्छ हुँदैन भन्ने चुनौतीको विषय बनेको छ । 

हालसम्म भाइरसको प्रकोप गम्भीर नदेखिएकाले समस्या निम्त्याउने सम्भावना पनि कम देखिएको अनुसन्धानकर्ताको निष्कर्ष छ । योसँगै अध्ययनकर्ताहरू म्युटेसन भएर आएको भाइरस केही समयपछि आफैँ निष्क्रिय भएर जाने सम्भावनासमेत रहने बताउँछन् । 

नयाँ कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै बेलायतमा उडान भर्दै आइरहेका २५ अन्तर्राष्ट्रिय विमान कम्पनीले तत्कालका लागि सेवा बन्द गरेका छन् । बेलायतमा आफ्ना नागरिकको सुरक्षा नभएको र त्यहाँको अवस्था अत्यन्तै जटिल भएको जनाउँदै ती देशका अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनीले सोमबार आफ्नो सबै सेवा बन्द गरेको जनाएका छन् । 


एक्कासि अन्तर्राष्ट्रिय विमान सेवा बन्द भएपछि लन्डनको हिथ्री विमानस्थलमा भिड बढेको बिबिसीले उल्लेख गरेको छ । फ्रान्स, जर्मनी, इटाली, स्विट्जरल्यान्ड, पोर्चुगल, बेल्जियम, अस्ट्रिया, बुल्गेरिया, डेनमार्क, फिनल्यान्ड, रोमानिया, क्रोएसिया तथा नेदरल्यान्डले बेलायतमा जाने र आउने सबै उडानमाथि प्रतिबन्ध लगाएका छन् । भारतले ३१ डिसेम्बरसम्म लन्डन जाने आफ्ना सबै फ्लाइट बन्द गरेको छ ।

युरोपियन राष्ट्र टर्कीले अस्थायी रूपमा मात्र बेलायतमा जाने हवाई सेवा रोकेको छ । क्यानडा, आयरल्यान्ड, चिली र जोर्डनले लन्डन यात्रामा निस्किने यात्रुहरूलाई ३ जनवरीसम्म कुनै फलाइट नभएको जानकारी दिएका छन् । रसियाले एक साताका लागि यस्तै निर्णय गरेको छ । 
 एजेन्सीको सहयोगमा