मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ पौष ६ सोमबार ०९:२३:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

पाँच अर्ब वार्षिक घाटामा रहेको निगमलाई तीन वर्षपछि मात्रै नाफामा लैजाने लक्ष्य

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ पौष ६ सोमबार ०९:२३:००

नेपाल वायुसेवा निगमले दशवर्षे व्यावसायिक योजना सार्वजनिक गरेको छ । जसमा सन् २०२४ भित्र साना र ठूला गरेर १४ वटा जहाज खरिद गर्ने योजना बनाएको छ । जसका लागि ६३ अर्ब ५६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 

झन्डै ५ अर्ब वार्षिक घाटामा रहेको नेपाल वायुसेवा निगमलाई तीन वर्षपछि नाफामा लैजाने गरी दशवर्षे व्यावसायिक योजना तयार पारिएको छ । सन् २०२१ भित्र घाटा कम गर्दै १ अर्ब ७४ करोडमा झार्ने योजना बनाएको निगमले सन् २०२४ मा ४९ करोड नाफा गर्ने लक्ष्य राखेको छ ।

यस्तो योजना निगमले गत साता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई र बिहीबार अर्थमन्त्री विष्णु पौडेललाई बुझाइसकेको छ । निगमले यसअघि पनि सन् २०१४–२०२४ को दशवर्षे व्यावसायिक योजना बनाएको थियो । जसमा सन् २०२४ भित्र १० ठूला जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गर्ने योजनासमेत थियो । सोही योजनालाई नै आधार बनाएर निगमले अर्को योजना सार्वजनिक गरेको हो । 

दशवर्षे योजनाअनुसार निगमले सन् २०२४ भित्रै आन्तरिक र अन्तर्र्राष्ट्रिय उडानका लागि १४ जहाज खरिद गर्ने लक्ष्य राखेको छ । निगमको व्यावसायिक योजनाअनुसार सन् २०२२ मा दुईवटा न्यारोबडी, सन् २०२३ मा थप दुई थान न्यारोबडी र एक थान वाइडबडी जहाज खरिद गर्ने लक्ष्य छ । त्यस्तै, सन् २०२४ मा थप एक थान वाइबडी जहाज किनेर अन्तर्राष्ट्रिय उडानतर्फ ६ वटा थप्ने योजना बनाएको छ । हाल निगमसँग दुई थान वाइडबडी र दुई थान न्यारोबडी जहाज छन् । योजनाअनुसार जहाज खरिद गरिएमा निगमका १० वटा जहाजले अन्तर्राष्ट्रिय उडान गर्नेछ । 

आन्तरिकतर्फ पनि सुगम र दुर्गम दुवै क्षेत्रका लागि ४–४ थान जहाज खरिद गर्ने योजना छ । ६ वर्षअगाडि आन्तरिक उडानका लागि खरिद गरिएका चिनियाँ ६ थान जहाज अहिले ग्राउन्डेड छन् भने पुराना तीन थान ट्विनअटरमध्ये दुुईले मात्रै उडान गरिरहेका छन् ।

नयाँ योजनाअनुसार सन् २०२१ भित्रै दुई थान एटिआर ७२ सिरिजका जहाज खरिद गरेर सुगम क्षेत्रमा उडान गर्ने लक्ष्य छ । त्यस्तै, सन् २०२२ मा थप दुई जहाज खरिद गरेर एटिआर ७२ सिरिजका जहाज चार थान बनाउने लक्ष्य छ । यता दुर्गम क्षेत्रमा उडानका लागि ट्विनअटर वा भाइकिङ सिरिजका जहाज सन् २०२३ मा दुई थान र सन् २०२४ मा दुई थान गरेर खरिद गर्ने योजना छ ।  

 ग्राउन्ड ह्यान्डलिङमा २७ अर्ब खर्च 
नेपाल सरकारले निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थल भैहरवा र पोखराको पनि ग्राउन्ड ह्यान्डलिङको जिम्मा निगमलाई दिइसकेको छ । निगमले आफ्नो तयारी सुरु गरेको छ । त्रिभुवन विमानस्थलमा पनि अत्याधुनिक उपकरण राख्ने र अन्य दुई विमानस्थलमा पनि सुविधासम्पन्न सेवा दिने तयारी निगमको छ । जसका लागि सन् २०३० सम्म २७ अर्ब ३३ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङबाट पनि निगमले वार्षिक ५ अर्ब हाराहारी आम्दानी गर्दै आएको छ ।

 चार वर्षसम्म ६३ अर्ब ५६ करोड आवश्यक 
निगमको योजनाअनुसार सन् २०२१ देखि २०२४ सम्म साना र ठूला गरी १४ जहाज खरिद गरिनेछन् । जसका लागि ६३ अर्ब ५६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । योजनामा सन् २०२१ का लागि १ अर्ब ७३ करोड लाग्ने अनुमान छ भने सन् २०२२ मा १३ अर्ब ३६ करोड खर्च हुनेछ । सन् २०२३ मा ३० अर्ब ६ करोड हुने अनुमान गरिएको छ । त्यसैगरी, सन् २०२४ मा १८ अर्ब ४२ करोड खर्च हुने अनुमान गरिएको छ । 

 ऋणमाथि ऋण थप्दै निगम 
नेपाल वायुसेवा निगमले ऋणको पछिल्लो पाँच किस्ताका साथै चारवटा जहाजको ब्याज मात्रै ४ अर्ब ७१ करोड ८ लाख ६ हजार ३ सय २४ रुपैयाँ तिर्न बाँकी छ । उक्त ब्याजलाई साँवामा गाभ्न अर्थ मन्त्रालयमा निगमले गत वर्ष नै प्रस्ताव पठाएको थियो । तर, अहिलेसम्म साँवामा गाभिएको भने छैन । निगमले हालसम्म १ अर्ब ३१ करोड ६ लाख मात्रै किस्ता बुझाएको छ । 

०७२ देखि ०७७ सम्म ब्याज र किस्ता ५ अर्ब ४५ करोड ६७ लाख भुक्तानी गरेको छ । चारवटा जहाजको तिर्नुपर्ने ऋण मात्रै निगमको ३३ अर्ब ९७ करोड ७२ लाख छ । दुई थान ३२० जहाजको ९ अर्ब ९८ करोड ११ लाख छ भने दुई थान ३३० जहाजको २३ अर्ब ९९ करोड ६१ लाख छ । निगमले सञ्चय कोष र नागरिक लगानी कोषसँग ३३० जहाजका लागि १२–१२ अर्ब ऋण लिएको थियो । ०७१ मा खरिद गरिएको ३२० जहाजका लागि सञ्चय कोषसँग १० अर्ब ऋण लिएको थियो ।