Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ पौष ४ शनिबार १३:५०:००
Read Time : > 3 मिनेट
अर्थ डिजिटल संस्करण

मुख्यमन्त्री नमुना कृषि गाउँ कार्यक्रम : विदेसिएका युवा उखुखेतीतर्फ आकर्षित

Read Time : > 3 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ पौष ४ शनिबार १३:५०:००

बेलडाँडी गाउँपालिका ३ खैरिघाट कञ्चनपुरका युवा अम्मरराज पण्डित तीन वर्षअघि भारतमा रोजगारी गर्दै आएका थिए । स्वदेशमा कुनै रोजगारी नभएपछि उनी डेढ दशकदेखि भारतमै रोजगारी गर्थे । 

गत वर्ष पण्डित स्वदेश फर्किए । पण्डित स्वदेश फर्किनासाथ कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नमुना कृषि गाउँ कार्यक्रम लागू भइरहेको थियो  ।

पण्डितको गाउँ बेलडाँडीमा समेत मुख्यमन्त्री नमुना कृषि गाउँअन्तर्गत उखुखेती  कार्यक्रम सञ्चालनमा एको थियो । उनकै आठ कट्ठा खेतमा सुरुमै प्रदर्शनीका  लागि उखुखेती गरियो । 

‘म घर फर्किनासाथ मुख्यमन्त्री नमुना कृषि गाउँ (उखु) समन्वय समितिले नमुनाका लागि उखुखेती गरिदिए, ‘पण्डितले भने, ‘अहिले ठूलो भइसकेको छ, आउँदो फागुनमा बेच्छु ।’ उनको खेतमा उन्नत जात (०२३८) अर्थात ट्रेन्चर आधुनिक प्रविधिबाट उखुखेती गरिएको छ । ‘पहिले यो खेतमा परम्परागत बाली लगाउँदा घरमा खानसमेत धौधौ हुन्थ्यो, ‘पण्डितले भने, ‘अहिले खेतभरि लटरम्म उखु फस्टाएको छ ।’

 आठ कट्रठा जमिनमा उनको झन्डै डेढलाखदेखि दुई लाखसम्म आम्दानी हुनेछ । ‘परम्परागत खेतीभन्दा नगदेबालीका रूपमा रहेको उखुखेतीबाट राम्रो आम्दानी हुने भएपछि उखुखेतीतर्फ आकर्षण भएको उनले बताए । ‘अब विदेश जान्नँ, स्वदेशमै पसिना बगाउँछु, ‘उनले भने, ‘मुख्यमन्त्री नमुना कृषि गाउँ कार्यक्रमबाट मलखाददेखि यान्त्रीकरण पाइएको छ।’ 

खैरिघाटकै सञ्जीवविक्रम सिंह पनि उखुखेतीतर्फ आकर्षित भएका छन । उनले दुई बिघामा उखुखेती लगाएका छन । ‘गाउँनजिकै चिनी मिल छ, ‘उनले भने, ‘नमुना गाउँअन्तर्गत सिँचाइदेखि यान्त्रीकरण पाएका छौँ, विदेशमा पसिना बगाउनुभन्दा स्वदेशमै काम गनुपर्छ ।’मलखाद, प्रविधिबारे ज्ञानसीप, सिँचाइका लागि बोरिङ एव यान्त्रीकरण पाएसँगै किसानलाई उखुखेती गर्न सहज भएको भन्दै उनले काम गर्न सके स्वदेशमै आम्दानी र वस्तु उत्पादन गर्न सकिने बताए ।

उखु किसान जोगी सिंहले स्वदेशमै उखु मिल नहुँदा समस्या हुने गरेको बताउँदै उनले अहिले गाउँमा चिनी मिल भएपछि किसानलाई बिक्री–वितरणमा सहज भएको बताए । ‘पहिला हाम्रो नेपालमा चिनी मिल थिएन, ‘उनले भने, ‘उतिवेला भारतमा लगेर सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता थियो, अहिले गाउँमै चिनी मिल खुलेर सहज भएको छ  ।’

परम्परागत रूपमा खेती गर्दै आएका सिंहले कार्यक्रम लागू भएसँगै दोब्बर उत्पादन भइरहेको बताए । ‘पहिले गोरुबाट जोतेर उखु लगाउँथे, ‘उनले भने, ‘अहिले प्रविधिबाट खेत जोतेर उखु लगाउँछौँ, उत्पादनमा पनि वृद्धि भइरहेको छ ।’ कार्यक्रमअन्तर्गत आफूले ट्याङकी मेसिन पाएको बताउँदै सिंहले औषधि छर्किन सहज भएको बताए । सिंहले पनि एक बिघामा उमुखेती गरेका छन् । 

बेलडाँडी गाँउपालिका १ बेलडाँडीका स्थानीय एव मुख्यमन्त्री नमुना कृषि गाउँका सल्लाहकार चक्र शाहले गत वर्षदेखि कार्यक्रम लागू भएकाले उखु किसानसमेत आकर्षित भइरहेको बताए । उनले उँचो भागतिर उन्नत जातको अर्ली उखु लगाउँदा जंगली जनावरको समस्या रहेको बताए । ‘मुख्यमन्त्री नमुना कृषि गाउँ कार्यक्रमबाट किसानलाई थुप्रै राहत पुगेको छ, ‘उनले भने, ‘राहत पाएपछि किसान उखुखेतीतर्फ आकर्षित भएका छन् ।’ 

नजिकै रहेको महाकाली सुगर इन्डस्ट्रिज प्रालिका क्यान मेनेजर सिडी पाण्डेले समेत उद्योगका लागि चाहिने कच्चा पदार्थ अभाव हुन नदिन किसानलाई प्राविधिक रूपमा सहयोग गर्दै आएको बताए । ‘हामीले पनि यो मुख्यमन्त्री कार्यक्रमसहित अन्य उखु किसानलाई प्राविधिक सहयोग गर्दै आएका छौँ, ‘उनले भने, ‘किसानलाई कुनै प्राविधिक समस्या आएर हामीलाई कच्चा पदार्थ अभाव हुन नदिन हामी किसानसँगै छौँ ।’ उनले स्तरीय उखु अर्लीमै जोड दिएको बताए । 

मुख्यमन्त्री नमुना कृषि गाउँ (उखु) समन्वय समिति बेलडाँडीका अध्यक्ष सुरेन्द्र सिंहले किसानलाई उखुखेतीका लागि चाहिने मलबीउ खाद, यन्त्र, उपकरण अनुदानमा वितरण गरिएको बताए ।

‘गत वर्षदेखि किसानलाई अत्याश्यक बीउमल खाद, यन्त्र–उपकरण अनुदानका रूपमा वितरण गरिरहेका छौँ, ‘उनले भने, ‘यस वर्ष पनि किसानका खेत–खेतमै सिँचाइका लागि ट्युबवेल जडान गरिरहेका छौँ ।’ अध्यक्ष सिंहका अनुसार २० जना किसानलाई बोरिङ वितरण गरिएकाे छ । ‘सबै किसानको घर–घरमा बोरिङ गछौँ, ‘उनले भने, ‘यसबाट किसानलाई सिँचाइका लागि सुविधा हुनेछ ।’ 

अध्यक्ष सिंहका अनुसार बोरिङ, इन्जिन, मोटर, पाउर टिलर, रोटाभेटर औषधि छर्किने ट्यांकी, सर्भिस पाइपलगायतका यन्त्र एवं उपकरण जडान गरिने बताए ।  बेलडाँडी गाँउपालिका १, ३, ४ अन्तर्गत सात सय किसानले आठ सय बिघामा उखुखेती गरेका छन् । ‘यस वर्षदेखि हामी फर्टिलाइजर मेसिनसमेत वितरण गछौँ, ‘अध्यक्ष सिंहले भने, ‘विगतमा खेतमा आगो लगाइन्थ्यो, ‘अब त्यो झन्झट हट्यो ।’

किसानसँग उखुखेतीका लागि लगानी अभावका कारण उनीहरूले अन्य परम्परागत खेती गर्दै आएको बताउँदै सिंहले कार्यक्रममार्फत लगानी, अनुदान, बीउविजन, मलखाद, आधुनिक प्रविधिबाट खेती गर्दै यान्त्रीकरण वितरण गरेसँगै किसान उखुखेतीतर्फ आकर्षित भएको अध्यक्ष सिंहले बताए ।

अन्तरबाली पनि 

बेलडाँडी गाउँपालिका क्षेत्रका  किसानले मुख्यमन्त्री नमुना कृषि गाउँ (उखु) अन्तर्गत अन्तरबालीसमेत लगाएका छन् । 

कार्यक्रमअन्तर्गत उखुलाई पहिलो प्राथमिकतामा राखेर अन्तरबाली लगाएका हुन्र । ‘अहिले १५ जना किसानले अन्तरबाली लगाएका छन्, ‘अध्यक्ष सिंहले भने, ‘उखुसँगै तोरी, आलु, मुसुराे लगाएका छन् ।’

छोटो अवधिमा तयार हुने बाली र उखु सँगसँगै लगाइन्छ । उखु पाक्न वर्ष दिन लागेपछि अन्य ३ र ६ महिनामा  तयार हुने बाली पनि लगाइन्छ । अन्तरबालीबाट किसानलाई दोहोरो उत्पादन र लाभ हुने अध्यक्ष सिंहले बताए । ‘अन्तरबाली पनि राम्रो फस्टाएको छ, अध्यक्ष सिंहले भने ।

कृषिमा औद्योगीकरण गर्नका लागि कार्यक्रम : कृषि ज्ञान केन्द्र 

कृषि ज्ञान केन्द्र कञ्चनपुरले मुख्यमन्त्री नमुना कृषि गाउँअन्तर्गत कृषिमा आत्मनिर्भरका साथै कृषिलाई औद्योगीकरण गर्ने सरकारले लक्ष्य रहेको जनाएको छ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा. दिलबहादुर विष्टले किसानलाई परम्परागतबाट व्यावसायिक, आधुनिकीकरण गर्दै औद्योगीकरणतर्फ लैजाने कार्यक्रम भएको बताए । 

‘उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने हो, ‘ज्ञान केन्द्र प्रमुख विष्टले भने, ‘किसानलाई प्रविधियुक्त बनाएर उत्पादन वृद्धि गर्दै आर्थिकस्तरलाई बढावा जाने हो ।’

सुदूरपश्चिम प्रदेश सरकारबाट सञ्चालित कार्यक्रम बेलडाँडीसहित जिल्लाका अन्य पालिकाहरूमा समेत कृषि वस्तु उत्पादन एव ठाउँ परिवेश सुहाउँदो नमुना गाउँ बनाएर किसानलाई कृषिको आधुनिक व्यवसायीतर्फ उन्मुख गराउने योजना रहेको बताए । 

नगदेबालीका रूपमा रहेको उखुखेतीको थप विस्तारका लागि समेत पहल भइरहेको प्रमुख डा. विष्टले बताए । ‘अहिले जति काम भइरहेको छ, त्यसमा राम्रो काम भए थप क्षेत्र विस्तार गरेर अरू किसानलाई पनि समेट्दै जान्छौँ, किसानलाई आत्मनिर्भर बनाउँछौँ ।’