मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ माघ ९ शुक्रबार
  • Friday, 22 January, 2021
ad
निर्मल अर्याल
२०७७ पौष २ बिहीबार ०७:१९:००
ब्लग डिजिटल संस्करण

रमेश विकल भन्नुहुन्थ्यो, ‘तिम्रो समाचार वाचनकला अदभुत छ’

निर्मल अर्याल
२०७७ पौष २ बिहीबार ०७:१९:००

नेपाली साहित्यप्रति बाल्यकालदेखि नैै विशेष लगाव भएकाले आख्यान विधाका देदिव्यमान नक्षत्र रमेश विकलप्रति मेरा सदा उच्च सम्मान रहँदै आएको छ । भेगीय (जोरपाटीवासी) र पारिवारिक निकटता (मेरा पूजनीय ठूलोबुबा मूर्धन्य व्यंग्यकार भैरव अर्याल र विकल घनिष्ट मित्र हुनुहुन्थ्यो)का हिसाबले पनि विकलप्रतिको मेरो सान्निध्यता अझ प्रगाढ छ ।

विक्रम संवत् २०५० को दशकमा विद्यालयस्तरमा हुने विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा प्रमुख तथा विशिष्ट अतिथिका रूपमा म विकललाई मञ्चहरूमा प्रत्यक्ष देखिरहन्थेँ । यसैक्रममा मैले २०५६ सालमा विकलको हातबाट पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्ने सौभाग्य पाएँ ।

अरुणिमा अल्मुनाई एसोसिएसनले आयोजना गरेको विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा सान्त्वना स्थान हासिल गरेबापत मैले प्रमुख अतिथि रमेश विकलबाट पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेँ । त्यतिवेला विकलसँग मेरो संक्षिप्त परिचय मात्र भयो । मेरो वाक्कलाबाट प्रभावित उहाँले मलाई अझ मिहिनेत गर्दै अघि बढ्न हौस्याउनुभएको क्षण मानसपटलमा ताजै छ । 

२०५८ सालमा प्रवेशिका (एसएलसी) परीक्षा दिएपछि मैले केही महिना मामाघर (समुद्रटार, नुवाकोट)मा बिताएँ । त्यो समयमा नेपाल टेलिभिजनबाट विकलको सदावहार उपन्यास ‘अविरल बग्दछ इन्द्रावती’ प्रसारण भइरहेको थियो । विकलको उपन्यासमा बद्री अधिकारीद्वारा निर्देशित यो टेलिसिरियलबाट म अत्यन्त प्रभावित थिएँ ।

मेरो व्यक्तिगत विचारमा विकललाई साहित्यप्रेमीका अलावा प्रत्येक नेपालीजनको मन–मस्तिष्कमा बसाउन यो टेलिसिरियल पनि कोसेढुंगा साबित भएको छ । मेरा मामामाइजूहरू पनि ‘आज त इन्द्रावती आउने दिन, सोभिते (मुख्य पात्र) आउने दिन’ भन्दै उक्त टेलिसिरियल आउनु घन्टौँअगाडि भान्साको सबै काम सकाउनुहुन्थ्यो । राजेन्द्र थापाको गीत, दिव्य खालिङको संगीत तथा दीप श्रेष्ठको गायनमा रहेको शीर्ष गीत सकिएलगत्तै करिब ३० मिनेटको मार्मिक सिरियल एकै निमेषमा सकिएझैँ भान हुन्थ्यो ।

उपन्यासका रचयिता विकल आफ्नै गाउँका भएको (अझ पारिवारिक सम्बन्ध पनि रहेको) र उनीबाट पुरस्कारसमेत पाएको खुलाउँदा मावलीका सदस्यहरू माझ मलाई गर्व महसुस हुन्थ्यो । मेरो अवचेतन मनले कहिलेकाहीँ यो संयोगलाई यसरी स्मृति गर्छ, ‘विकलले ससुराली (मण्डन, कुन्ताबेँसी)वरपरको घटनालाई समेटेर अमर कृति ‘अविरल बग्दछ इन्द्रावती’ लेखेँ, अनि मैलेचाहिँ मामाघर (समुद्रटार, नुवाकोट)मा टिभीमार्फत ‘इन्द्रावती’को रसास्वादन गरेँ ।टेलिभिजनबाट प्रसारण भएको धेरैपछि मात्र मैले यो कृति पढेँ । यस कृतिले मलाई यसरी अभूतपूर्व छोएको छ कि केही वर्षको अन्तरालमा पटक–पटक यो कृति दोहोर्‍याउँदै पढ्ने गरेको छु । 

प्रवेशिका (एसएलसी) उत्तीर्ण भएसँगै औपचारिक रूपमा २०५८ असोज पहिलो हप्ताबाट सञ्चारकर्ममा आबद्ध भएपछि विकलसँगको मेरो सम्बन्धले प्रगाढ रूप लिन थाल्यो । विकलको निवासनजिकै रहेको एचबिसी एफएम ९४ मेगाहर्जमा मैले समाचार संवाददाता तथा समाचारवाचकको भूमिका पाएँ । भर्खर क्याम्पस प्रवेश गरेको एउटा १८ वर्षे ठिटोका लागि यो वास्तवमै ठूलो अवसर थियो ।

मेरो समाचारवाचन शैलीलाई विकलले निकै रुचाउनु हुँदोरहेछ । यो तथ्य मैले केही महिनापछि मात्र थाहा पाएँ । बेलुकी ६ बजे सहकर्मी दाइ भीम थापा र मैले वाचन गर्ने समाचार उहाँ आरुबारी चोकको एक चियापसलमा चिया पिउँदै सुन्ने गर्नुहुन्थ्यो ।

वाचनका क्रममा मबाट भएको त्रुटि औँल्याउँदै उहाँले प्रत्यक्ष भेटमा भन्नुहुन्थ्यो, ‘निर्मल तिम्रो समाचारवाचन कला अदभुत छ, तिमीले केही दिनको अघिको समाचारवाचन गर्दा उच्चारणमा गल्ती गर्‍यौँ, त्यसलाई यसरी सुधार है’ नेपाली साहित्यका एक यशस्वी साधकले भर्खर पत्रकारिता गर्न थालेकालाई यसरी मार्गनिर्देशन गर्नु मेरा लागि वरदान साबित भयो । यस घटनालाई क्याम्पसका प्राध्यापक तथा साथीहरूबीच राख्दा उनीहरू मलाई त साह्रै ‘भाग्यमानी’ भन्थे अनि म पनि पुलकित हुन्थेँ । 

 मप्रति विकलले देखाउनुभएको अगाध प्रेम देखेर मेरा मित्रहरू आश्चर्य मान्थे । अनि मलाईचाहिँ वास्तवमै गर्वबोध हुन्थ्यो

०५८ सालमै भएको अभिनव साहित्य समाजको गठनले पनि मलाई विकलसँग अझ नजिक बनायो । उहाँ समाजका ‘मानार्थ सदस्य’ रहनुभयो म केन्द्रीय कार्यसमितिको संस्थापक सदस्य । प्रत्येक महिनाको अन्तिम शनिबार हुने साहित्यिक कार्यक्रममा हाम्रो भेट भइरहन्थ्यो । त्यस्ता कार्यक्रममा म प्रायः कवितावाचन गर्थेँ । समसामयिक विषयमा आधारित मेरा कविता उहाँलाई औधी मन पर्थ्याे र मलाई निरन्तर कलम चलाउन अभिप्रेरित गर्नुहुन्थ्यो ।

बाल्यकालदेखि लेखेका रचनाहरूलाई समेटेर कृति नै तयार गर्न सुझाब दिनुहुन्थ्यो । साथै, मेरो पत्रकारिताबारे पनि उहाँ सूक्ष्म ज्ञान राख्नुहुन्थ्यो । यसरी उहाँको र मेरो सम्बन्ध प्रगाढ हुँदै गयो । मेरा मित्रहरूले सञ्चालन गरेका विद्यालयहरूले अभिभावक दिवस तथा अन्य सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा विकललाई निम्त्याउँदा मेरै सहारा लिन्थे ।

म सरासर त्यस्ता मित्रहरूलाई लिएर आरुबारीस्थित विकलनिवास जान्थेँ । उहाँले स्पष्ट भन्नुहुन्थ्यो, ‘निर्मल मेरो परिवारकै सदस्यजस्तो प्रिय छ, अबको उसैको सिफारिस लिएर आएपछि म तपाईंको कार्यक्रममा नआएर भयो त’ मप्रति विकलले देखाउनुभएको अगाध प्रेम देखेर मेरा मित्रहरू आश्चर्य मान्थे । अनि मलाईचाहिँ वास्तवमै गर्वबोध हुन्थ्यो । 

०६१ पुस ४ गते मेरो साहित्यिक यात्रामा एक अविस्मरणीय दिन । रमेश विकलजस्तै मलाई स्नेह गर्ने साहित्यानुरागीहरूले कृति निकाल्न मलाई दिएको अभिप्रेरणाले सार्थकता पाएको क्षण । नेपाल बार एसोसिएसनको सभाकक्षमा प्रमुख अतिथि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका तत्कालीन उपकुलपति प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी, विशिष्ट अतिथि श्रद्धेय रमेश विकललगायतका स्रष्टाहरूको उपस्थितिमा मेरो पहिलो कृति ‘मन’ विमोचन हुँदा मजत्तिकै खुसी हुनुहुन्थ्यो, रमेश विकल ।

त्यसमा पनि मैले उक्त कृति उहाँका प्रिय सखा मेरा ठूलो बुबा भैरव अर्यालप्रति समर्पण गरेकोमा उहाँ अति प्रसन्न हुनुभयो । ‘भैरवको परिवारमा अहिलेसम्म कोही पनि औपचारिक रूपमा साहित्यमा प्रवेश नगर्दा म दुःखी थिएँ, तिमीले आज मेरो दुःख दूर गरिदियौ, तिमीलाई बधाई छ निर्मल’ म पनि हर्षविभोर भएँ । विमोचन समारोहलाई सम्बोधन गर्ने क्रममा उहाँले सामाजिक परिवेशमा लेखिएका मेरा कथाहरूको प्रशंसा गर्नुभयो । आख्यान विधाका विशिष्ट प्रतिभाले मेरा कथाहरू मन पराइदिनुलाई मैले ‘आशीर्वाद’का रूपमा ग्रहण गरेँ ।

साहित्यिक कार्यक्रममा हाम्रो भेट निरन्तर भइरहन्थ्यो । ०६२–६३ मा उहाँको स्वास्थ्य केही कमजोर हुँदै गयो । जोरपाटी चोकमा भैरव अर्यालको सालिक बन्नुपर्नेमा उहाँ दृढसंकल्पित हुनुहुन्थ्यो । सालिक निर्माण क्रममा देखिएका अड्चनबाट उहाँ केही निराश हुनुभयो । उहाँ मलाई बरम्बार भन्नुहुन्थ्यो, ‘जोरपाटी चोकमा भैरवको सालिक नठडिँदै मर्छुजस्तो छु निर्मल म त’ यो सुनेर मलाई निकै खिन्न लाग्थ्यो ।

वसन्त रिजाल, गोपाल बरालजस्ता कर्मठ सामाजिक तथा साहित्यप्रेमी दाइहरूको घनीभूत प्रयासबाट अर्यालको सालिक जोरपाटी चोकमा ठडिएरै छाड्यो । वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रित, भैरव अर्याललाई आफ्नो आदर्श मान्ने वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायतको गरिमामय उपस्थितिमा सालिक अनावरण कार्यक्रम सम्पन्न भयो जुन ऐतिहासिक कार्यक्रम सञ्चालन गर्ने सुअवसर मैले नै प्राप्त गरेको थिएँ । 

मिति ०६३ माघ अन्तिमतिर स्वास्थ्य कमजोर भएर उहाँ जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा भर्ना हुनुभयो । म अस्पताल पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे विजय दाइ, महेन्द्र दाइ (विकलका सुपुत्रहरू) लगायतसँग जानकारी लिइरहन्थेँ । उहाँको स्वास्थ्य क्रमश : खस्कँदै गइरहेको थियो । ०६५ पुस २ गते दिउँसो उहाँको निधनबारे अपुष्ट खबर समाचार शाखामा आएपछि त्यसको पुष्टि गर्ने जिम्मेवारी मलाई दिइयो ।

त्यतिवेला म समाचार सम्पादकका रूपमा एबिसी टेलिभिजनमा काम गर्थेँ । मेरा हात–खुट्टा लगलग काम्न थाले । मस्तिष्क शून्य हुन थाल्यो, तर पेसागत जिम्मेवारीबाट पन्छिने छुट मलाई किमार्थ थिएन । म मेरा अप्रतिम साहित्यकार (परिवारकै अग्रजजस्तै)को निधनको समाचारलाई पन्छाउन चाहन्थेँ । तर, पेसागत दायित्वलाई भुल्ने नैतिक बलमा सायद ममा थिएन । अन्तत : मेडिकल कलेजमा कार्यरत चिकित्सकहरूलाई सम्पर्क गर्दै उहाँको निधन भएको समाचारलाई पुष्टि गरेँ ।

टेलिभिजन स्क्रिनमा विकलको निधनबारे ब्रेकिङ न्युज टाइप गर्ने क्रममा मेरा हातका औँलाहरू यसरी काम्न थाले कि म त्यस्को वर्णन नै गर्न सक्दिनँ । नश्वर शरीरलाई एक दिन त्याग्नु सामान्य प्रक्रिया नै हो, तर विकलको भौतिक शरीर अब यो लोकमा छैन भन्ने तथ्य मान्न मलाई प्रलय गाह्रो भयो । अत्यन्त भारी हृदयका साथ फगत पेसागत दायित्वले गर्दा विकलको निधनको समाचारलाई तत्काल राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्न बाध्य भएँ । तर, समाचार डेस्कमा थप काम गर्ने सामर्थ्य आएन ।

विकलको अन्त्येष्टि कहाँ गरिँदै छ भनेर असंख्य दर्शकहरूको फोन समाचारकक्षमा आइरहेको थियो । म पनि पुसको पहिलो हप्ताको मुटु कमाउने चिसोलाई चुनौती दिँदै विकलको अन्त्येष्टिमा सहभागी हुन गोकर्णतर्फ लागेँ । कुन रफ्तारमा मोटरसाइकल चलाएर सुन्धाराबाट करिब २० मिनेटमा गोकर्ण पुगेँ त्यो मलाई पत्तो छैन ।

विकललाई श्रद्धाञ्जली दिन जोरपाटी चोकदेखि नै साइरनजडित नेताहरूको गाडीको लस्कर लागेको दृश्य अहिले पनि हिजैको हो कि जस्तो भान हुन्छ । विकललाई माया गर्ने सयौँ साहित्यप्रेमीको हुलमा म पनि मिसिएँ र उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरी घर फर्किएँ । 

विकल मलाई बारम्बार भन्नुहुन्थ्यो, ‘बुझ्यौ निर्मल, स्रष्टा कि त आफ्नो रचनामा बाँच्छ या त सन्ततिको रगतमा बाँच्छ ।’ भैरव अर्यालसँगको मेरो नाता खुलाउँदै उहाँले यो अमरवाणी मेरो पुस्तक (मन) विमोचन कार्यक्रममा पनि दोहोऱ्याउनुभएको थियो । यस अर्थमा तपाईं (विकल) यस लोकमा दुवै कोणबाट अजर अमर हुनुहुन्छ । एक त कालजयी कृतिहरूले तपाईंलाई अमर बनाएका छन्, अर्कोतर्फ विकल परिवारमा तपाईंको बिरासत थाम्नका लागि चौथो पुस्तासमेत तयार भइसकेको छ । त्यसैले, तपाईं धेरै भाग्यमानी हुनुहुन्छ, वैकुण्ठमा पनि पक्कै साहित्य सिर्जनामा तै तल्लीन हुनुहुन्छ ।