मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ पौष १ बुधबार ०८:०९:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

बेसीसहरका पाँचवटा सडक कालोपत्रे हुने

Read Time : > 1 मिनेट
२०७७ पौष १ बुधबार ०८:०९:००

बेसीसहर नगरपालिकामा लागत साझेदारीमा चालू वर्षमा थप पाँचवटा सडक कालोपत्रे हुने भएको छ । नगरसभाबाट एकमुष्ट रकम छुट्याइएकोमा मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले बेसीसहरमा पाँचवटा सडक छनोट गरी बजेट विनियोजित गरेको हो । 

नगरपालिकाको ६० र स्थानीय उपभोक्ताको ४० प्रतिशत लागतमा निर्माण गर्न आवेदन माग भएकामध्ये बैठकले प्राथमिकताका आधारमा पाँचवटा सडक छनोट गरी बजेट विनियोजित गरेको हो । बैठकबाट छनोट भएका योजनाहरूमा वडा नम्बर ७ को मिलिजुली टोलदेखि उद्योग वाणिज्य संघ जोड्ने सडकका लागि १० लाख ७६ हजार तीन सय ६८ रुपैयाँ, मनाङे चौतारा तमु आमा समूह र जनचेतना आमा समूह जाने सडक कालोपत्रे १२ लाख ७८ हजार एक सय १७, वडा नम्बर ८ को ठमेल मार्ग ढलान तथा कालोपत्रे दुई लाख ३९ हजार एक सय ६३ रुपैयाँ विनियोजन गरिएको छ । 

ठाडो लाइन मिलापका भित्र जाने सडकको लागि १६ लाख ५३ हजार पाँच सय ५९ र झिंगे खोलाबाट खानेपानी उपभोक्ता समितिको कार्यालयतर्फ जाने सडकका लागि १२ लाख ५१ हजार एक सय ६२ रुपैयाँ गरी ५४ लाख ९८ हजार तीन सय ६९ रुपैयाँ बजेट विनियोजित गरिएको छ । यो रकममा उपभोक्ता समितिले ४० प्रतिशत बजेट थप गर्नुपर्ने हुन्छ । छनोट भएका योजनाहरूले एक महिनाभित्र सम्झौता गर्नुपर्नेसमेत बैठकले निर्णय गरेको छ । 

लागत साझेदारीमा सडक कालोपत्रे गर्न नगरपालिकाले आवेदन माग गरेकोमा नौवटा आवेदन परेको थियो । नौवटामध्ये पाँचवटा छनोट गरिएको र बाँकी सडकसमेत बजेट जुटाएर कालोपत्रे गर्दै जाने नगर प्रमुख गुमानसिंह अर्यालले बताए । त्यसैगरी, आवेदन परेकामध्ये चारवटा सडकलाई बैठकले दोस्रो प्राथमिकतामा राखेको छ । पहिलो प्राथमिकतामा राखिएका योजनाहरू एक महिनाभित्र सम्झौता गर्न नआएमा दोस्रो प्राथमिकतामा राखिएका योजनाहरू कार्यान्वयन गरिने भएको छ । 

दोस्रो प्राथमिकतामा राखिएका योजनाहरूमा वडा नम्बर ७ का दुईवटा, वडा नम्बर ११ को एउटा रहेको छ । यी सडकलाई पनि थप बजेट जुटाएर लागत साझेदारीमा कालोपत्रे गरिने भएको छ । नगरपालिकाले नगर परिषद्बाट लागत साझेदारीमा सडक कालोपत्रे गर्न ५० लाख रुपैयाँ बजेट छुट्याएको थियो । उक्त बजेटबाट लागत साझेदारीमा कालोपत्रे तथा ढलान गर्न लागेको हो । नपुग रकम संघ तथा प्रदेश सरकारको लागत साझेदारी शीर्षकबाट व्यहोर्ने पनि बैठकले निर्णय गरेको छ । 

लागत साझेदारीमा यसअघि बेसीसहर बजारभित्रका अधिकांश आन्तरिक सडक कालोपत्रे भइसकेका छन् भने बेसीसहर नगरपालिकाकै समन्वयमा सहरी विकासले सात करोडको लागतमा बेसीसहरको रिङरोडसमेत कालोपत्रे भइरहेको बेसीसहर नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले जानकारी दिए । बैठकले डुम्रे–बेसीसहर सडक निर्माणको काम द्रुत गतिमा अघि बढाउने भन्दै आवश्यक सहयोग तथा समन्वय नगरपालिकाले गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज पौडेलले बताए ।