Skip This
सुनका गहना नलगाउन आग्रह
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर २७ शनिबार
  • Saturday, 27 July, 2024
२o७७ मङ्सिर २७ शनिबार o९:१५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनका गहना नलगाउन आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ मङ्सिर २७ शनिबार o९:१५:oo

सुनको गहना लगाएकै कारण स्कुले बालिकाको हत्या भएपछि रसुवा प्रहरीले बालबालिकालाई सुनका गरगहना नलगाउन अभिभावकलाई आग्रह गरेको छ । कालिका गाउँपालिका–१ राम्चे खार्सा क्षेत्रको फैक्रिगाङनिवासी ६ वर्षकी बालिका सुमिना तामाङ विद्यालयबाट घरतर्फ फर्कने क्रममा कानमा लगाएको रु. १० हजारबराबरको सुनको मुन्द्राकै कारण यही मंसिर २१ गते ज्यान गुमाउन परेपछि यस्ता घटना रोक्न रसुवा प्रहरीले गहना पहिरन गर्ने वा गराउने कार्य न्यूनीकरण गर्ने अभियान सुरु गरेको हो ।
 
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक  इन्द्रप्रसाद सुवेदीका अनुसार यस्ता आपराधिक घटना रोक्न बालबालिकालाई सुनका कुनै पनि गहना पहिरन नलगाउने, अपरिचित व्यक्तिले दिएका चाउचाउ, बिस्कुट, चकलेटजस्ता चिज नखान उनीहरूलाई सचेत  गराउने र पठन–पाठनका लागि अभिभावक आफैँले विद्यालय लाने ल्याउने  वातावरण मिलाउनेजस्ता विषयमा सचेतना अभियान सुरू गरिएको हो ।

कोभिड–१९ को समस्या समाधान भएपछि सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालयस्तरीय सचेतना कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी भएको प्रनाउ सुवेदीले जानकारी दिए । ठूला मान्छेले पनि सकभर गरगहना नलगाउने र लगाउनै पर्ने भए कुनै उत्सव पर्वजस्ता अवस्था आए हात तथा गला र कानमा लगाइएका सुन सुरक्षित तवरले आफन्तका साथमा मात्र हिँडडुल गर्न प्रहरीले आग्रह गरेको छ । 

ग्राङ प्राथमिक विद्यालयको कक्षा १ मा अध्ययन गरिरहेकी ती बालिका विद्यालय छुटेर घरतर्फ जाँदै गर्दा अपरिचित व्यक्तिबाट अपहरणमा परेकी थिइन् । उनको कानमा सुनको मुन्द्रा देखेपछि चाउचाउ दिएर फकाई नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–५ घर भएकी १९ वर्षे सपना तामाङले अपहरण गरी गाउँभन्दा अलि पर नागर्दुङ ओढारमा लगी बालिका मारेर स्याउलाले छोपी कानमा लगाएको सुन लिई भागेको प्रारम्भिक बयानबाट खुल्न आएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सरोज गिरीले जानकारी दिए ।
     
गाउँमा बालिका हराएको हल्ला चलिरहेको र खोजतलास व्यापक भइरहेको अवस्थामै घटना घटाउने आशंकामा नुवाकोटतर्फ फर्कँदै गरेकी अपरिचित सपना तामाङलाई स्थानीय बासिन्दाको सहयोगमा कालिकास्थान प्रहरीले धैबुङ घुम्तीबजारबाट २२ गते नै नियन्त्रणमा लिएको थियो ।

प्रहरी नियन्त्रणमा रहेकी  आरोपित ती महिलाप्रति थप अनुसन्धान भइरहेको छ । एक होटेलबाट नियन्त्रणमा लिएको भोलिपल्ट बालिकाको शव प्रहरी र स्थानीय बासिन्दाको टोलीले ढुंगाको ओढारमा फेला पारेको प्रहरीले जनाएको छ । गाउँनजिकैको घटना भए पनि भौगोलिक अवस्थाले खोजतलासका क्रममा नेपाल प्रहरी र स्थानीय बासिन्दाले  २३ गते दिउँसो बालिकाको शव फेला पारेको बताइन्छ । 

बालिका हत्याको घटनाले आफूलाई अत्यन्तै दुखित तुल्याएको बताउँदै रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले यस्ता घटना दोहोरिन नदिन थप सतर्कताका लागि सुरक्षा निकायलाई निर्देशन दिसकिएको बताए ।  यस्तै, चालू आर्थिक वर्षको साउनदेखि हालसम्म १६ वटा घटना घटेको छ ।

प्रहरीले दिएको जानकारीअनुसार कर्तव्य ज्यान एक, आत्महत्या तीन, बेवारिसे लास एक, सार्वजनिक अपराध तीन र विभिन्न भवितव्य आठसमेतका घटना घटेको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ । गत आर्थिक वर्षमा भने ५३ वटा घटना घटेको थियो । ती घटनामध्ये गत वर्ष कर्तव्य ज्यान एक, भवितव्य १४ सवारी दुर्घटनाबाट एकसमेत १६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । रासस