१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १६:१५:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एक शिक्षक, चार नागरिकता : यसरी खुल्यो किर्तेकाे पोल 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १६:१५:oo

सिरहा जिल्लाकाे सदमुकामस्थित चन्द्र नमूना मावि (प्राविधिक) का शिक्षकले फरक-फरक जन्ममितिमा एउटै नम्बरका चार वटा नागरिकता बनाएर उमेर हदभन्दा बढी शिक्षण गरिरहेको खुलेपछि उनलाई अनिवार्य अवकाश दिइएको छ। 

शिक्षा विकास तथा समन्वय इकाइ सिरहाले मंगलबारको निर्णय अनुसार निमाशि (द्वितीय) दरबन्दीका शिक्षक सकलदेव यादवलाई १७ असोज २०७६ देखि लागू हुनेगरी अनिवार्य अवकाश दिइएको जनाएको छ । 

जिल्ला प्रशासन कार्यालयबाट यादवको नागरिकताको प्रमाणित प्रतिलिपी झिकाएर छानबिन गर्दा सेवाको उमेर हद भन्दा १४ महिना ६ दिन बढी भेटिएपछि अनिवार्य अवकाश दिइएको निमित्त इकाइ प्रमुख शशिकुमार यादवले जानकारी दिए । 

यसरी खुल्यो किर्तेको पोल

जिल्ला प्रशासन कार्यालय सिरहाबाट विभिन्न मितिमा फरक फरक जन्ममिति र तर एउटै ५७९५ नम्बरका चारवटा नागरिकता झिकेर सेवाको उमेर हदभन्दा बढी शिक्षण गरी राज्य कोषको दोहन गरिरहेको उजुरी परे लगत्तै छानिबन गर्दा पुष्टि भएको इकाइ प्रमुख यादवले बताए । 

उजुरी परेपछि इकाइबाट सक्कल नागरिकतासहित कार्यालयमा पेश गर्न भनिएपनि यादव गएका थिएनन् । 

उनका अनुसार यादवले जिल्ला प्रशासनबाट झिकेको चार नागरिकतामध्ये दुईवटा इकाइले फेला पारेको छ । ‘त्यसमध्ये एउटा नागरिकताको जन्म मिति अनुसार अझै तीन वर्ष उमेर हद बाँकी देखिन्छ’ उनले भने । 

सिरहा नगरपालिका १७ माडरका स्थायी बासिन्दा रहेका यादव विरुद्ध स्थानीय तीन जनाले फरक फरक जन्म मितिको नागरिकता झिकेर शिक्षण सेवा अवधि लम्ब्याई राज्य कोषको दोहन गरिरहेको आरोपसहित ११ मंसिरमा उजुरी दिएपछि इकाइले १८ मंसिरमा यादवलाई सक्कल नागरिकता पेश गर्न पत्राचार गरेको थियो । 

आफ्नै जन्म मिति सच्याएर तलव सुविधा खाइरहेका यादवले इकाइमा सक्कल नागरिकता नबुझाएपछि जिल्ला प्रशासन कार्यालयमार्फत् झिकाइएको नागरिकताको प्रमाणित प्रतिलिपीमा जन्म मिति १७ असोज २०१६ रहेको भेटिएको थियो ।

 त्यही प्रतिलिपीको आधारमा शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम १३१ को उपनियम १ बमोजिम ६० वर्ष पूरा भएपछि अनिवार्य अवकश दिने व्यवस्था अनुसार १७ असोज २०७६ देखि लागू हुनेगरी २३ मंसिरमा अनिवार्य अवकाश दिइएको कार्यालयले जनाएको छ । 

त्यसको बोधार्थ राष्ट्रिय किताबखाना (शिक्षक), कर्मचारी संचय कोष, नागरिक लगानी कोष, जिल्ला प्रशासन कार्यालय सिरहा, जिल्ला प्रहरी कार्यालय सिरहा, सिरहा नगरपालिका र सम्बन्धित विद्यालयलाई दिइएको छ ।  

फाइल खोज्दैछौँ : प्र.अ.

चन्द्र नमूना मावि (प्राविधिक) विद्यालयका प्रधानाध्यापक मधुसुदन कर्णले शिक्षक विकास तथा समन्वय इकाइ तथा जिल्ला प्रशासन कार्यालयबाट पत्र पाएपछि शिक्षक यादवको फाइल खोजिरहेको तर फेला नपरेको बताए ।

 ‘विद्यालय भवनमा अस्थायी कोरोना अस्पताल संचालन गरेका बेला विद्यालयका कागजपत्रका पोकाहरु सार्ने क्रममा तलमाथि परेको छ’ प्र.अ. कर्णले भने ‘फाइल फेला परेपछि प्रशासन र इकाइलाई यादवले विद्यालयमा पेश गरेको नागरिकता रेकर्डसहितको जवाफ लेख्ने छौं ।’ 

शिक्षकहरुको पेशागत संस्था नेपाल शिक्षक युनियनको पटक पटक जिल्ला नेतृत्व गरेका यादवले शिक्षकको जिल्लान्तर सरुवा बढुवामा पनि पदीय मर्यादाको दुरुपयोग गरी आर्थिक चलखेल गर्ने गरेको भुक्तभोगी शिक्षकहरु नै बताउँछन् ।

 ‘पढाउन छोडेर शिक्षकहरुको पेशागत संगठनको नेतृत्वमा रहेका यादवले आफ्नो मात्र हित हेरे’ नाम उल्लेख नगर्ने शर्तमा एक शिक्षकले भने ‘उनले आफ्नो कार्यकालमा गरेको आर्थिक चलखेल गरी अवैध रुपले कमाएको सम्पत्तिको पनि छानबिन हुनुपर्छ ।’  

मासिक करिब ५० हजार तलव सुविधा

नि.मा.शि.द्वितीय श्रेणीका शिक्षक यादवले मा.शि. तृतीय श्रेणीका शिक्षकले पाउने तलव, सेवा सुविधा लिइरहेको प्र.अ. कर्णले उल्लेख गरे । 

उनका अनुसार यादवले तलव ३५ हजार नौ सय ९०, छ ग्रेडको सात हजार दुई सय, कर्मचारी संचय कोषको चार हजार तीन सय १९, बीमाको चार सय र भत्तावापत् दुई हजार रुपैयाँ गरी मासिक रुपमा ४९ हजार नौ सय नौ रुपैयाँ बुझिरहेका थिए ।

 ‘विद्यालयको अभिलेख अनुसार शिक्षक यादवले गत असोजसम्मको दशैं पेश्कीसहित तलब सबै सुविधा लिइसकेको देखिन्छ’ उनले भने । 

उमेर बढाएर राज्य कोषबाट तलव, ग्रेडसहित अन्य सेवा सुविधावापत् लिएको रकम असुलीका लागि जिल्ला सरकारी वकिल कार्यालयसँग परामर्श गरी आवश्यक कदम चालिने इकाइले जनाएको छ । 

इकाइका अनुसार सरकारी वकिल कार्यालयले दिने सुझाव अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्य सम्बन्धित निकायमा उमेर हदभन्दा बाहेक उनले बुझेको तलव र अन्य सेवा सुविधाकोे रकम असुली गर्न उजुरीको तयारी गरिएको छ । 
 

ad
ad