मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १७ शनिबार
  • Saturday, 30 March, 2024
केदार दाहाल काठमाडौं
२०७७ मङ्सिर २० शनिबार ०२:०५:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रिय ध्वजाबाहकमाथि ज्यादती : निगम बोर्डमा अर्का सदस्य पनि यती समूहकै

Read Time : > 3 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ मङ्सिर २० शनिबार ०२:०५:००

नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा नियुक्ति पाउने ईश्वरी पौडेल उनै व्यक्ति हुन् जसलाई पाथीभराको ३१७ रोपनी सरकारी जग्गा ८० वर्षका लागि यतीलाई सित्तैमा जिम्मा लगाउने योजनाअनुसार पाथीभरा विकास समितिमा लगिएको थियो

......

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा यती एयरलाइन्सका प्रतिनिधिको प्रभाव झन्झनै बढेको छ । आन्तरिक रूपमा यती तथा तारा एयर तथा अन्तर्राष्ट्रिय रूपमा हिमालय एयरलाइन्समार्फत निगमलाई थला पार्ने कोसिस भइरहेको छ, त्यसैले निगमको बोर्डमा धमाधम यतीका प्रतिनिधि नियुक्त भइरहेका छन् । 

गत असारमा यती समूहको स्वार्थअनुसार अल्टिच्युड एयरका अध्यक्ष फुरगेल्जे शेर्पालाई नियुक्त गरिएको थियो । अहिले यतीकै प्रतिनिधि ईश्वरी पौडेललाई नियुक्त गरिएको छ । पौडेल उनै व्यक्ति हुन् जसले पाथीभराको ३१७ रोपनी सरकारी जग्गा ८० वर्षका लागि यतीलाई जिम्मा लगाउने निर्णय गरेका थिए । 

यती समूहकै लगानी रहेको अल्टिच्युड एयरका अध्यक्ष शेर्पालाई गत असार १५ मा निगमको सञ्चालक समितिमा नियुक्त गरिएको थियो । विरोधपछि उनी अल्टिच्युड एयरबाट अलग भएका थिए । तर, चार महिनापछि पौडेललाई नियुक्त गरिएको छ । कैलाश हेलिकोप्टर कम्पनीमा समेत रहेका उनी यती समूहकै लगानीमा पाथीभरामा निर्माण गर्न लागिएको केबलकारमा सेयर सदस्य छन् ।

पौडेल यती समूहकै लबिङमा नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिमा समेत रहेका थिए । उनलाई तत्कालीन पर्यटनमन्त्री कृपासुर शेर्पाले सञ्चालक समितिमा नियुक्त गरेका थिए । वर्तमान सरकार बनेपछि उनलाई पाथीभरा विकास समितिको सदस्यमा नियुक्त गरिएको थियो । ‘खासमा पाथीभरामा केबलकार सञ्चालन गर्न यती समूहले सरकारी जग्गा लिन खोजेको थियो, त्यो निर्णय गराउन उनलाई सञ्चालक समितिमा नियुक्त गरिएको हो,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारी भन्छन्, ‘पाभीभराको जग्गा यतीलाई दिने निर्णय भएको छ, त्यसबापत पौडेलले पनि सेयर पाएका छन् । अब यती र हिमालय एयरको पक्षमा भूमिका खेल्न उनलाई नेपाल एयरको सञ्चालक समितिमा नियुक्त गरिएको हो ।’

यतीका प्रतिनिधि धमाधम निगममा सञ्चालकहरू नियुक्त भएपछि चिन्तित त्यहाँका कर्मचारी भन्छन्, ‘एनसेलका प्रतिनिधिहरू नेपाल टेलिकमका नियुक्त हुने, नयाँ पत्रिका वा कान्तिपुरका प्रतिनिधि गोरखापत्रको सञ्चालक समितिमा नियुक्त भएजस्तै हो । सार्वजनिक सम्पत्ति ध्वस्त बनाउन जे आवश्यक छ, अहिले त्यही काम भइरहेको छ ।’

यती एयरको लगानी रहेको हिमालयले तीनवटा जहाजमार्फत १० वटा गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । यही वेला निगमले भने आन्तरिक उडानमा रहेका ६ थान चिनियाँ जहाज पनि गत साउन १५ देखि ग्राउन्डेड गरिरहेको छ । निगमले अनुदान र सरल ऋणमा ल्याएको एमए ६० दुई थान र दुर्गममा उडान गर्न ल्याइएका चार थान वाई १२ ई जहाज पनि ग्राउन्डेड छन् । 

सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गा नामसारी नै गरेर आफ्नो नाममा पारेको यती समूहले कागज संशोधन गरेर दरबारमार्ग र विनाप्रतिस्पर्धा गोकर्णको जग्गा लिजमा लिएको थियो । यही समूहले पाथीभराको तीन सय ७० रोपनी जग्गा पनि विनाप्रतिस्पर्धा हात पारेको छ । यती समूहले सो जग्गामा ८० वर्षसम्म केबुलकारको व्यापारका लागि प्रयोग गर्दा राज्यलाई कति रकम दिने भन्ने पनि निश्चित गरिएको छैन । 

राष्ट्रिय सम्पत्तिमाथि विनाप्रतिस्पर्धा भएको यो ब्रह्मलुटको योजना कार्यान्वयन गर्न ईश्वरी पौडेललाई पाथीभरा विकास समितिमा नियुक्त गरिएको थियो । उनी यो काममा सफल भएका छन्, त्यसैले निगमलाई कमजोर बनाउने र यती तथा हिमालयलाई फाइदा पु¥याउने योजनाअनुसार निगमको बोर्डमा लगिएको छ । पाथीभरा विकास समिति र ताप्लेजुङको फुङलिङ नगरपालिकाको निर्णयअनुसार यती समूहको पाथीभरा देवी दर्शन केबुलकार प्रालिलाई ८० वर्षसम्मको निर्माण र सञ्चालनका लागि अनुमति दिइएको हो । 

यती समूहको लगानी रहेको पाथीभरा देवी दर्शन केबुलकार प्रालिले वर्तमान सरकार गठन भएलगत्तै ९ जेठ ०७५ मा अनुमतिपत्रको दरखास्त माग गरेको थियो । लगत्तै १३ जेठमा फुङलिङ नगरपालिका– ११ काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म निजी कम्पनीलाई केबुलकार निर्माण र सञ्चालनका लागि अनुमतिपत्र जारी गरिएको थियो । पाथीभरा विकास समितिले पनि सरोकारवालाका रूपमा यसका लागि सहमति दिएको थियो ।

स्थानीय सरकारले बनाएका नियम, निर्देशिका, कार्यविधि र मापदण्ड स्थानीय राजपत्रमा प्रकाशन गर्नुपर्ने व्यवस्था छ । त्यसरी प्रकाशन नभएसम्म त्यस्तो कानुन लागू नहुने व्यवस्था छ । तर, पाथीभराको जग्गा यतीलाई जिम्मा लगाउने हतारोमा नगरपालिकाले राजपत्रमा समेत प्रकाशित नगरी अनुमति दिएको थियो । 

पाथीभरा क्षेत्र विकास समिति सदस्य पुष्प बडुवाल, यती समूहका अध्यक्ष लाक्पासोनाम शेर्पा, ध्रुवनारायण श्रेष्ठ र निगम सञ्चालक समितिमा भर्खरै नियुक्ति पाएका पौडेल औपचारिक रूपमा सेयरहोल्डर छन् । झन्डैै एक अर्ब ५० करोड रुपैयाँ लगानीमा निर्माण गर्ने भनिएको यो परियोजनालाई जग्गा दिएबापत सरकारलाई के आम्दानी हुने भन्ने कतै उल्लेख छैन ।

तत्कालीन पर्यटनमन्त्री कृपासुर शेर्पाले निगम सञ्चालक समितिमा रहेका अशोक पोखरेल, अमर माली र टंकनाथ आचार्यलाई हटाएर यती समूहकै लगानीमा सञ्चालनमा रहेको अल्टिच्युड एयरका प्रबन्ध निर्देशक निमानुरु शेर्पा र पर्यटन व्यवसायी मुक्ति पाण्डेलाई नियुक्ति गरेका थिए । तर, पोखरेल, माली र आचार्य सर्वोच्च अदालत गएपछि मन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश भएको थियो । पछि तीनैजनाको समय सकिएपछि यती समूहकै लबिङमा निमानुरु शेर्पा र पाण्डे सञ्चालक समितिमा नियुक्त भएका थिए ।

......

परीक्षण नै नगरेको जहाजमा प्रधानमन्त्रीलाई चीन उडाउने यतीका लागि देशको कानुन मजाक मात्रै

यती समूह र चिनियाँको संयुक्त लगानीमा स्थापना भएको हिमालय एयरलाइन्सको पहिलो जहाजले समेत उडान अनुमति नपाउँदै तत्कालीन प्रधानमन्त्री केपी ओली ७ चैत ०७२ मा चीन भ्रमणमा जाँदा हिमालय एयरलाइन्सको जहाज चार्टर्ड गरेका थिए । परीक्षण उडान नै नगरी प्राधिकरणले रातारात उडानयोग्य प्रमाणपत्र जारी गरेर हवाई सुरक्षामा गम्भीर खेलबाड गर्दै प्रधानमन्त्री सोही जहाजमा चीन भ्रमणमा गएका थिए । त्यो वेला प्राधिकरणको सञ्चालक समितिमा यती समूहकै सहयोगी ईश्वरी पौडेल थिए । 

त्यति मात्रै होइन, १८ जेठ ०७३ मा हिमालय एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडानको अनुमति नेपाल नागरिक उड्डयन प्राधिकरणले दियो । त्यसवेलासम्म सो एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको प्रक्रिया नै पुगेको थिएन । त्यसरी गैरकानुनी रूपमा हिमालयलाई उडान अनुमति दिलाउने निर्णय गराउन पौडेलले नागरिक उड्डयन प्राधिकरणको बोर्ड सदस्यका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

यती समूहले प्राधिकरणका महानिर्देशकदेखि सामान्य कर्मचारीसम्मलाई सरुवा–बढुवामा समेत प्रभाव पार्ने गरेको छ । त्यसो त हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ नै नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिमा थिए । तर, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले दबाब दिएपछि निजी एयरलाइन्सका प्रतिनिधिलाई बोर्डमा नराख्ने गरी ऐन संशोधन गराएर कार्यान्वयनमा ल्याइएको छ । सोही व्यवस्थाअनुसार श्रेष्ठले राजीनामा दिएका छन् । 

धरानमा विमानस्थल बनाउने भनेर यतीले किनेको जग्गाको मुआब्जा प्राधिकरणबाट वितरण गराउन सो समूहले दबाब दिएको थियो । धरानमा निजी क्षेत्रबाट विमानस्थल बनाउने भन्दै १६ वर्षअगाडिदेखि स्थानीय २५ परिवारको जग्गा यती समूहले पकडमा लिएर राखेको छ ।

तर, विमानस्थल नबन्ने देखिएपछि महानिर्देशक सञ्जीव गौतमले मुआब्जा वितरण गर्ने प्रक्रिया अगाडि बढाएनन् । जसका कारण तत्कालीन पर्यटनमन्त्री जितेन्द्रनारायण देवलाई दबाब दिएर गौतमलाई हटाउने यतीले ठूलो प्रयास गरेको थियो । तर, निर्वाचन आचारसंहिता लाग्ने भन्दै आयोगले दख्खल दिएपछि गौतमको स्थान जोगिएको थियो । मन्त्री देवले गौतमलाई स्पष्टीकरण सोधेर मन्त्रालयमा नै हाजिर हुन पत्र काटेका थिए । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा पनि यतीलाई भवन बनाउन प्रयोगमा दिइएको छ । यो निर्णय गर्दा पनि पौडेल प्राधिकरणमा थिए । विमानस्थलको १० रोपनी जग्गामा भवन बनाएर हिमालय एयरले प्रयोग गर्दै आएको छ ।