१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o८:१८:oo
Read Time : > 6 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

दुई महिनाअघि नै देशको १३ प्रतिशत जनसंख्या संक्रमित भएको प्रतिवेदन परिमार्जन गर्ने भन्दै गोप्य राखियो

Read Time : > 6 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:१८:oo

चिकित्सक भन्छन्– घरमै इन्जेक्सन लगाउने र अक्सिजन दिने गलत प्रवृत्तिले संक्रमितको मृत्युदर बढायो

स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठन सम्मिलित एक विज्ञ टोलीले गरेको सर्वेक्षणले दुई महिनाअघि नै देशको १३ प्रतिशत जनसंख्या संक्रमित भएको देखाएको छ । सेप्टेम्बर अन्तिम साता गरिएको सर्वेक्षणको प्रतिवेदन विज्ञ टोलीले स्वास्थ्य मन्त्रालयमा बुझाइसकेको छ । तर, उक्त प्रतिवेदन गोप्य राखिएको छ ।

कुल जनसंख्याको कति प्रतिशतमा संक्रमण भयो भन्ने जानकारी प्राप्त गर्न सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा रगतमार्फत एन्टिबडी अध्ययन गरिएको थियो । त्यसयता संक्रमण थप फैलिएकाले यो संख्या अझै बढेको अनुमान मन्त्रालयका अधिकारीहरूको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका एक अधिकारीका अनुसार हिमाल, पहाड, तराई तीनैक्षेत्रको प्रतिनिधित्व हुने गरी सर्वेक्षण गरिएको थियो । मनाङ र मुस्ताङबाहेक ७५ जिल्लाबाट ६ हजार पाँच सयजनाको नमुना संकलन गरिएको थियो । सर्वेक्षणमा सहभागीहरू ६ महिनादेखि माथिको उमेर समूहका थिए । सहभागीबाट लिइएको रगतको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । प्रयोगशालाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा आफ्नो रिपोर्ट बुझाइसकेको छ । केही दिनभित्रै मन्त्रालयले रिपोर्ट सार्वजनिक गर्ने महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे बताउँछन् । मन्त्रालयले सार्वजनिक नगरुन्जेल रिपोर्ट उपलब्ध गराउन नमिल्ने उनको भनाइ छ ।

केन्द्रीय तथ्यांक विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंका अनुसार सेप्टेम्बर अन्तिमसम्म देशको कुल जनसंख्या करिब तीन करोड एक लाख एक सय ३० रहेको प्रक्षेपण थियो । उक्त आँकडालाई आधार मान्दा कुल जनसंख्याको १३ प्रतिशत अर्थात् करिब ३९ लाखजनामा कोरोना संक्रमण भइसकेको अध्ययन प्रतिवेदनको निष्कर्ष छ । थप अध्ययनपछि मात्र प्रतिवेदन सार्वजनिक गर्ने पक्षमा मन्त्रालय देखिन्छ । त्यसअघि प्रतिवेदनमा उल्लेखित आँकडा सार्वजनिक नगर्न मन्त्रालयले निर्देशन दिएको सर्वेक्षणमा सहभागी विज्ञहरू बताउँछन् ।

प्रदेश–२ सबैभन्दा बढी प्रभावित
महाशाखाका निर्देशक डा. पाण्डेका अनुसार कोभिड–१९ बाट प्रदेश–२ सबैभन्दा बढी प्रभावित भएको सर्वेक्षणले देखाएको छ । उक्त प्रदेशमा कुल जनसंख्याको २३ प्रतिशत संक्रमित भइसकेको सर्वेक्षणमा देखिएको मन्त्रालयको एक उच्च स्रोतले जनाएको छ ।

सर्वेक्षणअनुसार कोरोना संक्रमण बढी देखिएका प्रदेशमध्ये दोस्रोमा बागमती, तेस्रोमा प्रदेश–१, चौथोमा लुम्बिनी र पाँचौँमा कर्णाली छन् । ती प्रदेशको कति प्रतिशत जनसंख्या संक्रमित भयो भन्ने गोप्य राखिएको छ । मन्त्रालय स्रोत भन्छ, ‘६ हजार पाँच सयजनाको नमुनाबाट राष्ट्रकै प्रतिनिधित्व गर्ने हिसाबले सर्वेक्षण गरिएको थियो ।’

संक्रमण रोकथाम र नियन्त्रणमा सरकारको असक्षमताका कारण ठूलो संख्यामा कोरोना संक्रमित हुन पुगेको अधिकारीहरूको भनाइ छ । मन्त्रालयका एक अधिकारी भन्छन्, ‘बिहीबारसम्म सरकारले १७ लाख ६३ हजार नौ सय १९ वटा नमुना परीक्षण गरेको छ । यसबाट दुई लाख ३७ हजार पाँच सय ८९ जना संक्रमित भएको देखिएको छ । तर, सर्वेक्षण रिपोर्टले संक्रमित भएका व्यक्तिहरूको समेत सरकारले परीक्षण नगरेको पुष्टि गर्छ ।’ उनका अनुसार संक्रमितमध्ये सरकारले एकतिहाइको पनि परीक्षण नगरेको देखिन्छ ।

सर्वेक्षण प्रतिवेदनलाई अन्तिम रूप दिन स्वास्थ्य मन्त्रालयमा प्राविधिक समूहसँग छलफल भइरहेको महाशाखाका निर्देशक डा. पाण्डे बताउँछन् । उनका अनुसार प्राविधिक समूहले प्रतिवेदनमा केही सुधार गर्न निर्देशन दिएकाले थप छलफल भइरहेको छ । कुल जनसंख्याको १३ प्रतिशत संक्रमित देखिनु कोभिड–१९ व्यापक फैलिएको संकेत गर्ने मन्त्रालयका अधिकारीहरू बताउँछन् । विश्व स्वास्थ्य संगठनका एक अधिकारी भने यति ठूलो संख्यामा संक्रमण हुँदा पनि आइसियू र भेन्टिलेटर उपलब्ध भइरहेको र मृत्युदर कम देखिनु सर्वेक्षणले संकेत गरेको राम्रो पक्ष भएको बताउँछन् । संक्रमण धेरै देखिँदा पनि युरोपेली मुलुकहरूको अनुपातमा नेपालमा कोभिड–१९ बाट हुने मृत्यु न्यून देखिएको उनको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम उक्त सर्वेक्षण प्रतिवेदन केही दिनभित्रमा सार्वजनिक गर्ने तयारी भइरहेको बताउँछन् । भन्छन्, ‘अहिले अन्तिम तयारीमा छौँ, चाँडै सार्वजनिक गरेर जानकारी दिनेछौँ ।’

संक्रमित संख्या घट्यो, मृत्युदर बढ्यो
कात्तिक अन्तिम सातादेखि कोरोना संक्रमित संख्या घट्दो क्रममा देखिन्छ । ‘पछिल्लो समय कोरोना संक्रमित संख्या क्रमिक रूपमा घट्दै गएको छ । तर, घट्यो भनेर लापरबाही गर्ने वेला होइन यो,’ मन्त्रालय प्रवक्ता डा. गौतम भन्छन्, ‘विगतमा कोभिड–१९ पजिटिभ दर २५ प्रतिशत थियो, अहिले १५ प्रतिशतमा झरेको छ ।’ संख्या केलाउँदा परीक्षण कम भएकाले कम पजिटिभ केस देखिएको भन्न सकिने उनको भनाइ छ । ‘तर, यसलाई प्रतिशतमा हेर्दा घट्दो क्रममा देखिन्छ,’ उनी भन्छन् ।

संक्रमण घट्दै गएको सरकारी दाबीका बाबजुद मृत्युदर भने कम भएको देखिँदैन । खासगरी, काठमाडौं उपत्यकामा मृत्युदर बढी देखिन्छ । जस्तो– देशभर बिहीबारसम्म एक हजार पाँच सय ५१ जनाको मृत्यु भएकामा काठमाडौं उपत्यकाका मात्र ६ सय चारजना छन् । मन्त्रालयका प्रवक्ता डा. गौतम भने उपत्यकामा संक्रमण बढी देखिएका कारण मृत्यु संख्या पनि बढी भएको तर्क गर्छन् । ‘काठमाडौं उपत्यकामा ज्येष्ठ नागरिक र दीर्घरोगीहरू धेरै भएकाले स्वाभाविक रूपमा यहाँ मृत्यु बढी हुन पुगेको हो,’ उनी भन्छन् ।

दक्षिण एसियाली मुलुकमध्ये नेपालमा कोरोनाका कारण मृत्युदर कम रहेको डा. गौतम बताउँछन् । बुधबारको तथ्यांकअनुसार कोरोनाका कारण अफगानिस्तानमा तीन दशमलव आठ, पाकिस्तानमा दुई, भारत एक दशमलव पाँच, बंगलादेशमा एक दशमलव चार, श्रीलंकामा शून्य दशमलव पाँच, माल्दिभ्समा शून्य दशमलव चार र भुटानमा शून्य प्रतिशत मृत्युदर छ । नेपालमा यो दर शून्य दशमलव ६ प्रतिशत छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डे भने प्रयोगशालाहरूमा न्यून परिमाणमा नमुना आइरहेकाले पनि संक्रमण घट्दो क्रममा देखिएको दाबी गर्छन् । ‘संक्रमित संख्या क्रमशः घट्दै गएको छ,’ डा. पाण्डे भन्छन्, ‘केस घटेकै कारण परीक्षण र संक्रमितको संख्यामा कमी आएको हो । मृत्यु संख्या केही बढेको देखिएको छ । तर, विगतमा रिपोर्ट नभएका केसहरू पनि समावेश भएकाले दैनिक संख्या बढी देखिएको हुन सक्छ ।’ दुई–तीन साताअघि भएको मृत्युसमेत रिपोर्टमा समावेश भएकाले संख्या बढी देखिएको उनको दाबी छ । आगामी दुईदेखि तीन सातामा मृत्यु संख्या बढेको वा घटेको यकिन हुने उनको बुझाइ छ ।

मन्त्रालयको तथ्यांकसँग चिकित्सकहरू असहमत
मन्त्रालयले संक्रमण घटेको बताइरहँदा चिकित्सकहरू त्यसमा सहमत छैनन् । प्रयोगशालाहरूले ‘फलोअप पजिटिभ केस’ रिपोर्टमा समावेश नगर्दा दैनिक पुष्टि संख्या कम देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी बताउँछन् । यसअघि प्रयोगशालाहरूले फलोअपमा आएका संक्रमितहरूको संख्या पनि रिपोर्टमा अद्यावधिक गर्थे ।

प्रयोगशाला परीक्षणमा दैनिक ३० देखि ४० प्रतिशत पजिटिभ केस फलोअपमा आउनेहरूको हुने गर्छ । सामान्य अवस्थामा भन्दा स्वास्थ्य गम्भीर भएका बिरामी मात्र अस्पताल आउने डा. राजभण्डारी बताउँछन् । सोहीकारण मृत्युदर बढी भएको उनको भनाइ छ ।

सरकारले २ कात्तिकमा कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय गरेको थियो । ‘सोहीकारण धेरैजसो संक्रमित तत्काल अस्पताल आउन छाडेको देखिन्छ,’ डा. राजभण्डारी भन्छन् । कोरोना परीक्षण गर्दा पजिटिभ देखियो भने अस्पताल बस्नुपर्ने र ठूलो रकम खर्च हुने डरले मानिसहरू परीक्षण नगरी घरमै बसेका छन् । गम्भीर भएपछि मात्र पिसिआर परीक्षण गराउने भएकाले रिपोर्ट नआउँदै बिरामीको मृत्यु हुने अवस्था रहेको चिकित्सकहरूको भनाइ छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका कोभिड चिकित्सक डा. सन्तकुमार दास पनि बिरामी अन्तिम अवस्थामा मात्रै अस्पताल आउने गरेको बताउँछन् । भन्छन्, ‘बुधबार मैले चारजना बिरामी हेरेँ, गम्भीर अवस्थामा मात्र उनीहरू अस्पताल आएका थिए । चारैजना चिकित्सक र व्यवसायीका परिवार हुन् । उनीहरू घरमै ठीक हुन्छ भनेर बसेका रहेछन् ।’ डा. दासका अनुसार उनीहरूमध्ये तीनजनालाई आइसियू र एकजनालाई भेन्टिलेटरमा राखिएको छ ।

डा. दासका अनुसार बिरामीहरू नर्सिङ केयरको सुविधा लिएर आठ दिनसम्म घरमा इन्जेक्सन लगाई बस्ने गरेको पाइएको छ । ढिलो अस्पताल आउने भएकाले संक्रमित बचाउन सक्ने अवस्था कम हुँदै गएको चिकित्सकहरू बताउँछन् । एक सय डिग्री फरेनहाइटभन्दा बढी ज्वरो निरन्तर आएमा, अक्सिजन लेभल ९२ भन्दा कम र सास फेर्न कठिन भएमा घरमा नबस्न डा. दास आग्रह गर्छन् ।

‘घरमा इन्जेक्सन लगाउने, अक्सिजन दिने सूचना संक्रमितले कहाँबाट पाए ? यो गलत सूचनाले गर्दा दैनिक संक्रमण घटे पनि मृत्युदर बढ्दै गएको छ,’डा. दास भन्छन् । अझै पनि संक्रमण दर १५ प्रतिशत रहेकाले सरकारले परीक्षणको दायरा बढाउनुपर्ने उनी बताउँछन् । भन्छन्, ‘सरकारले टोल–टोलमा गएर स्वाब संकलन गर्नु आवश्यक छ ।’

बागमती प्रदेश र संघीय राजधानीमै परीक्षण केन्द्रित
स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनका विज्ञ टोली सम्मिलित सर्वेक्षणबाट सबैभन्दा बढी कोरोना संक्रमण प्रदेश–२ मा देखिएको छ । तर, प्रदेश–२ मै सरकारले परीक्षण दर घटाउँदै लगेको छ । प्रदेश–२ मा कुल जनसंख्याको करिब २३ प्रतिशतलाई कोरोना संक्रमण भइसकेको सर्वेक्षणमा देखिएको छ ।  स्वास्थ्य मन्त्रालयको बुधबारको तथ्यांकअनुसार प्रदेश–२ मा ६ सय २४ वटा नमुना परीक्षण गर्दा ३५ जनामा संक्रमण देखिएको थियो । जब कि, बागमती प्रदेशमा सोही अवधिमा पाँच हजार ७५ वटा नमुना परीक्षण गरिएको थियो । तीमध्ये नौ सय ९६ जनामा कोभिड–१९ पजिटिभ पाइएको थियो । सर्वेक्षणबाट कोरोना संक्रमण जोखिमको तेस्रो स्थानमा रहेको प्रदेश–१ मा पनि पाँच सय ६८ नमुना मात्र परीक्षण गरिएको थियो । तीमध्ये ९५ जनामा संक्रमण पुष्टि भएको थियो । अर्थात्, सरकार बागमती प्रदेश र संघीय राजधानीमै केन्द्रित देखिन्छ । र, अन्य प्रदेशमा बढ्दो जोखिम कम गर्न सरकारी प्रयत्न कमजोर देखिन्छ ।

पछिल्लो २४ घन्टामा १३ सय ४३ नयाँ सक्रमित
पछिल्लो २४ घन्टामा थप एक हजार तीन सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै कोरोना संक्रमितको संख्या दुई लाख ३७ हजार पाँच सय ८९ पुगेको छ । बिहीबार देशभर सक्रिय संक्रमित १५ हजार सात सय ६६ जना छन् ।

बिहीबार नै दुई हजार एक सय ११ जना संक्रमणमुक्त भएका छन् । त्यससँगै निको हुनेको संख्या दुई लाख २० हजार दुई सय ७२ पुगेको छ । बिहीबार थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यससँगै मृत्यु हुने संख्या एक हजार पाँच सय ५१ पुगेको छ ।

भारतमा नोभेम्बरमा ३२ प्रतिशतले घट्यो संक्रमण
भारतमा नोभेम्बरयता कोभिड–१९ का बिरामी घटेका छन् । नोभेम्बरमा ३२ प्रतिशतले बिरामी घटेको भारतीय स्वास्थ्य मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३५ हजार पाँच सय ५१ जनामा कोभिड–१९ पजिटिभ देखिएको छ । भारतमा हालसम्म ९५ लाख ३४ हजारजनामा कोभिड–१९ पजिटिभ देखिएको छ । तीमध्ये ९४ प्रतिशत (८९ लाख ७३ हजारजना) निको भएका छन् । भारतमा हाल चार लाख २२ हजार नौ सय ४३ जना उपचाररत छन् । केरला, दिल्ली, कर्नाटक र छत्तीसगढमा कोरोना संक्रमणमा कमी आएको भारतको प्रेस इन्फर्मेसन ब्युरोले जनाएको छ । भारतमा दैनिक औसत १० लाखजनाको परीक्षण हुँदै आएको छ ।

भारत अमेरिकापछि विश्वकै दोस्रो बढी संक्रमित संख्या भएको देश हो । अमेरिकामा हालसम्म एक करोड ४३ लाखभन्दा संक्रमण पुष्टि भएको छ । तीमध्ये ८४ लाख ६२ हजारजना निको भएका छन् । अमेरिकामा दुई लाख ७९ हजार आठ सय ६७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

सार्क सदस्य मुलुक पाकिस्तानमा बिहीबारसम्म चार लाख आठ हजार आठ सय १० जनामा कोभिड–१९ देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये तीन लाख ४६ हजार नौ सय ५१ जना निको भएका छन् । पाकिस्तानमा हालसम्म ५६ लाख २७ हजार पाँच सय ३९ जनामा कोभिड–१९ परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, बंगलादेशमा हालसम्म चार लाख ७१ हजार सात सय ३९ जनामा कोभिड–१९ पजिटिभ देखिएको छ । तीमध्ये तीन लाख ८८ हजार तीन सय ७९ जना निको भएका छन् । र, ६ हजार सात सय ४८ जनाको मृत्यु भएको छ । बंगलादेशमा आगामी फेबु्रअरीमा चिकित्सकहरूलाई कोभिड–१९ विरुद्ध पहिलो खोप दिने तयारी छ ।

अर्को सार्क सदस्य मुलुक श्रीलंकामा हालसम्म २५ हजार चार सय १० जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये १९ हजार ३२ जना निको भएका छन् भने एक सय २४ जनाको मृत्यु भएको छ । भुटानमा हालसम्म चार सय १५ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये तीन सय ८६ जना निको भएका छन् । भुटानमा कोभिडबाट कसैको मृत्यु भएको छैन ।

ad
ad