१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १७ बुधबार १८:०६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस नेता रामचन्द्र पौडेलमाथि भएको धरपकडप्रति नेताहरूको आपत्ति, कसले के भने ? 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १७ बुधबार १८:०६:००

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित दर्जनौँ कांग्रेस कार्यकर्तालाई पक्राउ गरिएकोप्रति कांग्रेसका नेताहरूले आपत्ति जनाएका छन् । 

सभापति शेरबहादुर देउवाले नेता पौडेलमाथिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको बताएका छन् । गृहजिल्ला तनहुँमा पुल उद्घाटन गर्न गएका नेता पौडेलसहित नेता–कार्यकर्तामाथि भएको धरपकडको घटना आपत्तिजनक र निन्दनीय भएको भन्दै सभापति देउवाले कांग्रेसले सरकारको प्रवृत्तिविरुद्ध देशव्यापी प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले भनेका छन्, ‘सरकारको यो निन्दनीय व्यवहारको भर्त्सना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार भएर बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु।’

कांग्रेस उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता पौडेलसहित कांग्रेस नेताहरूलाई लछारपछार गरी गिरफ्तार गरेकाेप्रति घोर भर्त्सना गरेका छन् । उनले ट्विट गर्दै भनेका छन्, ‘स्थानीय तहले निर्माण गरेको र स्थानीय तहले नै आयोजना गरेको पुल उद्घाटन कार्यक्रम रोक्नु संघीयताविरोधी र तानाशाही काम हो ।’ 

प्रवक्ता विश्वप्रकाश शर्माले यो घटनाले सत्ताप्रतिको लोकतान्त्रिक भ्रमको अन्त्य भएको बताएका छन् । उनले लेखेका छन्, ‘कुनै पनि सत्ताको पतनको सुरुवात निश्चित घटनाक्रमले तय गर्छ, यहाँको सत्ताप्रतिको लोकतान्त्रिक भ्रमको अन्त्य तनहुँको आपत्तिजनक र निन्दनीय घटनाले गरेको छ ।’ 

केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेता पौडेललाई नियन्त्रणमा लिएर प्रशासनले कानुनी राज्यको धज्जी उडाएको टिप्पणी गरेका छन् । उनले घटनाको घोर भर्त्सना गर्दै शीघ्र रिहाइको माग गरेका छन् । 

नेता प्रकाशमान सिंहले पनि ट्विटरमार्फत घटनाप्रति गम्भीर आपत्ति जनाएका छन् ।

नेता गगन थापाले यो घटनाले सरकारको चरित्रलाई उदांगाे बनाएको टिप्पणी गरेका छन् । ‘नेता पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन, यो नियोजित हो । राजनीतिक प्रतिशोध हो । शक्ति उन्माद हो । प्रधानमन्त्रीज्यू, यो तपाईंका लागि निकै महँगो पर्नेछ,’ उनले लेखेका छन् । 

यस्तै, केन्द्रीय सदस्यहरू गुरुराज घिमिरे, प्रदीप पौडेल, डा. डिला संग्रौलालगायतले पनि घटनाको घोर भर्त्सना गर्दै रिहाइको माग गरेका छन् । 

तनहुँबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य प्रकाश पन्तले प्रशासनको आडमा कार्यक्रम बिथोल्ने कार्य भएको बताएका छन् । विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘यो कम्युनिस्ट सरकारको दम्भ र घमण्डको पराकाष्ठा हो, निरंकुश र फासीवादतर्फ उन्मुख प्रवृत्ति हो । लोकतन्त्र प्राप्तिको लडाइँमा कुनै योगदान नभएका र लोकतान्त्रिक गणतन्त्र नेपाल भन्न र लेख्न डराउनेहरूको मण्डले प्रवृत्तिको उन्माद हो ।’