१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
विभूति नारायण राय
२o८१ जेठ १ मंगलबार o७:४९:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

आन्दोलन बैठानको कार्यविधि पनि चाहिन्छ 

Read Time : > 2 मिनेट
विभूति नारायण राय
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:४९:oo

राजनीतिको विरोध एउटा खास प्रकारको राजनीति हुने गर्छ, राजनीतिमा लिप्त व्यक्ति जोखिमबाट मुक्त भएर सम्भावनाको द्वार खोल्ने गर्छ 

मेरठको जाडो त्यसै पनि ठिहिर्‍याउने खालको हुन्छ । विशेष गरेर गढवालको लेखमा हिउँ पर्‍यो भने । सन् १९८७ को नोभेम्बर–डिसेम्बर पनि अपवाद थिएन । सहरले साम्प्रदायिक उन्मादको दुःस्वप्न व्यहोरिसकेको थियो र त्यसैको वरपर उत्तर प्रदेशका उखु उत्पादक किसानबीच एउटा नयाँ आँधीहुरी जन्मन खोज्दै थियो । त्यसले त्यहाँको ठिरेटोलाई बिस्तारै तताउँदै थियो । त्यस क्षेत्रमा महेन्द्रसिंह टिकैत नयाँ किसान नेताका रूपमा उदाउँदै थिए । उनले ग्रामीण किसानलाई प्रभावित पार्ने लोडसेडिङको विषयलाई लिएर मेरठलाई नै आन्दोलित पारिदिएका थिए । यो बिल्कुलै नयाँ ढंगको आन्दोलन थियो । त्यसलाई त्यहाँका मिडिया र राजनीतिक विश्लेषकले पनि परिभाषित गर्न सकिरहेका थिएनन् । न त कानुन व्यवस्था लागू गराउने एजेन्सीले त्यसको प्रकृति बुझ्न सकिरहेका थिए । टिकैतको नेतृत्वमा हुँदै गरेको आन्दोलनसँग जोडएका केही विचलित गराउने दृश्य पनि सतहमा देखिँदै थिए ।

कठ्यांग्रिँदो जाडोमा कमिस्नरीलाई घेरेर खुला आकाशको मुन्तिर बसेका किसानहरू एकपछि अर्को गर्दै चिसोका कारण मारिँदै थिए, तर पनि उनीहरूले आफ्नो प्रदर्शन अन्त्य गरेनन् । त्यहाँ हुने सबै कुरा निकै अप्रत्याशित थिए । एक दिन बिहान अपत्यारिलो ढंगले टिकैतले प्रदर्शन अन्त्य गरेको घोषणा गरे । जसरी टिकैतको उदाउँदो नेतृत्वका बारेमा आकलन गर्न सकिएको थिएन, त्यसरी नै माग पूरा नगरीकनै आन्दोलनको विसर्जन गरिने कुरा पनि अप्रत्यासित थियो । कसैले पनि केही बुझ्न सकिरहेका थिएनन् । म तिनताका सीमावर्ती गाजियाबादमा थिएँ र आफ्नो एकेडेमिक र पेसागत चासोका कारण घरिघरि मेरठ गइरहन्थेँ । मलाई टिकैतको उदयका साथसाथै यस आन्दोलनमा पुलिसकर्मीको प्रतिक्रिया पनि निकै रोचक लाग्थ्यो । उत्तर प्रदेशको कुनै पनि क्षेत्रमा जात निकै ठूलो विषय हो । त्यो आन्दोलनलाई किसान आन्दोलन भनिए पनि त्यसमा एउटा जातका मानिसको बाहुल्य थियो र नेतृत्व पनि मूलतः उनीहरूकै हातमा थियो । टिकैत स्वयं खाप चौधरी थिए र पश्चिम उत्तर प्रदेशदेखि लिएर हरियाणासम्म यस जातिमा उनको प्रभाव बढिरहेको थियो । 

प्रत्येक सफल आन्दोलनमा जस्तै यसपटकको किसान आन्दोलनबाट पनि निस्किनका लागि उनीहरूलाई सम्मानजनक बाटो चाहिन्छ नै, होइन भने सन् १९८७ मा जस्तै कसैले आन्दोलन अन्त्य भएको घोषणा गर्न बेर लागाउनेछैन ।

आफ्नो आँखा अघिल्तिर यो सबै देखिरहेका पुलिसकर्मीका मनमा मडारिएको आँधीलाई पनि बुझ्न कठिन नै थियो । धेरैजसो जवान गाउँबाट भर्ती हुने गर्थे र खेतसँग उनीहरूको पारिवारिक सम्बन्ध थियो । साथै प्रहरीमा टिकैत समुदायका व्यक्तिको बाहुल्य थियो । यस्तोमा उनीहरूको मनोबल कायम राख्नु र आवश्यकता पर्दा प्रदर्शनकारीका खिलाफ बल प्रयोग गर्न प्रोत्साहित गर्नु प्रहरी नेतृत्वका लागि चुनौती थियो । तत्कालीन सरकार बल प्रयोग नगरीकनै धर्ना समाप्त पार्न चाहन्थ्यो ।

वर्ग र वर्ण दुवै बाधा पन्छाउँदै उनीहरूले आफ्नो धैर्य कायम राखेको देखेर मलाई निकै खुसी लाग्थ्यो, अन्ततः प्रशासनले उनीहरूलाई थकाएरै समाप्त पारिदियो । सन् १९८७ पछि यमुना नदीमा धेरै पानी बगिसकेको छ । राजधानीले कैयौँ किसान आन्दोलन भोगिसकेको छ र यति वेला एउटा नयाँ किसान आन्दोलनले यसलाई तरंगित बनाइरहेको छ । धेरै कुरामा परिवर्तन आइसकेको छ, तर अझै पनि कति कुराहरू पहिलेजस्तै छन् । एउटा परिवर्तन त किसानका वाहन र लुगाफाटोमा समेत देखिएको छ । मूलतः तीन दशकको समृद्धि उनीहरूमा पनि स्पष्ट झल्किँदै छ । टेक्टरजत्तिकै महँगा कार पनि दृश्यमा देखिएका छन् । किसानहरू जाडोबाट जोगिनका लागि पहिलेभन्दा धेरै सुसज्जित भएका छन् ।

तर, जे फेरिएको छैन, त्यो समाजशास्त्रीहरूका लागि कम चाखलाग्दो होइन । खास गरेर भारतीय समाज र राजनीतिबीचको प्रेम र घृणा यहाँ पनि झल्किँदो छ । टिकैत सार्वजनिक रूपमा राजनीति र राजनीतिज्ञप्रति आफ्नो अविश्वास व्यक्त गर्ने गर्थे । राजनीतिको विरोध एउटा खास प्रकारको राजनीति हुने गर्छ । यो राजनीतिमा लिप्त व्यक्ति त्यसको जोखिमबाट मुक्त भएर सम्भावनाको द्वार खोल्ने गर्छ । सन् १९८७ को जाडोमा मेरठ कमिस्नरीका बाहिर उभिएका किसानको भिड देखेर मलाई जहिले पनि लाग्ने गथ्र्यो कि यो भिड जम्मा गर्नेहरूले यसको बैठानबारे पक्कै पनि केही सोचेका छ्रैनन् । यो विषय राजनीतिको पारंगत खेलाडीलाई मात्र थाहा थियो कि यो जटिल चक्रव्यूहबाट सम्मानजनक ढंगले कसरी निस्किने हो । 

भिड एकत्रित गर्नुभन्दा कम महत्वपूर्ण त्यसको विसर्जन पनि होइन । राजनीतिको विरोध गर्ने टिकैत यो कुरा जान्दैनथे, त्यसैले उनले एक्कासि आन्दोलन अन्त्यको घोषणा गरे र त्यहाँबाट हिँडे । अहिले भने केही दिनअघिसम्म किसानसँग भेट्न नखोज्ने कृषिमन्त्री उनीहरूलाई वार्तामा बस्न बिन्ती गरिरहेका छन् । दिल्लीमा उनीहरूलाई भित्रनका लागि उनले पहिले अनुमति दिए अनि झुकेर उनीहरूका लागि एउटा चौर उपलब्ध गराए । प्रत्येक सफल आन्दोलनमा जस्तै यसपटकको किसान आन्दोलनबाट पनि निस्किनका लागि उनीहरूलाई सम्मानजनक बाटो चाहिन्छ नै, होइन भने सन् १९८७ मा जस्तै कसैले आन्दोलन अन्त्य भएको घोषणा गर्न बेर लागाउनेछैन । उनीहरूले राजनीतिको विरोध गर्ने होइन कि जनपक्षधर वर्गीय हितको कुरा गर्दै सबैलाई गोलबन्द गरिने राजनीतिलाई समर्थन गर्नुपर्ने हुन्छ।
(लेखक पूर्वआइपिएस अधिकारी हुन्)
हिन्दुस्तानबाट 

 

ad
ad