
विश्वका विभिन्न देशले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिन उत्पादन अन्तिम चरणमा पुर्याएका छन् । तर, दैनिक संक्रमित संख्या बढ्दो क्रममा छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार बुधबारसम्म विश्वभरि ६ करोड संक्रमित भएका छन् ।
मृत्यु हुने १४ लाख पुगेका छन् । सेप्टेम्बरसम्म दैनिक संक्रमित संख्या तीन लाख थियो । अहिले यो बढेर दैनिक ६ लाख पुगेको डब्लुएचओले जनाएको छ । यो तथ्यांक हेर्दा विश्वभरि नै पुनः कोरोना संक्रमणको गति तीव्र बनेको पुष्टि हुन्छ ।
विश्वलाई आतंकित बनाएको कोरोना भाइरस सुरु भएको एक वर्ष पूरा भएको छ ।
गत १७ नोभेम्बरमा भाइरस विश्वमा देखिएको एक वर्ष नाघ्यो । १७ नोभेम्बर २०१९ मा चीनको वुहान सहरमा ५५ व्यक्ति संक्रमित भए । यसको दाबी चीनको साउथ मर्निङ पोस्टले गरेको थियो । त्यसपछि १७ नोभेम्बरदेखि ३१ डिसेम्बरसम्म चीनमा ५६६ व्यक्ति संक्रमित भए ।
२०२० को नयाँ वर्षसँगै विश्वका विभिन्न राष्ट्रमा कोरोना भाइरसको प्रभाव पर्दै गयो । २३ जनवरीमा चीनले वुहान सहरलाई पूरै लकडाउन गर्यो । यो सहरमा रहने सबैलाई सरकारले आइसोलेसनमै राख्यो ।
२१ जनवरीमा अमेरिका, २४ जनवरीमा फ्रान्स, ३० जनवरीमा भारत तथा ३१ जनवरीमा इटालीमा कोरोनासम्बन्धी पहिलो केस देखिएको थियो । ३० जनवरीमा डब्लुएचओले यसलाई आपत्कालीन अवस्था भनी घोषणा गर्यो । जर्मनी, भियतनाम, अमेरिका तथा जापानमा देखिएका संक्रमित व्यक्तिको पास्ट हिस्ट्री चीनको थिएन । संक्रमित व्यक्तिले चीनमा भ्रमण नै गरेका थिएनन् ।