मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ माघ ११ आइतबार
  • Sunday, 24 January, 2021
हर्षबर्धन शृंगला
२०७७ मङ्सिर ११ बिहीबार ०७:००:००
मुख्य समाचार प्रिन्ट संस्करण

भारतीय विदेश सचिव शृंगला आज आउँदै : नेपाल–भारत उच्च कूटनीतिक तहमा १५ महिनापछि वार्ता

२०७७ मङ्सिर ११ बिहीबार ०७:००:००

नेपाल र भारतबीच उच्च कूटनीतिक तहमा १५ महिनापछि बिहीबार औपचारिक वार्ता हुँदै छ । परराष्ट्र सचिव भरतराज पौड्याल र भारतीय समकक्षी हर्षबर्धन शृंगला नेतृत्वका प्रतिनिधिमण्डलबीच वार्ता हुन लागेको हो । नेपाल–भारत दुवैले नयाँ नक्सा जारी गरेपछि उत्पन्न विवादबीच रोकिएको कूटनीतिक वार्ता पुनः सुरु गर्न भारतीय विदेश सचिव शृंगला बिहीबार काठमाडौं आउँदै छन् ।

बिहीबारको वार्तामा नेपालका तर्फबाट परराष्ट्र सचिव पौड्याल, परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख यज्ञबहादुर हमालसहितका अधिकारी हुनेछन् । विदेश सचिव शृंगलाको टोलीमा भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान मामिला हेर्ने सहसचिव अरिन्दम बाग्ची, भारतीय राजदूत विनयमोहन क्वात्रा र भारतीय दूतावासका अधिकारीहरू हुनेछन् ।

भारतीय विदेश सचिव शृंगलाले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि छ । यस्तै, नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेतासँग पनि विदेशमन्त्री शृंगलालको शिष्टाचार भेट हुनेछ । शुक्रबार नेपाली थिंकट्यांक एआईडिआईएद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर उनी दिल्ली फर्किनेछन् ।

४ भदौ ०७६ मा काठमाडौंमा दुई मुलुकका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक भएको थियो । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा. सुब्रमण्यम् जयशंकर आएका थिए । त्यसको दुई महिनापछि भारतले कालापानीसमेतको जमिन समेटेर नयाँ नक्सा जारी गरेको थियो । त्यसपछि दुई मुलुकबीच औपचारिक कूटनीतिक वार्ता रोकिएको थियो ।

गत १५ अगस्टमा प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको टेलिफोन वार्तामा औपचारिक संवाद सुरु गर्ने सहमति भएको थियो । त्यसपछि भारतीय गुप्तचर संस्था ‘र’ प्रमुख सामन्तकुमार गोयल र सेनाध्यक्ष मनोजमुकुन्द नरभणेले नेपाल भ्रमण गरेका थिए ।

द्विपक्षीय वार्तामा नेपालले कालापानी, सुस्तालगायत सीमा समस्या समाधानमा जोड दिने भएको छ । त्यसका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक शीघ्र बस्नुपर्ने, प्राविधिक तहमा पनि द्विपक्षीय छलफल हुनुपर्ने धारणा नेपाली पक्षले राख्ने परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीको भनाइ छ । यस्तै, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपिआर टुंगिनुपर्नेसहित बाँध, डुबान, द्विपक्षीय सम्झौताअनुसारका परियोजना कार्यान्वयनमा नेपाली पक्षको जोड रहने ती अधिकारीले बताए ।

भारतीय पक्षले भने सीमाको विषयभन्दा बढी द्विपक्षीय आर्थिक सहकार्य, कनेक्टिभिटीलगायतमा जोड दिने सम्भावना छ । ‘मैले बुझेसम्म प्रधानमन्त्रीहरूबीच भएको सहमति कार्यान्वयनको समीक्षा हुन्छ र भविष्यमा के के गर्ने भन्ने विषयमा छलफल हुन्छ,’ भारतको सरकारी थिंकट्यांक मनोहर पारिकर आइडिएसएका नेपाल मामिला विज्ञ डा. निहार आर. नायकले टेलिफोनमा भने, ‘सीमासम्बन्धी नेपालले राख्ने चासो र सरोकारलाई विदेश सचिवले नोट गर्ने र दिल्लीमा राजनीतिक नेतृत्वलाई जानकारी दिनेछन् । त्यसआधारमा उनले नेपाली पक्षलाई निश्चित समयपछि जवाफ दिनेछन् ।’

चिनियाँ रक्षामन्त्रीको ‘स्टपओभर’ भ्रमण

 वेइ फेङ्गे

भारतीय विदेश सचिव नयाँदिल्ली फर्केको दुई दिनपछि आइतबार चिनियाँ रक्षामन्त्री जनरल वेइ फेङ्गे औपचारिक भ्रमणमा नेपाल आउँदै छन् । उनको भ्रमण सार्वजनिक भएको छैन, तर एक दिने भ्रमणका लागि परराष्ट्र मन्त्रालय, रक्षामन्त्रालय र जंगी अड्डाले तयारी गरिरहेका छन् । नेपाल भ्रमणपछि उनी बंगलादेश जाने कार्यक्रम छ । कोभिड–१९ महामारीपछि नेपाल आउन लागेका उनी सबैभन्दा वरिष्ठ चिनियाँ अधिकारी हुन् ।

पूर्वराजदूत डा. दिनेश भट्टराई भारतीयपछि चिनियाँ मन्त्रीको भ्रमण संयोग मात्रै हुन सक्ने, तर उनीहरूको दौडधुप अर्थपूर्ण देखिएको बताउँछन् । ‘उनीहरू आफैँले निर्णय गरेको मितिमा आउँछन्, चाहेका मानिसलाई उनीहरूले चाहेको समयमा भेट्छन्, हाम्रो अनुकूलता वा सुविधामा उनीहरूको भ्रमण हुँदैन,’ भट्टराई भन्छन्, ‘शक्ति, प्रभाव र भूमिका बढाउन चीन र भारत सक्रिय भएको अर्थमा यो भ्रमणलाई लिनुपर्छ ।’

त्रिभुवन विश्वविद्यालयको नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास)का कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्की भारत र चीनबीच नेपालमा प्रभाव विस्तारको होड चलेको टिप्पणी गर्छन् । ‘पाँच वर्षअघिको नाकाबन्दीपछि नेपालमा चीनले स्थान ओगटेको छ, भारतले गुमाएको छ । गुमेको स्थान फिर्ता लिने भारतको जोड र नाकाबन्दीसँगै नेपालमा पाएको स्थान कायम राख्ने चीनको जोडबीच होडबाजी चलेको छ,’ डा. कार्कीको विश्लेषण छ ।

सामरिक मामिलाका जानकार गेजा शर्मा वाग्लेको विश्लेषणमा भारतीय विदेश सचिव र चिनियाँ रक्षामन्त्रीको भ्रमण संयोगमा मात्र होइन । ‘चिनियाँ रक्षामन्त्रीको आकस्मिक  भ्रमण कूटनीति र सुरक्षाभन्दा पनि राजनीतिक मिसनबाट अभिप्रेरित देखिन्छ,’ वाग्ले भन्छन्, ‘छिमेकमा प्रभाव विस्तार दुवै देशको प्राथमिकतामा रहेको देखिन्छ । नेपालमा चीनको विस्तारित प्रभाव मजबुत पार्ने गरी भूमिका बढाउन र उच्चस्तरीय चिनियाँ नेतृत्वको सन्देश लिएर रक्षामन्त्री आउन लागेको बुझिन्छ ।’

भू–रणनीतिक मामिला जानकार पूर्वउपरथी विनोज बस्न्यात नेपालका छिमेकी भारत र चीन तथा अमेरिकासँगको पुरानो सम्बन्ध अब नयाँ भूराजनीतिक वातावरणमा प्रवेश गरेको बताउँछन् । ‘भारत र चीन एकअर्का विरोधी वा दुवैको विरोधी कार्ड खेल्दा नेपालको राष्ट्रिय हित पूरा हुँदैन । एकअर्का विरोधी षड्यन्त्रको सिद्धान्तमा नेपाल जान सक्दैन, यसलाई नेपालले धान्न पनि सक्दैन,’ बस्न्यात भन्छन् ।