सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । सरकारी उच्च अधिकारीहरूलाई सोमबार उनले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तान्तरण प्रक्रिया सुरु गर्न निर्देशन दिएका हुन् ।
उनले यसअघि सत्ता हस्तान्तरण गर्न अस्वीकार गर्ने आशंका सर्वसाधारणले गरेका थिए । उनले अहिले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्न निर्देशन दिएपछि सकारात्मक सन्देश गएको छ । राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै आफू पराजित नभई पराजित गराइएको दाबी गर्दै आएका छन् ।
निर्वाचनमा धाँधली भएको भन्दै उनले विभिन्न अदालतमा मुद्दा दर्ता गरे पनि ट्रम्पको दाबीका लागि पर्याप्त प्रमाण नभएकाले कतिपय न्यायाधीशले मुद्दा नै खारेज गरिदिएका थिए । अदालतबाट समेत आफ्नो दाबी पुष्टि नहुँदा पनि उनी अन्यायमा परेको र आफूलाई नियोजित रूपमा पराजित गरिएको भन्दै न्याय माग्ने क्रमलाई निरन्तरता दिने दाबी गर्दै आएका थिए ।
यही ३ नोभेम्बरमा अमेरिकामा भएको निर्वाचनबाट राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित भएका छन् । उनीहरूले आगामी २० जनवरी २०२१ मा पद तथा गोपनीयताको शपथग्रहण गर्दै जिम्मेवारी सम्हाल्नेछन् । त्यसका लागि उनीहरूले पनि आ–आफ्नोतर्फबाट तयारी थालेका छन् ।