मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ मङ्सिर ६ शनिबार ०७:३८:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल प्रिमियर लिग सुरु नहुँदै धेरै विवाद

Read Time : > 2 मिनेट
२०७७ मङ्सिर ६ शनिबार ०७:३८:००

नेपाल प्रिमियर लिग (एनपिएल) यस्तो प्रतियोगिता बन्न सक्छ, जसले नेपाली क्रिकेटको मुहार बदलिदिन सक्छ । घरभित्र क्रिकेटको माहोल परिवर्तन गर्नेदेखि आर्थिक रूपमा पनि नेपाली क्रिकेटमा यसले ठूलो योगदान पुर्‍याउन सक्दछ । 

इन्डियन प्रिमियर लिग (आइपिएल)ले भारतीय क्रिकेटमा पारेको प्रभावजस्तै एनपिएलले पनि नेपाली क्रिकेटमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । तर, यो प्रतियोगिता परिकल्पना गरिएको दिनबाटै विवादमा परेको छ । 

नेपालको पुरानो खेल संघमध्येको नेपाल क्रिकेट संघ (क्यान) को २०६८ पुसमा भएको पहिलो निर्वाचनबाट टंक आङबुहाङले अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनकै कार्यकालमा छनोट चरण पार गर्दै नेपालले टी–२० विश्वकप पनि खेलेको थियो । त्यसैवेलाबाट हो, एनपिएलको प्रसंग सुरु भएको पनि । त्यसवेला जोरा स्पोर्टस म्यानेजमेन्ट नामको एउटा नेपाली निजी कम्पनीले एनपिएल आयोजनाको प्रस्ताव गरेको थियो । कम्पनीका प्रबन्ध निर्देशक आमिर अख्तरको प्रस्तावमा तत्कालीन अध्यक्ष आङ्बुहाङ सहमत थिए । कार्यसमितिमा विरोध हुँदाहुँदै पनि उसले अख्तरलाई एनपिएलको आयोजना अनुमति दिए । 

तर, त्यसवेला आइसिसीले नै निजी कम्पनीलाई एनपिएल आयोजनाको जिम्मेवारी दिने निर्णय मानेन । आइसिसीले इमेलमार्फत क्यानलाई चेतावनी नै दिएको थियो । आइसिसीले इमेलमा स्पष्ट भनेको थियो, ‘नेपाल प्रिमियर लिग नामको प्रतियोगिता क्यानबाहेक अरू कसैले आयोजना गर्न मिल्दैन ।’

त्यसवेला नेपाली खेलाडीले टी–२० विश्वकप खेलिसकेका थिए । फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा अरू देशबाट पनि उच्चस्तरका प्रतियोगिता खेलेका खेलाडी आउँछन् । यो स्तरका खेलाडी सहभागी हुने प्रतियोगितालाई खेल मिलेमतोजस्तो खेल अपराधबाट बचाउने जिम्मेवारी कसले लिन्छ भन्ने अर्काे मुख्य चासो आइसिसीको थियो । 
आइसिसीले नै प्रश्न गरेपछि कार्यसमितिका अन्य पदाधिकारीले पनि विरोध गरे । विरोधका बाबजुद तत्कालीन अध्यक्ष आङबुहाङले जोहरा स्पोट्स म्यानेजमेन्टलाई प्रतियोगिता आयोजना गर्न दिए । विभिन्न तीन फम्र्याट (टी–२०, ५० ओभर र दुई दिवसीय)मा एनपिएल आयोजनाको प्रस्ताव गरेको जोहरा स्पोट्सले सबै प्रतियोगिता आयोजना गर्न भने पाएन । 

त्यसवेला जोहरा स्पोट्सले तय गरेको प्रतियोगिताको संरचना पनि फरक थियो । टोलीहरू सहरको प्रतिनिधित्व गर्ने खालका थिएनन् । व्यापारिक घरानाको नामबाट टोली तयार पारिएको थियो । सोही संरचनालाई परिवर्तन गरेर जोरा स्पोट्स र अख्तरले एभरेस्ट प्रिमियर लिग (इपिएल)को आयोजना गर्दै आइरहेका छन्। 

त्यसपछि आन्तरिक विवादका कारण क्यान नेतृत्वविहीन बन्दा एनपिएलको आयोजनाको प्रसंग उठ्न ढिला भयो । तर, आइसिसीको निर्देशन र सर्तमा विवाद मिलेर क्यानले दोस्रो निर्वाचित अध्यक्षलाई पाएपछि एनपिएलको चर्चा फेरि सुरु भएको छ । यसपटक एनपिएल आयोजनाको विषय पदाधिकारी, कार्यसमिति हुँदै साधारणसभासम्मै पुगेको छ । यही बुधबार ‘भर्चुअल्ली’ आयोजना गरिएको साधारणसभाले नेपाली क्रिकेटको हितमा हुने गरी एनपिएलको आयोजना गर्नेबारे निर्णय गर्न कार्यसमितिलाई जिम्मेवारी दिएको छ ।

तर, यसपटक पनि एनपिएल छलफलबाटै विवादित बनेको छ । अध्यक्ष चतुरबहादुर चन्दलगायत केही पदाधिकारीले साधारणसभामा छलफल गर्नुअघि नै एक भारतीय कम्पनीलाई एनपिएल आयोजनाको जिम्मेवारी दिने गरी एमओयू हस्ताक्षर गरेका छन् । संयोग कस्तो परेको छ भने झन्डै दशकअघि एनपिएल आयोजनाको जिम्मेवारी नेपालकै निजी कम्पनीलाई दिने निर्णयमा विरोध गर्नेहरू अहिले नेतृत्वमा रहेकाहरू नै थिए । एनपिएल आयोजनाको जिम्मेवारी जोरा स्पोट्सलाई दिन मिल्दैन भनेर विरोध गर्नेमा हालका अध्यक्ष चन्दलगायत पदाधिकारी नै थिए । अहिले उनी नै भारतीय कम्पनीलाई एनपिएलको जिम्मेवारी दिने निर्णयमा पुगेका छन् । 

उक्त भारतीय कम्पनीलाई १० वर्षका लागि एनपिएल आयोजनाको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ । त्यसबापत सो अवधिमा उक्त कम्पनीले क्यानलाई ४२ करोड रकम दिने भनिएको छ । सम्झौताअनुसार त्यति रकम नेपाली क्रिकेटले पाउँछ भन्ने निश्चित के त ? बुधबारको साधारणसभामा बागमती र गण्डकी प्रदेशलगायतका केही प्रतिनिधिले यही प्रश्न उठाएका थिए । प्रस्तावअनुसार आयोजनाको जिम्मेवारीसँगै आर्थिक कारोबारको जिम्मेवारी पनि भारतीय कम्पनीले नै पाउनेछ । क्यान आफैँले आयोजना गर्दा भारतीय कम्पनीले दिनेभन्दा बढी रकम उठाउन सकिने ती पदाधिकारीहरूको तर्क छ ।