मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
राजकुमार गोले
२०७७ कार्तिक ३० आइतबार २०:५०:००
Read Time : > 4 मिनेट
ब्लग डिजिटल संस्करण

बितेकी बहिनीको सम्झनामा तिहार–पत्र 

Read Time : > 4 मिनेट
राजकुमार गोले
२०७७ कार्तिक ३० आइतबार २०:५०:००

प्रिय जुनु !

साँच्चै तिमी त आकाशको जुन भयौ । पूर्णिमाको चन्द्रमा बन्यौ । माथि महाभारतको लेकबाट झुल्किने घामजस्तै । अब त हाम्रो जिन्दगीमा झुलुक्क झुल्किन्छ्यौ मात्र सम्झना बनेर । त्यसैले हररात ताराखस्यौली लेकतिर, बादलको देशभित्र चम्किने मसिनो रातो ताराजस्तै चम्किरहेको देख्छु । जुनु, तिमी त कहिल्यैै नअस्ताउने गरी उदायौ । कहिलै नउदाउने गरी अस्तायौ । तिमी त बगिरह्यौ सुनकोसी बनेर निरन्तर निरन्तर, आफ्नै वहाबहरूमा, छालहरूसँग । 

जुनु ! मेरी बहिनी, 

भोलि भाइटीकाको दिन ! हुन त परदेशमा हाम्रो सांस्कृतिक पर्वहरूको महत्वभन्दा पनि आफ्नै कामको ध्याउन्न मात्र हुन्छ । जिन्दगीलाई आफ्नै सतहभन्दा एक कित्तामाथि उकाल्छु कि भनेर संयुक्त अधिराज्य अमेरिकाको यो भूमिमा टेकेको पनि करिब दुई वर्ष बितिसकेछ ।

टेक्सासको एक सहायक रोडको छेउ भएर डेरा फर्किँदै गर्दा बाटाभरि फुलेका ‘टुलिप’का फूल आँखामै ठोक्कियो । आफ्नै लयमा फुलिरहेका विदेशी फूलहरू देख्छु । फूलहरूको त वर्ग हुँदैन । यिनीहरूमा कुन माटोमा फुल्ने र नफुल्ने भन्ने ज्ञान पनि रहन्न सायद ।

प्रिय बहिनी ! हुन त यो जिन्दगीले फूलहरूसँग प्रेम गर्न बिर्सेको पनि थुप्रै भयो । वसन्त याम सकिँदै गर्दा तिमीले मखमली, सयपत्रीसँगै अरू थुप्रै आदिवासी फूलका बेर्नाहरू घरमुनि सारेको अझै याद आइरहन्छ । विभिन्न फूलहरू आँगनको छेउछेउ थुप्रै छथ्र्यौ, रोप्थौ तिमी । शरद सकिँदै गर्दा तिमीले रोपेका हरेक फुलहरू भक्कु फुल्थे । त्यही मौसममा आउने तिहारमा तिमीले आफैँ रोपेर हुर्काएका फूलहरूले हामीलाई सजाउँथ्यौ ।

तिम्रा कोमल मायावी हातहरूले भाइटीकाको दिन हामी दाजुभाइहरूको गलामा पहिरिएको माला अब स्मृतिमा बाहेक कहिलै भोग्न पाइनेछैन । तिमीले हामीलाई ओखरमा बाधा–अड्चन फोरिदिन्थ्यौ । सप्तरंगी टीका लगाइदिन्थ्यौ । त्यतिवेला साँच्चै यो दुनियाँको रंग नै अर्कै हुन्थ्यो । मुटुभित्रका तृप्तताहरूमा बेजोडको खुसी भथ्र्यौ । 

तर जुनु ! 

अब यी सबै स्मृतिमा मात्र सीमित रहे । केवल सम्झनामा मात्र बगिरहने भयो । मनभित्र अनेक बेदनाको ओइरो बनेर बगेको बेतिनी खोलाजस्तै । 

अमेरिकाको टेक्सास राज्यमा अचेल निख्खुर जाडो छ । समुद्री किनारको एक भव्य सहर । यहाँ कसको दुःख–पीडा कसलाई मतलब हुन्छ र । परपरसम्म टाँगिरहने समुद्रको एक छेउ पुग्छु । चुपचाप नतमस्तक छ समुद्र । मानौँ ऊ पनि दुःख बिसाउँदै छ । 
आमालाई फोन गरेँ । सम्झेँ अलि समय मिलेन कि ? र पनि त आमा भन्नेबित्तिकै मोबाइलका किबोर्डहरू आफैँ डाइल भइदिन्छन् । मानौँ अटो करेक्टरमा छ सिस्टम । 

थोरै कुराकानी भयो आमासँग । सम्झना तिम्रै । प्रसंग तिम्रै । विषयवस्तु तिम्रै । 

झन् यसपालि घरवरिपरि बेजोडले फुलेका छन् रे सयपत्री, मखमली । एक महिना भयो अरे फुल्न थालेको पनि । हुन त फूलहरू त फुल्नुपर्ने, ओइलिनुपर्ने, झर्नुपर्ने । तर, यसो भएनछन् । फूलहरू मात्र फुलिमात्र रहे । केही बोटहरू त नफुलोस् भनेर आमाले पानी हाल्न पनि छोड्नुभयो अरे । तर, तिनै फूलहरूचचाहिँ झन् बेजोडले फुलेदेखि आमाले बिहान–बेलुका समय मिलायर फेरि पानी दिन थाल्नुभएछ । 

प्रिय जुनु !

तिमीले यो कस्तो रोदन गरायौ, हाम्रो मुटुमा । आँगनभरि फूल फुल्दा पनि मन ओइलिनुपर्ने ? फूलहरूको मुस्कानले हिर्काएर हृदय चोइटिनुपर्ने ? ओइलिनुपर्ने, झर्नुपर्ने त तिमीले तिम्रै हातले रोपेर राखेको फुलहरू थियो । तर, उस्तो रहेन । 

सम्झेँ तिमी हामीसँगै छौ । फुलेका फूलका मुस्कानहरूमा । फूलका हाँसोहरूमा । फूलका चमकतामा । सबै–सबैमा तिमी छौ । र त फूल आँगनभरि छ । 

अनि आमालाई सम्झाउँदै भनेँ– ती फूलहरूलाई मर्न नदिनू । अघाउँजी फुलोस् । उसले सकुन्जेल फुलोस् । मनमौजी फुलोस् । 

‘भर्खर अर्को स–सानो फूलका बोटहरू पनि हुर्किंदैछन् । नरोपेकै बोटहरू कसरी थपिँदै गए थाहा छैन,’ आमा भन्दै हुनुहुन्थो । 

मैले सानी भान्जी सम्झेँ । उसले देख्न बाँकी संसार सम्झेँ । भोग्न बाँकी जिन्दगी सम्झेँ । 

आमालाई भने– आमा ! फूलहरू साना–ठूला सबैलाई हुर्काउनू । फुलाउनू । जति फुल्ने हो फुलोस् ।

हाम्रो ‘आङा’ र ‘कोन्मे’ बहिनी र भान्जी अहिले रहेको भए यसरी नै फुल्थे होला आमा । हो यसरी नै मुस्कुराउँथे होला । यसरी नै हाँस्थे होला ।

उताबाट केही आवाज आएन । थोरै सुँक्क–सुँक्क सुनेँ ... । 

आमा रुनुभयो सायद । 

आँखाको डिलबाट आँसुहरू तप्प–तप्प खसे भुइँमा । आँसुको जात पानीमै त हो मिसिने । समुद्रको पानी माथि तप्प फुट्यो ।

जुनु ! 

तिमी माइती झरेको दिन भाइटीकाको अघिल्लो साँझ राति अबेरसम्म अँगेनोमा सेल रोटी हाल्दै, माला उन्दै आमासँग भाइटीकाको साइत समाउन आतुर तिम्रा कोमल आँखाहरू सम्झन्छु । 

मन बेस्सरी गाँठो भएर आउँछ । टेबलको मिनिरल वाटर तान्छु । सिसाको ग्लासमा भरि खन्याउँछु । ग्लासमा तिम्रै अनुहार झलझली देख्दा मन थामिन्न । जबर्जस्ती पिउँछु । घाँटीमै डल्लो पर्छ पानी । किकलिक्क पर्छु । सर्किन्छ । 

असरल्ल बिस्तारामाथि डङरंग पल्टिन्छु । सिलिङमा भान्जीको कलिला अनुहार छपक्कै देक्छु । घोप्टो पर्छु । ढलपल–ढलपल आँसु झर्नै लागेको आप्पाले आँखालाई शिरको टोपी फुकालेर गह्रौँ हातले चाउरी परेको परेलीको डिल सपक्कै पुछेको याद आउँछ । 

जुनु ! क्रान्तिमा लागेको त्यो क्षण बागमतीको तीरैतीर हिँडेर घर पुगेको कुनै साँझ । तिमी पनि भर्खर स्कुलबाट घर आइपुगेकी हुन्थ्यौ ।

‘ज्यो ज्यो’ दज्जुको झोला खोलेर निकालेका गह्रौँ माक्र्सवादी पुस्तकलाई देखाउँदै बडो जिज्ञासाका साथ सोध्नुहुन्थ्यो । 

‘कत्रो किताप’ ?

मैले सहज जवाफ दिन्थेँ, ‘यो हाम्रो वर्गको पुस्तक हो, हामीले पढ्ने हाम्रो मुक्तिको आवाज हो यो ।’ 

तिमीले कति बुज्थ्यौ कति बुज्दैनथ्यौ म अहिले नि बुझ्दिनँ । 

तिमी हतार–हतार निलो सर्ट र कलेजी फ्रकको ड्रेस चेन्ज गरेर मलाई खाजा बनाउनतिर लाग्थ्यौ । 

जुनु ! 

यतिखेर म बालकोनी निस्केर टेक्सासको आकाश नियालिरहेको छु । आकाश निलो छ । कतै सिन्दुरे मिसिँदै । यता अलि लामै साँझ पर्छ । घाम पश्चिम डल्केर पूर्व फर्किसके सायद । पूर्वतिर अँध्यारोले छोपिँदै छ । तिम्रो निलो स्कुल ड्रेसको सम्झनाले झन् ज्यादा पोल्दै छ मन । मुटु निलो हुँदै छ । यादहरू कालो भएर आउँदै छ । 

कहिलेकाहीँ आमालाई फोन गर्दा कतै ‘कोन्मेले’ भान्जीले भर्खर सिक्दै गरेको तोते बोली सुन्लान् कि जस्तो आस हुन्छ । ‘आस्याङ’ माम भन्छन् कि जस्तै लाग्छ । जुनु मान्छे नै त हो आस मार्न सकिँदो रहेनछ । आसैआसको अर्को सुन्दर भोगाइ पनि ।

कहिलेकाहीँ आमालाई फोन गर्दा कतै ‘कोन्मेले’ भान्जीले भर्खर सिक्दै गरेको तोतेबोली सुन्लान् कि जस्तो आस हुन्छ । ‘आस्याङ’ माम भन्छन् कि जस्तै लाग्छ । जुनु मान्छे नै त हो आस मार्न सकिन्न रहेछ । आसैआसको अर्को सुन्दर भोगाइ पनि त रहेछ छोडेर जानेको यादमा बाँच्नेहरूले गर्ने जीवनको अर्थ । 

प्रिय जुनु ! 

भने नि तिमी त आकाशकै जुन भइहाल्यौ । बादल भयौ, बतास भयौ । हावा बन्यौ । 

जुनु, कुनै दिन तिमी बतासिँदै टेक्सासको आकाशतिर हुत्तिदै गयौ भने पक्कै एक झोक्का मेरै छाती भएर हुत्तिनु । मेरो पनि मन छोएर गइदिनु । मेरो बाटो भएर लागिदिनु । 

हाम्रै घरको आँगनमा पुग्नु । दियो बत्तीमा अल्झिनु । घरलाई उज्यालो बनाउनु । आमाको आँखामा खुसीका एक धर्सा कोर्नु आप्पाको मुहारमा एक सप्को मुस्कान थपिदिनु । 

लाख–लाख श्रद्धाञ्जली प्रिय बहिनी जुनु । प्रिय ‘कोन्मे’ सुकोमल माया अनि हार्दिक सम्झना ! बहिनी !

उही तिम्रो अभागी दाइ

(अमेरिकाको टेक्सस, हुसटन)