मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ कार्तिक ३० आइतबार
  • Sunday, 13 July, 2025
२o७७ कार्तिक ३० आइतबार १३:o४:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

दलित युवा भैँसीपालनतर्फ, पुनः रोजगारीका लागि भारत नजाने युवाहरूको तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ कार्तिक ३० आइतबार १३:o४:oo

१५ वर्षको उमेरदेखि लगातार भारत गएर काम गर्दै, घरपरिवारको गुजारा चलाउँदै आएका दैलेखको नारायण नगरपालिका– ३ झल्सेतिदुका २२ वर्षे किसन सार्की अब पुनः भारत नजाने पक्षमा छन् । 

उनलाई प्रदेश सरकारले निःशुल्क भैँसी प्रदान गऱ्याे, घरमा एउटा भैँसी भएका यी युवा तिहार मानेर पुनः एकपटक भारत जाने र आफ्नो सबै पाउने तलब–भत्ता बुझेर नेपाल फर्केर पुनः भैँसीपालनमा लाग्ने अठोटमा छन् । त्यहाँबाट पाउने पैसाले अरू भैँसी थप्ने योजनामा उनी छन् । 

उनीसँगै झल्सेतिदुका ४० घर दलित समुदायले अहिले उन्नत भैँसी पाएर दूध बिक्री सुरु गरेका छन् । 

आर्थिक अवस्था कमजोर हुनुका साथै उत्पादन गर्ने जमिन नभएपछि गरिबीकै कारण यहाँका ९० प्रतिशत युवा कामको खोजीमा भारत जाने प्रचलन उन्नत भैँसी पाएपछि रोकिने अपेक्षा गरिएको छ । 

आर्थिक अवस्था कमजोर भएका विपन्न र दलित समुदायलाई कर्णाली प्रदेश र स्थानीय सरकारले उन्नत भैँसी वितरण गरेपछि दैलेखका विपन्न दलित समुदायका युवाहरू भैँसीपालनतर्फ अग्रसर भएको र युवाहरू गाउँमै रोकिने अवस्था आएको वडा सदस्य हर्कबहादुर नेपालीले जानकारी दिएका छन् ।  

विपन्न समुदायको आर्थिक अवस्था सुधार गर्ने र गाउँमै रोजागरी दिने अभियानअन्तर्गत प्रदेश सरकारका सांसदहरूले छनाेट गर्ने विपन्न समुदाय उत्थान कायर्मक्रमअन्तर्गत सांसद अमरबहादुर थापाले छनाेट गरेको यो बस्तीमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास कार्यालय दैलेख, पशु अस्पताल तथा पशुसेवा कार्यालय, नारायण नगरपालिका र राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त लगानीमा बृहत् साझेदारी कार्यक्रम सुरु गरिएको छ । 

प्रदेश सांसदको कार्यक्रममार्फत ४० भैँसी, स्थानीय सरकार र अन्य मातहतका कार्यालय स्थानीय सहकारी संस्था सबैको सहयोगमा अहिले नारायण नगरपालिकाभित्र एक सय ३८ भैँसी विभिन्न किसानलाई वितरण गरिएको छ । 

ती भैँसीबाट अहिले दूध उत्पादन भइरहेको छ । 
दूधको बजारीकरणका लागि सहकारीले दुग्ध संकलन केन्द्र निर्माण गरेर दूधका विभिन्न परिकार निर्माण गर्ने काम पनि सुरु गरिएको छ । 

किसानले उत्पादन गरेको दूध वडामै पुगेर गाडीमा सदरमुकाम दैलेख बजार ल्याउने गरिएको राष्ट्रसेवक सहकारी संस्थाका अध्यक्ष खमबहादुर थापाले जानकारी दिएका छन् । 

दूध उत्पादनका लागि स्थानीय स्तरमा घाँसको समस्या देखिएको उनले बताए । 

पहिलो वर्ष अलि समस्या देखिए पनि किसानले घाँस उत्पादनसमेत सुरु गरिसकेकोले आगामी वर्षदेखि भैँसी पालनमा धेरै सजिलो हुने कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलक पाण्डेले बताए ।