एक्सन अगेन्स्ट हंगर (एसिएफ) नेपालद्वारा ५८ लाखबराबरको मास्क हस्तान्तरण

मंगलबार, २५ कार्तिक, २०७७
डिजिटल संस्करण

एक्सन अगेन्स्ट हंगर (एसिएफ) नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५८ लाख रुपैयाँबराबरको केएन–९५ मास्क हस्तान्तरण गरेको छ । संस्थाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा समाज कल्याण परिषद्सँगको समन्वयमा मास्क सहयोग गरेको हो । 

उक्त मास्क कोभिड–१९ महामारीबीच संक्रमितको पहिचान र उपचारमा कार्यरत स्वास्थ्यकर्मीका लागि सहयोगस्वरूप प्रदान गरिएको संस्थाले जनाएको छ । स्वास्थ्य सेवा विभागमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहलाई एसिएफ नेपालका निर्देशक फिलिप हामेलले मास्क हस्तान्तरण गरेको जनाइएको छ । 

कार्यक्रममा विभागका निर्देशक डा. रमेश खरेलले एक्सन अगेन्स्ट हंगर नेपाललाई कोभिड–१९ महामारीले पारेको असरलाई न्यूनीकरण गर्न देखाएको अग्रसरता तथा तदारुकताका लागि स्वास्थ्य सेवा विभागको तर्फबाट कृतज्ञता व्यक्त गरेका थिए ।

सन् १९७९ मा स्थापित, एक्सन अगेन्स्ट हंगर अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । यसले संसारभर भोकविरुद्ध लडिरहेको दाबी गरेको छ । विशेष गरी द्वन्द्व वा प्राकृतिक प्रकोपद्वारा सिर्जित आपत्कालीन अवस्था वा सोपश्चात् कुपोषणको रोकथाम, पहिचान र उपचार गरी भोकलाई निर्मूल पार्दै जीवनरक्षा गर्नु यसको उद्देश्य रहेको जनाइएको छ । संस्थाले विश्वका करिब ५० राष्ट्रहरूमा समन्वयात्मक प्रतिक्रिया गर्दै आएको दाबी गरेको छ ।

 एक्सन अगेन्स्ट हंगर नेपालमा सन् २००५ देखि पोषण तथा स्वास्थ्य, खानेपानी तथा सरसफाइ, मानसिक स्वास्थ्य तथा हेरचाह र खाद्य सुरक्षा तथा जीविकोपार्जन क्षेत्रहरूमा रहेर देशका विभिन्न जिल्लामा काम गर्दै आएको जनाइएको छ । 

सुझावित समाचार