मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २५ मंगलबार ०६:१२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एक्सन अगेन्स्ट हंगर (एसिएफ) नेपालद्वारा ५८ लाखबराबरको मास्क हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २५ मंगलबार ०६:१२:००

एक्सन अगेन्स्ट हंगर (एसिएफ) नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५८ लाख रुपैयाँबराबरको केएन–९५ मास्क हस्तान्तरण गरेको छ । संस्थाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा समाज कल्याण परिषद्सँगको समन्वयमा मास्क सहयोग गरेको हो । 

उक्त मास्क कोभिड–१९ महामारीबीच संक्रमितको पहिचान र उपचारमा कार्यरत स्वास्थ्यकर्मीका लागि सहयोगस्वरूप प्रदान गरिएको संस्थाले जनाएको छ । स्वास्थ्य सेवा विभागमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहलाई एसिएफ नेपालका निर्देशक फिलिप हामेलले मास्क हस्तान्तरण गरेको जनाइएको छ । 

कार्यक्रममा विभागका निर्देशक डा. रमेश खरेलले एक्सन अगेन्स्ट हंगर नेपाललाई कोभिड–१९ महामारीले पारेको असरलाई न्यूनीकरण गर्न देखाएको अग्रसरता तथा तदारुकताका लागि स्वास्थ्य सेवा विभागको तर्फबाट कृतज्ञता व्यक्त गरेका थिए ।

सन् १९७९ मा स्थापित, एक्सन अगेन्स्ट हंगर अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । यसले संसारभर भोकविरुद्ध लडिरहेको दाबी गरेको छ । विशेष गरी द्वन्द्व वा प्राकृतिक प्रकोपद्वारा सिर्जित आपत्कालीन अवस्था वा सोपश्चात् कुपोषणको रोकथाम, पहिचान र उपचार गरी भोकलाई निर्मूल पार्दै जीवनरक्षा गर्नु यसको उद्देश्य रहेको जनाइएको छ । संस्थाले विश्वका करिब ५० राष्ट्रहरूमा समन्वयात्मक प्रतिक्रिया गर्दै आएको दाबी गरेको छ ।

 एक्सन अगेन्स्ट हंगर नेपालमा सन् २००५ देखि पोषण तथा स्वास्थ्य, खानेपानी तथा सरसफाइ, मानसिक स्वास्थ्य तथा हेरचाह र खाद्य सुरक्षा तथा जीविकोपार्जन क्षेत्रहरूमा रहेर देशका विभिन्न जिल्लामा काम गर्दै आएको जनाइएको छ ।