
राम्रो सिनेमा केलाई भन्ने ? यस प्रश्नमा थुप्रै फरक मत आउनु स्वाभाविक हो । किनकि राम्रो शब्दावली आफैँमा सापेक्षित पदावली हो । राम्रो–नराम्रो भाषागत दृष्टिले भन्दा विशेषण हो, तसर्थ यो नितान्त विश्लेषणात्मक हुन्छ । विश्लेषणका लागि विश्लेषकको अवधारणागत पूर्वाधारको महत्वपूर्ण भूमिका हुन्छ, जो व्यक्तिपिच्छे फरक हुने यथार्थ स्पष्ट छ ।
विशेषण दुवै पक्षको सम्बन्ध, अनुभव, अनुभूतिका आधारले निर्धारण हुने हुँदा यो अत्यन्त सापेक्षिक अवधारणा हो । यसका लागि राम्रो–नराम्रो निर्धारकको अस्तित्वलाई पनि रिफ्रेन्समा राख्नुपर्छ । यसैका कारण राम्रो–नराम्रोको अवधारणा जटिल छ । यसको अर्थ ‘एउटा पनि राम्रा सिनेमा बनेका छैनन् त ?’ भन्ने प्रतिप्रश्न पनि उठ्छ । तर, राम्रो सिनेमाका केही मापन प्रणाली भने अवश्य उपलब्ध छ ।
राम्रो सिनेमा कसरी बनाउने ? भन्ने ठोस उत्तर हासिल गरेर त्यसलाई दोहोर्याउन खोज्ने भूलबाट मुक्त भई सिनेमाका आधारभूत तत्वलाई त्यसको सबभन्दा क्रियाशील र प्रभावकारी स्वरूपमा संयोजित अभिव्यक्त गर्नतर्फ अग्रसर हुनुमा बुद्धिमता हुन जान्छ । केलाई राम्रो सिनेमा भन्ने ? बहसमा जानुअघि राम्रा सिनेमाले के भन्छ ? र कसरी भन्छ ? भन्ने दुई मूलभूत प्रश्नको खोजी गर्नुचाहिँ सिर्जनात्मक सार्थकता हुन्छ ।
विश्वभर लाखौँ सिनेमा बनिसके र त्यसमध्ये हजारौँमा गन्न सकिने सिनेमाहरूलाई सिनेमा समाज र विज्ञहरूले स्विकारिसकेपछि सिनेमासम्बन्धी विभिन्न प्लेटफर्ममा चर्चा र रिफ्रेन्सको विषय बनाइएको छ । त्यस्ता सिनेमाको अध्ययन गर्दा एउटा तथ्य साझा रूपमा के देख्न सकिन्छ भने ती सिनेमाले भन्ने कुरा जसलाई सिनेमाको कथ्य भनिन्छ, त्योचाहिँ मानवजीवनको अध्ययनका लागि अर्थपूर्ण रहन्छ ।
वास्तवमै सिनेमाको केन्द्रमा मियोको रूपमा कथ्य नै हुन्छ । हरेक सिनेमाको प्रारम्भ कथ्यबाट हुन्छ । त्यसपछि कथ्यलाई आकार, आकृति, प्रकृति, रूप, आधार, संरचना, तथ्य, प्रमाण, विश्वास र सम्बन्धजस्ता रसायनको संयोजनबाट उपयोग गर्न सक्ने अस्तित्व बनाइन्छ । अन्ततोगत्वा कथ्यमै रूपान्तरण भएर मानिसको मानसपटलमा जीवित रहने वा नरहने नियति बोक्ने हुँदा यसलाई राम्रो सिनेमाको एउटा प्रमुख आधार मान्न सकिन्छ ।
राम्रो सिनेमाले मान्छे नराम्रो हुन्छ भनेर भन्छ । मान्छेको चरित्रमाथि विशेष आरोप लगाउँछ, प्रश्न उठाउँछ । राम्रा मानिसका चरित्रहरू जे निर्धारण गरिएका छन्, ती चरित्रलाई आत्मसात् नगर्ने मानिसलाई नराम्रा मानिस भनिने हो । सोच, व्यवहार र चरित्र प्रभावमा मानिस जब कुरूपता हासिल गर्छ, तब त्यस्ता यथार्थका आधारहरूले सिनेमा बनाउन उत्प्रेरणा दिन्छन्, उद्देश्य दिन्छन् ।
त्यसकारण राम्रो सिनेमाले नराम्रा मानिसका कारण आफ्नो कथ्य हासिल गर्छ । राम्रो मानिसका लागि आधारभूत मानक मानिसले जे बनाएको छ, त्यसमा ऊ स्वयं उत्तीर्ण हुन नसकेको प्रमाण प्रस्तुत गरेर सिनेमाले मानिसलाई गिज्याउँदै छट्पटी गराउँछ, उकुसमुकुस पारिदिन्छ, चिमोट्छ र कहिलेकाहीँ थप्पड हान्छ । मानिस आदर्शको परिकल्पना त गर्छ, तर आफैँ सहजता र निहित स्वार्थका लागि आदर्श भत्काउँछ ।
मानवताको मूल्य–मान्यतालाई विभाजन र हिंसाको हतियारले तहसनहस बनाउन तल्लीन छ भन्ने आरोप बोकेर निडरताका साथ उभिने यस्ता सिनेमाहरूले मानव सभ्यताका लाागि पथप्रदर्शक हुने सामथ्र्य राख्छन् । राम्रो सिनेमाले मानिसलाई सबैभन्दा बढी खतरा मानिसबाटै हुन्छ भन्ने चेतावनी दिन्छ । मानिस आफैँबीच यति विभाजित, विभक्त र संकुचित भएको छ कि एउटा मानिसले अर्काे मानिसलाई खण्डित अवधारणाको चस्मा लगाएर हेर्छ । यसकारण ऊ आफ्नो अस्तित्व सधैँ खतरामा देख्छ र अर्काको अस्तित्व समाप्तिको मूल्यमा मात्र आफ्नो अस्तित्वको रक्षा हुने देख्छ ।
यसका लागि ऊ पर्खाल बनाउँछ, खाडल खन्छ । त्यही खाडलले उसलाई पनि कुनै दिन गाडिदिन्छ भने पर्खालले उसलाई पनि थुनिदिन्छ, किनकि मानिस आफूले गर्ने हरेक क्रिया–प्रतिक्रियाबारे सचेत छैन । ऊ त्यस्तो क्रियाकलापमा संलग्न भइरहेछ, जसको प्रतिक्रियामा उसको आफ्नै अस्तित्व नाश हुन सक्छ । अरूलाई नाश गर्ने क्रियाको प्रतिक्रियामा आफैँ नाश हुनु स्वाभाविकै हो । यसर्थ मानव आफ्नो अस्तित्व समाप्तिको पूर्वाधार निर्माण गर्दै छ भनेर राम्रा सिनेमाले ठूलो आवाजमा चिच्याउँछ । वास्तवमा यो मानवहितका लागि हो । सचेतता र सजगताका लागि राम्रा सिनेमाले आफ्नो प्लाटफर्ममार्फत मानवलाई झकझकाउन खोज्ने हुँदा ती सिनेमालाई मानव समाजले आफ्नो सारथी बनाउनुको विकल्प छैन ।
मानिस स्वतन्त्र छैन र मानव जीवन दासत्वमा छ भनेर सप्रमाण भन्न सक्नुले राम्रा सिनेमाले मानिसलाई कति गम्भीर षड्यन्त्रबाट जोगाउन खोज्दै छ भन्ने अनुभूति गर्न सकिन्छ । मानिसलाई आफ्नो स्वतन्त्रताको खोजी गर्न उत्प्रेरणा दिने राम्रा सिनेमाले दासत्वको घिनौना रूप देखाइदिन्छ र मानिस आफूलाई आफ्नो अनुहार ऐनामा हेर्न आह्वान गर्छ ।
यही सन्दर्भमा रहेर राम्रो सिनेमाले मानव अस्तित्वका लागि एउटा डरलाग्दो षड्यन्त्रको रहस्योद्घाटन पनि गरिदिन्छ । त्यो हो– ‘ अमानव अस्तित्वले मानिसलाई आफ्नो दासत्वमा पारिरहेको छ ।’ सत्ता, बजार, धर्म, इतिहास, सिद्धान्त, परम्परा, आस्था, प्रविधि आदिले मानिसको जीवनलाई यसरी आफ्नो बन्धनमा बाँधिदिएको छ कि ऊ त्यो जन्जिर तोडेर बाहिर निस्किन सक्दैन । ऊ बाध्य छ, त्यो सीमितता र स्वीकारोक्तिमा बस्न । मानिस स्वतन्त्र छैन र मानवजीवन दासत्वमा छ भनेर सप्रमाण भन्न सक्नुले राम्रा सिनेमाले मानिसलाई कति गम्भीर षड्यन्त्रबाट जोगाउन खोज्दै छ भन्ने अनुभूति गर्न सकिन्छ । मानिसलाई आफ्नो स्वतन्त्रताको खोजी गर्न उत्प्रेरणा दिने राम्रा सिनेमाले दासत्वको घिनौना रूप देखाइदिन्छ र मानिस आफूलाई आफ्नो अनुहार ऐनामा हेर्न आह्वान गर्छ ।
त्यस्तै राम्रो सिनेमाले मानिस दुःखी छ भनेर स्पष्ट भन्छ । आफूलाई असहज भएपछि उत्पन्न हुने भाव हो दुःख । त्यसकारण मानिसलाई अनेकौँ किसिमका असहजताले गाँजिरहेको छ । दैनिकी, सम्बन्ध, सोच, योजना र क्रियाशीलताहरूमा अनि आफ्नै अस्तित्वको स्थापनामा उत्पन्न असहजताका कारण मानिस प्रायः अवस्थामा दुःखी देखिन्छ । त्यो असहजताको स्रोत उसको परिवार, समाज, राष्ट्रको अवस्था, चरित्र, नियत, बाध्यता पनि हुन सक्छ । कतिपय अवस्थामा मानिसको आफ्नै सोच, चाहना र आवश्यकताले पनि त्यो असहज परिस्थिति निर्माण हुन्छ । त्यसकारण मानिसलाई सहजतापूर्वक र आनन्दपूर्वक बाँच्न अत्यन्त कठिन छ भन्ने यथार्थ अभिव्यक्त गर्ने राम्रो सिनेमाले पीडालाई जहिले पनि आफ्नो आवाज बनाइरहन्छ ।
मानवजीवनको यथार्थलाई प्रतिनिधित्व गर्दै राम्रो सिनेमाले मानव समाज अत्यन्त असन्तुलित हुँदै गइरहेको छ भनेर भन्छ । स्रोतसाधन, शक्ति, न्याय, मानवता, समानता, अधिकार, सत्य आदि अत्यन्त असन्तुलित अवस्थामा छन् । एउटा पक्षसँग आधिकारिकता हुनु र अर्को ठूलो पक्षचाहिँ आधिकारिकताबाट विमुख भएर अभावग्रस्त जीवन बाँच्नुको तीतो यथार्थबीच मानव समाज बृहत् असन्तुलनको सिकार भएको छ ।
असन्तुलनले अराजकता निम्त्याउँछ, हिंसालाई प्रश्रय दिन्छ, अभाव र पीडालाई बढाउँछ । जसको आधारमा असत्य, अपराध र अनैतिकताले हरेक ठाउँमा प्रभाव जमाउँछ । राम्रो सिनेमाले असन्तुलनलाई त्यसको उच्चतम क्रियाशीलतामा मानवता निचोरिरहेको यथार्थ बोलिरहँदा मानिस कहिलेकाहीँ निराश हुने अवस्था बन्छ । यसले मानिसको अवधारणाको कमजोर जगलाई हल्लाइदिन्छ । र, मानिसलाई बलियो जग बनाउनतर्फ सोच्न बाध्य बनाउँछ ।
मानिसका आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक, मनोवैज्ञानिक, वैचारिक पक्षबारे मात्र नबोलेर राम्रो सिनेमाले प्रकृति र समग्र अस्तित्वबारे पनि बोल्छ । राम्रो सिनेमा भन्छ– ‘अस्तित्व रहस्यमयी छ । मानिसले त्यो रहस्य बुझ्न सकेको छैन ।’ मानिस समग्र अस्तित्वको एउटा सानो अंश हो र उसको विवेक यसको सम्पूर्णता बुझ्ने यात्रामा धेरै पछाडि छ ।
राम्रो सिनेमाले नराम्रा मानिसका कारण आफ्नो कथ्य हासिल गर्छ । राम्रो मानिसका लागि आधारभूत मानक मानिसले जे बनाएको छ, त्यसमा ऊ स्वयं उत्तीर्ण हुन नसकेको प्रमाण प्रस्तुत गरेर सिनेमाले मानिसलाई गिज्याउँदै छट्पटी गराउँछ, उकुसमुकुस पारिदिन्छ, चिमोट्छ र कहिलेकाहीँ थप्पड हान्छ ।
प्राकृतिक अस्तित्वमा अनन्त कुरा रहस्यमै छन् । मानिस त्यो रहस्यमा कुनै समय विलीन पनि हुन सक्छ । मानिसको प्राकृतिक अस्तित्व कुनै दिन नाश हुन सक्छ । किनकि मानिस आफैँ पनि त्यस्ता क्रियाकलाप गर्दै छ, जसले प्रकृतिलाई असर परिरहेको छ । अर्कोतर्फ प्रकृतिले समय–समयमा त्यस्तो क्रियाकलाप गर्छ, जसले प्राणीहरूको अस्तित्वमा ठूलो प्रभाव पार्छ । अस्तित्वको रहस्य नबुझेका कारण नै मानिस अन्धविश्वासको जालोमा बन्धक बनिरहेको छ । भ्रमहरूमा बाँचिरहेको छ । राम्रो सिनेमाले मानिसलाई यसरी कमजोर धरातलमा भौँतारिरहेको यथार्थ प्रस्तुत गरेर मानिसलाई आफ्नो हैसियत बताउँछ ।
यसरी राम्रो सिनेमाले यथार्थ नलुकाईकन, नढाँटीकन मानिसलाई उसको अगाडि उसको वास्तविक रूप बताइदिन सक्ने हुनाले ती सिनेमालाई मानिसले बिर्सिन चाहेर पनि सक्दैनन् । यी राम्रा सिनेमा मानव यथार्थको यही कुरूपता, कमजोरी, संकट आदि बताएको कारणले मात्र राम्रा भएका होइनन्, पूर्वाग्रही सोच नबोकेका कारण पनि राम्रा भएका हुन् ।
नराम्रा मान्छेबीचबाट राम्रो हुन संघर्ष गर्ने मानिस पनि छन् । दुःखभित्र सुख खोज्ने मानिस पनि छन्, असन्तुलनलाई व्यवस्थापन गरेर सन्तुलन खोज्ने पनि छन् । मानवतालाई दासत्वबाट मुक्त गरी स्वतन्त्रतातर्फ पाइला बढाउन संघर्ष गर्ने मानव पनि अस्तित्वमा छन् । रहस्य खोतल्दै चेतनामा स्पष्टता तथा प्रामाणिकता प्रस्तुत गरी भ्रम र उल्झनबाट मुक्त गर्न प्रयत्न गर्ने साहसी पनि छन् । यिनै कुराले जीवनको समृद्धिको आशा प्रतिनिधित्व गर्छन् । यसर्थ राम्रो सिनेमाले केवल एकपक्षीय कुरा गर्दैन ।
ऊ यो पनि भन्छ कि यी सब डरलाग्दा यथार्थबीच एउटा त्यस्तो संघर्षको अस्तित्व पनि छ, जो टकराइरहेको छ । संघर्षको सामथ्र्य यो यथार्थको सामथ्र्यभन्दा कैयौँ गुणा कम होला, तर उक्त संघर्षको केन्द्रमा उत्प्रेरणाको रूपमा शान्ति, समृद्धि, सामूहिकता, समानता, स्वतन्त्रता, सुख र सत्य छ । एउटा सुन्दर मानव समाज निर्माण गर्ने चाहना छ र त्यही सपना बोकेर कठिनाइ, पीडा, असुरक्षा झेल्दै त्यो क्रूर यथार्थसँग टकराव गरिरहेछ । राम्रो सिनेमाले निराशाभित्रबाट संघर्षको आशा पनि बोल्छ ।
(पण्डितको प्रकाशोन्मुख पुस्तक ‘सिनेमा मन्थन’बाट)