मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नेपाल बैंकको कञ्चनपुर शाखामा चिट्ठाको पैसा निकाल्न आएका खातुन आमा–छोरा बैंकका शाखा प्रबन्धक भुवनेश यादवसँग । तस्बिर : नयाँ पत्रिका
Invalid date format o९:५३:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

२५ लाख भारु चिट्ठा पर्‍यो भन्दै इमोबाट ठगी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:५३:oo

सामाजिक सञ्जाल इमोमार्फत २५ लाख भारतीय रुपैयाँ चिट्ठा पर्‍यो भन्दै करबापत केही पैसा पठाउने नाममा सप्तरीको कञ्चनरूप नगरपालिका–१ बैरवाकी एक महिला ठगिएकी छन् । चिट्ठाको पैसा पठाउनुअघि करबापतको पैसा अग्रिम तिर्नुपर्छ भन्दै ठग समूहले आइसा खातुनबाट ४० हजार रुपैयाँ ठगेको हो ।

‘तपाईंलाई २५ लाख भारुको लट्री परेको छ भन्दै बुधबार बिहान इमोबाट फोन आयो,’ खातुनले भनिन्, ‘इमोमा एउटा भिडियोसमेत आयो, जसमा कार्यालयमा काम गरिरहेको र चेकमार्फत भुक्तानी दिएको देखाइएको थियो ।’ फोनमै खातुनलाई इमोबाट बैंकमा पैसा पठाउने तरिका सिकाइयो । ‘मैले छोरासँग सल्लाह गरेर आइएमईबाट ४० हजार रुपैयाँ पठाएँ । त्यसपछि उताबाट तपाईं आफ्नो बैंकखातामा चेक गर्नुस्, पैसा गइसक्यो भन्ने कल आयो,’ उनले भनिन् ।

त्यसपछि खातुन छोरालाई सँगै लिएर कञ्चनपुर बेरियरस्थित नेपाल बैंकको शाखा कार्यालयमा पुगिन् । पैसा आएको थिएन । उताबाट गिरोहको एक सदस्यले तपाईंको खातामा पैसा गइसकेको छ, ३० हजार थप रकम पठाएपछि बैंकखातामा पैसा देखिन्छ भन्यो ।’ उनीहरू थप पैसा पठाउन खोज्दै थिए । त्यतिवेलै बैंक कर्मचारीले सोधीखोजी गरे । उनीहरूले सबै कुरा भनेपछि मात्र आफूहरू ठगिएको उनीहरूले चाल पाए । 

प्रहरीको बेवास्ता
ठगिएका महिला खातुनले विराटनगरका धर्मवती ठाकुरको नाममा २० हजार र मोरङकै रोहन मण्डललाई १०–१० हजार दुईपटक गरी ४० हजार रकम पठाएका थिए । ठगी गर्ने समूहले मोरङको उर्लाबारीस्थित पूर्वाञ्चल मनी ट्रान्सफर र विराटनगरस्थित एक मनी ट्रान्सफरबाट उक्त रकम झिकेका थिए । रकम झिक्दा नागरिकता प्रतिलिपिबाट सबै कुरा खुल्ने अवस्था छ ।

पीडितले घटनाबारे इलाका प्रहरी कार्यालय कञ्चनपुरमा मौखिक उजुरी गर्दा त्यहाँका डिएसपी नरेशकुमार सिंहले मोरङ जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन भन्दै फर्काएको पीडित खातुनले बताइन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र धमलाले घटनाबारे तत्काल अनुसन्धान गर्न लगाउने बताए ।

तीन महिनामा यो तेस्रो ठगी 
यसअघि सामाजिक सञ्जाल इमोमार्फत २५ लाख भारतीय रुपैयाँ चिट्ठा पर्‍यो भनी नगद ठगी गरेको अभियोगमा सिरहा नगरपालिका–२ बस्ने २४ वर्षीय अरवीन्द्रकुमार कामतीलाई गत २५ असोजमा प्रहरीले पक्राउ गरेको थियो । 

त्यस्तै, चितवन कालिका नगरपालिका–४ बस्ने ४४ वर्षीया महिलाले सोही प्रकृतिको घटनामा ४ असोजमा इलाका प्रहरी कार्यालय टाँडी, चितवनमा उजुरी दिएपछि घटनामा संलग्न दुईजना मोरङबाट पक्राउ परेका थिए । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका वडा–११ बस्ने २७ वर्षीय साहिल हुसेन अन्सारी र वडा नं. ९ बस्ने २७ वर्षीय कामेश्वर स्वर्णकार रहेका थिए । यस्ता घटना बढिरहे पनि लोभमा पर्दा तथा आवश्यक सतर्कता नअपनाउँदा ठगिने क्रम रोखिएको छैन । 

नेपाल बैंकका शाखा प्रबन्धक भुवनेश यादव भन्छन्, ‘बैंकले पनि यस्ता विषयमा समय–समयमा सूचना प्रकाशित गर्छ, तर यो ठगी गर्ने समूह वैदेशिक रोजगारमा गएका परिवारका महिला सदस्यहरूलाई टारगेट गर्ने गरेको देखिन्छ ।’