१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o७:४९:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

भक्तपुर औद्योगिक क्षेत्र उपत्यकाबाहिर स्थानान्तरण गर्न माग

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:४९:oo

औद्योगिक प्रदूषणले जनजीवनमा असर परेको स्थानीयको गुनासो, जनप्रतिनिधिले पनि औद्योगिक क्षेत्र स्थानान्तरण गर्न उद्योग राज्यमन्त्री दुगडलाई गरे अनुरोध

देशका विभिन्न क्षेत्रका बासिन्दा आफ्नो गाउँठाउँमा उद्योगधन्दा स्थापना गर्न माग गरिरहेका छन् । तर, भक्तपुरका बासिन्दाले भने भक्तपुर औद्योगिक क्षेत्रलाई उपत्यकाबाहिर स्थानान्तरण गर्न माग गरेका छन् । औद्योगिक प्रदूषणले जनजीवनमा असर परेको उनीहरूको भनाइ छ । 

भक्तपुर नगरपालिका–२ स्थित औद्योगिक क्षेत्रका कारण आसपासका बस्तीमा प्रदूषण फैलिएको भन्दै स्थानीयले बर्सेनि स्थानान्तरणको माग गर्दै आएका छन् । यसपटक पनि औद्योगिक क्षेत्रको अवलोकनका लागि पुगेका उद्योग राज्यमन्त्री मोतीलाल दुगडसँग औद्योगिक क्षेत्र सार्नुपर्ने माग स्थानीयले दोहोर्‍याएका हुन् । यहाँका उद्योगले प्रदूषण फैलाएको गुनासो आएपछि केही दिनअघि संघीय सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिसहित स्थानीय जनप्रतिनिधिको टोलीले उद्योगको अवस्थाको अनुगमन गरेको थियो । 

अनुगमनपछि जनप्रतिनिधिले उद्योगहरूले ध्वनि र धुवाँ प्रदूषण फैलाएको, कपडा बुन्ने अधिकांश मेसिन बन्द अवस्थामा रहेको र उद्योगको संरचना अस्तव्यस्त रहेको, ध्वनि र धुवाँ प्रदूषण नियन्त्रण हुने कुनै पनि प्रविधि नअपनाएको पाइएको प्रतिवेदन दिएका छन् । सांसद सुवाल र मेयर प्रजापतिसहितको टोलीले राज्यमन्त्री दुगडलाई भेटेर प्रतिवेदनसहित औद्योगिक क्षेत्रमा मनोमानी गर्ने उद्योगलाई कार्बाही र दिगो व्यवस्थापनका लागि आग्रह गरेका थिए । 

बुधबार स्थलगत अवलोकनका लागि औद्योगिक क्षेत्रमा पुगेका राज्यमन्त्री दुगडलाई मेयर प्रजापतिले ध्यानाकर्षण पत्र बुझाउँदै नगरपालिका कार्यालयसँगै रहेको औद्योगिक क्षेत्रका कारण ध्वनि र धुवाँ प्रदूषण भएकाले स्थानान्तरण गर्न माग गरेका छन् । सरकारले आर्थिक वर्ष ०७३/७४ को बजेटमा कार्यगत नीतिका रूपमा काठमाडौं उपत्यकाभित्र रहेका औद्योगिक क्षेत्रलाई उपत्यकाबाहिर स्थानान्तरण गर्ने उल्लेख गरेको थियो । 

उपत्यकामा घना सहरभित्र भक्तपुरसहित बालाजु र पाटन औद्योगिक क्षेत्र सञ्चालित छन् । उद्योग क्षेत्रका बासिन्दाले औद्योगिक क्षेत्रका कारण प्रदूषण बढेको गुनासो गर्दै सार्न माग गरिरहेका छन् । तर, अहिलेसम्म कुनै पनि औद्योगिक क्षेत्रलाई स्थानान्तरण गर्ने काम अघि बढेको छैन । 

औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूको ध्वनि र धुवाँ प्रदूषणले स्थानीय जनस्वास्थ्यमा प्रतिकूल असर पुर्‍याएको भन्दै पटक–पटक जनगुनासो आउने गरेको मेयर प्रजापति बताउँछन् । औद्योगिक क्षेत्रका कारण आसपासका इँताछेँ, खौमा, ब्यासी, भक्तपुर नगरपालिका कार्यालय वरपरका जनतालाई समेत घरमा बस्न नहुने गरी असर पुर्‍याएको उनको भनाइ छ । 

जनप्रतिनिधिले अनुगमनका क्रममा नेपो इन्डस्ट्रिजले स्वचालित टेक्सटाइल मेसिन र डाइङ मेसिन गैरकानुनी ढंगले सञ्चालन गरिरहेको पाइएपछि तत्कालै बन्द गर्न माग गरेका छन् । नगरपालिकाले औद्योगिक व्यवस्थापन कार्यालयले स्थानीय सरकारबाट अनुमति प्राप्त उद्योगहरू मात्र भक्तपुर औद्योगिक क्षेत्रमा सञ्चालन गर्न अनुमति दिनुपर्ने र अनुमति प्राप्त उद्योगले नगरपालिकालाई तोकिएबमोजिम कर तिर्नुपर्नेलगायत माग गरेको छ । 

उद्योग राज्यमन्त्री मोतीलाल दुगडले भक्तपुर औद्योगिक क्षेत्र स्थानान्तरण गर्ने विषयमा उद्योगपति र पीडित जनताको मागअनुरूप सम्बन्धित सरोकारवालासँग छलफल गरी समस्या समाधानतर्फ अग्रसर हुने बताए । ‘मानव बस्ती बीचमा सञ्चालित उद्योग क्षेत्र काठमाडौं उपत्यकाबाहिर स्थानान्तरण गर्ने मन्त्रालयको नीति नै छ, अब मन्त्रालयको संयोजकत्वमा सरोकारवाला पक्षहरू राखेर समिति गठन गर्छौं, समितिले नै प्रक्रिया अघि बढाउँछ,’ उनले भने । 

सांसद प्रेम सुवालले सरकारले आर्थिक वर्ष ०७३/७४ को बजेटमै काठमाडौं उपत्यकाका औद्योगिक क्षेत्रहरू स्थानान्तरण गर्ने घोषणा गरेको भन्दै औद्योगिक क्षेत्रभित्र सञ्चालित नेपो इन्डस्ट्रिजबाट हुने ध्वनि प्रदूषणबाट स्थानीय जनता पीडित भएकाले त्यसलाई स्थानान्तरण गर्नुपर्ने बताए । 

सुरुमा भक्तपुर घरेलु तथा साना उद्योगको नाममा सञ्चालित भक्तपुर औद्योगिक क्षेत्रमा हाल ठुल्ठूला मेसिनहरूबाट अत्यधिक ध्वनि तथा धुवाँलगायत प्रदूषण भइरहेको उनको भनाइ थियो । मेयर प्रजापतिले भने औद्योगिक क्षेत्र सञ्चालित जग्गा नगरपालिकालाई हस्तान्तरण गर्न पनि माग गरे । ‘सरकारले अधिग्रहण गर्दा यहाँ कुटिर र हस्तकला उद्योग थिए, त्यसैले यहाँ स्थानीय सरकारको हक लाग्छ,’ उनले भने । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार भक्तपुर औद्योगिक क्षेत्रभित्र कपडा, छपाइ, दुग्धजन्य, दाना, मसला, खाजानास्ता, पस्मिना, प्लास्टिक, पिठो, सेरामिक्स, चल्ला र हौजियारीलगायत ४० वटा उद्योग सञ्चालित छन् । 

ad
ad