मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ कार्तिक १८ मंगलबार ०८:१६:००
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

बजारविनाको वेब सिरिज

Read Time : > 3 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ कार्तिक १८ मंगलबार ०८:१६:००

कोरोना महामारीले आठ महिनादेखि सिनेमा हल बन्द भएपछि नेपाली चलचित्रकर्मी वेब सिरिज निर्माणमा अग्रसर, तर बजार सानो भएकाले लगानीको जोखिम उच्च

अभिनेत्री नीता ढुंगाना पौराणिक ग्रन्थ ‘श्रीमद्भगवत गीता’मा आधरित वेब सिरिज बनाउन कस्सिएकी छिन् । ४५ शृंखलामा सक्ने योजनामा रहेकी ढुंगाना स्क्रिप्ट लेखनको अन्तिम चरणतिर छिन् । कलाकार छनोटको काम पनि लगभग टुंगिसकेको छ । केही समयपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने योजनामा छिन् उनी । तिहारपछि सुटिङमा जाने योजना बनाइरहेकी ढुंगानाकै भनाइमा यो महत्वाकांक्षी प्रोजेक्ट हो । ठूलो बजेट भएकाले लगानीको जोखिम उस्तै छ । तर पनि सबैले सुनेको, सबैको प्रिय कथा भएकाले दर्शकको माया पाउनेमा भने आशावादी छिन् । 

२५ मिनेट लामो वेब सिरिजलाई साप्ताहिक, दैनिक या कसरी प्रदर्र्शन गर्ने भन्नेबारे नीताले निर्णय लिइसकेकी छैनन् । तर, उनलाई तनाव यस्ता प्राविधिक पाटोलाई लिएर मात्र होइन, ठूलो बजेटमा बन्ने सिरिजलाई कसरी देखाउने ? कहाँबाट प्रदर्शन गर्ने ? कुन प्लेटफर्मबाट गर्दा लगानी सुरक्षित होला ? उनी अहिले यी प्रश्नको उत्तर खोजिरहेकी छिन् । ‘हामीले लगानीका लागि विभिन्न टिभी च्यानललाई भन्यौँ । टिभीले लगानी गर्ला, विज्ञापन पनि आउला भन्ने थियो । तर, यत्रो ठूलो बजेटको सिरिजमा टिभीले मात्र लगानी गर्न नसक्ने कुरा भयो,’ ढुंगाना सुनाउँछिन्, ‘अब के गर्ने भनेर निर्णय लिइसकेका छैनौँ । तर, एउटा एप बनाएर त्यहाँ प्रदर्शन गर्नेबारे पनि सोचिरहेका छौँ । युट्युबको अधिकार त हामीसँगै नै छ ।’ 
                                                                           ०००

वेब सिरिजका लागि डिजिटल प्लेटफर्मबाहेक विकल्प छैन । फेरि अहिले संसारभर वेब सिरिज बनाउने लहरै चलेको छ । हलहरूको सम्भावना र भविष्यबारे बहस पनि भइरहेकै छन् । गत १५ अक्टोबरमा भारतका सिनेमा हलहरू खुले पनि ओटिटी (ओभर द टप) प्लेटफर्मबाट रिलिज भएका चलचित्र हलमा प्रदर्शन हुन पाएनन् । डिजिटल बजार र हलबीचको लडाइँ देखिने गरी सुरु भइसकेको छ । यसबीचमा नेटफ्लिक्स, अमेजन प्राइम, डिज्नी प्लस हटस्टरजस्ता ओटिटी प्लेटफर्म ठूला बजेटमा सुरु भइसकेका छन् । उनीहरूले डिजिटल बजारलाई नै केन्द्रमा राखेर ठूला बजेटका चलचित्र, वेब सिरिज निर्माण गरिरहेका छन् । चलचित्रहरू किनिरहेका छन् । कुशल निर्देशकहरूलाई आफूसँग अनुबन्ध गरिरहेका छन् । 

नेपालमा पनि तत्काल सिनेमा हलहरू खुल्ने सम्भावना देखिएको छैन । त्यसैले चलचित्रकर्मी म्युजिक भिडियो र वेब सिरिजतिर लागेका छन् । तर, बजार ? अहिलेको यक्ष प्रश्न यही नै हो । ओटिटी प्लेटफर्मका लागि नेपालमा भरपर्दो बजार छैन । नेटफ्लिक्सजस्ता ठूला प्लेटफर्मका आँखामा नेपाली बजार परेको छैन । अहिलेसम्म डिजिटल बजार भन्नु नै युट्युब रहेको छ । तर, युट्युबबाटै लगानी उठ्ला भनेर कोही विश्वस्त छैनन् । लगानी उठ्न सक्दैन पनि । 

                                                                             ०००

वेब सिरिजले उठाउने लगानीबारे तीतो अनुभव छ, ‘डियर लभ’का निर्माता रुक्मन लिम्बूको । पहिलो सिजन उनले १० शृंखलाको वेब सिरिज बनाए । प्रदर्शनका लागि आइफ्लिक्स रोजे । पाँच सात महिना आइफ्लिक्समा चल्यो । जहाँबाट ७० हजारको हाराहारीमा पैसा लिए । त्यसपछि फोपी भन्ने एपमा प्रदर्शन गरे । त्यहाँबाट शून्यजस्तै आम्दानी भयो । र, त्यसपछि युट्युबमा प्रदर्शन गरे । तर, यसपछि पनि लगानी उठ्न सकस भयो । ‘मैले पूरा साढे १२ लाख लगानी गरेको थिएँ । विभिन्न प्लेटफर्मममा सार्वजनिक गरियो, तर लगानी उठ्नै सकस भयो,’ लिम्बू भन्छन्, ‘सुरुमै स्पोन्सर बटुल्ने मान्छेलाई सजिलो हुन्छ । हामीजस्तो लगानी गरेरै काम गर्न खोज्नेलाई गाह्रो छ । अहिलेसम्म नेपाली वेब सिरिजले लगानी उठाएको चाहिँ मैले त्यति पाएको छैन ।’ लिम्बूका अनुसार नेपाली वेब सिरिजका निर्मातालाई लगानी उठाउन मात्र गाह्रो होइन, सिरिजमा लगानी गर्न पनि गाह्रो छ । चलेका कलाकारले वेब सिरिजका लागि भन्दा बढी पैसा माग्ने गरेका कारण पनि वेब सिरिज निर्माता आर्थिक बोझमा पर्ने गरेको लिम्बूको अनुभव छ । 

करिब दुई वर्षअघि बलिउड स्टार अक्षय कुमारले अमेजन प्राइमको ‘द इन्ड’ नामक वेब सिरिजका लागि ९० करोड पारिश्रमिक लिएको खबरले चर्चा पाएको थियो । अमेजन प्राइमले त्यति ठूलो रकम अक्षय कुमारका लागि खर्च गर्नुमा ठूलो बजार देखेर पनि हो । तर, यहाँ चल्तीका कलाकारले महँगो पारिश्रमिक माग्नुमा नेपाली बजारलाई राम्रोसँग नबुझी र हलिउड, बलिउडका स्टारले लिएको पारिश्रमिकको समाचारबाट प्रभावित भएकाले मात्र रहेको लिम्बूको विश्लेषण छ । उनी भन्छन्, ‘महँगो पारिश्रमिक माग्नुअघि हाम्रा कलाकारले बजारलाई पनि पहिला बुझ्नुपर्छ ।’

‘बुलबुल’ चलचित्रका अभिनेता मुकुन भुसालले भर्खरै नाम फाइनल भइनसकेको वेब सिरिजको दुई सिजन सकाए । वसन्त निरौलाले निर्देशन गरेको वेब सिरिजमा भुसाल मुख्य भूमिकामा छन् । सिरिज २० देखि २२ मिनेटवरिपरिको छ । अहिले नेपाली चलचित्र क्षेत्रले पनि डिजिटल बजारको खोजी गरिरहेकाले त्यसको परिमाणस्वरूप चलचित्रकर्मीमा वेब सिरिजको अभिरुचि जागेको विश्लेषण गर्छन् भुसाल । 

उनले खेलेको वेब सिरिज निर्माण टिमले प्रदर्शन गर्न डिजिटल प्लेटफर्म खोजिरहेको थियो । अन्तिममा आएर युट्युबमार्फत नै प्रदर्शन गर्ने निक्र्योलमा निर्माण टिम पुगेको बुझिएको छ । तर, युट्युबले मात्र उकास्ला त निर्मातालाई ? यसबारे भुसाल पनि अन्योलमा छन् । ‘यो लकडाउनमा मान्छेहरूले घरमै बसेर ठूला बजेटका वेब सिरिज हेरे । करोडौँ खर्चमा बनेका चलचित्रभन्दा बलियो सिरिजले दर्शकलाई तान्यो । त्यही देखेर हाम्रोमा पनि च्याँखे थापौँ भनेर काम भएको छ,’ भुसाल भन्छन्, ‘तर, यतिले मात्र पुग्दैन, भरपर्दो बजारको खोजी नगर्ने हो भने यो लहर केही समयपछि अफैँ सेलाएर जानेछ ।’

ओटिटीमा नेपाली वेब सिरिजहरू गए पनि झमेलाको लर्को देखिन्छ । दर्शकसँग बैंक खातामै समस्या छ । बजार त यत्तिकै पनि सानो छ । पेमेन्टको हिसाबले उस्तो सिस्टमेटिक छैन । सबै दर्शकमा इन्टरनेटको पहुँच पनि छैन । यस हिसाबले वेब सिरिजमा गरेको लगानी सुरक्षित गर्न गाह्रै हुने भुसालको विश्लेषण छ । भन्छन्, ‘हाम्रोमा जोखिम मोलेर काम गर्ने मान्छे भए पनि डुब्ने खतरा उस्तै देख्छु म ।’

निर्देशक नवल नेपाल अहिले चलचित्रको काम थाती राख्दै टिभी सिरिजमा लागेका छन् । २१ भागको शृंखलामा १५ भागको स्क्रिप्ट तयार गरिसकेका छन् । २० देखि २५ मिनेटमा तयार हुने सिरिजको प्रदर्शनका लागि कुराकानी गरिरहेका छन् । कहाँबाट प्रदर्शन गर्ने भन्ने पक्का भइसकेको छैन । पारिवारिक कथामा आधारित सिरिजमा नेपालले काम गर्न लागेका हुन् । कलाकार फाइनल गर्ने चरणमा रहेका नेपाल तिहारपछि सुटिङमा जाने योजनामा छन् । 

यसका साथै अभिनेता विनय श्रेष्ठ वेब सिरिज ‘लभसूत्र’ बनाइरहेका छन् । यसअघि ‘हाम्रो हाइस्कुल’, ‘ट्वेन्टी फस्ट लभ’ वेब सिरिज प्रदर्शनमा आएका थिए । अहिले धेरै वेब सिरिजको काम भित्रभित्रै भइरहेको विश्लेषण गरिन्छ । चलचित्रकर्मीहरू वेब सिरिजमा काम गर्न लागिपरेका देखिन्छन् । तर, वेब सिरिज कहाँ प्रदर्शन गर्ने ? कसरी गर्ने ? लगानी कसरी सुरक्षित गर्ने ? सबैको तनाव यसैमा देखिन्छ ।