१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख ३० आइतबार १८:१९:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चौरसिया मृत्यु प्रकरण : जाहेरी दर्ताको माग राख्दै प्रदर्शन (फोटोसहित)

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १८:१९:oo

गत बिहीबार शपथग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा परेर मृत्यु भएका विन्दवासनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको घटनामा संलग्नविरुद्ध जाहेरी दर्ताको माग गर्दै प्रदर्शन भएको छ । 

शनिबार बिहान १२ बजेदेखि जिल्ला प्रहरी कार्यालयअगाडि नेकपा पर्साका नेता तथा कार्यकर्ताले घटनामा संलग्नविरुद्ध जाहेरी दर्ताको माग राख्दै प्रहरीविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।  

उनीहरूले घटनामा संलग्न व्यक्तिलाई कर्तव्य ज्यान मुद्दाको जाहेरी दर्ता गर्न माग गर्दै प्रदर्शन गरेको बताए । पर्सा प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गर्न ढिलासुस्ती गरेको भन्दै मृतकका परिवारजनले लास बुझ्न मानेका छैनन् । 

जिल्ला प्रहरी कार्यालयअगाडि प्रदर्शनमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता मातृका यादवले दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी रहने बताए ।  

उनले चौरसियाको घटनामा संलग्नलाई पर्सा प्रहरी बचाउनलाई हालसम्म जाहेरी दर्ता गर्नै नमानेको बताए । प्रतिनिधिसभा सदस्यसमेत रहेका यादवले चौरसियाको घटनामा संलग्नविरुद्ध जाहेरी दर्ता गर्न प्रहरीको माथिल्लो निकायबाट निर्देशन आए पनि पर्सा प्रहरी आलटाल गरिरहेको आरोप लगाए । 

मृतक चौरसियाको घटनामा संलग्नलाई कारबाही गराउन आफू कुनै पनि हालतमा पछाडि नहट्ने स्पष्ट यादवले पारे । 

 

यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेश सहइन्चार्ज नागेन्द्र चौधरीले गाउँपालिकाको शपथग्रहण कार्यक्रममा योजनाबद्ध तरिकाले भएको घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । उनले चौरसियाको घटनामा संलग्नलाई पर्सा प्रहरीले संरक्षण गरिरहेकाले अब सह्य नहुने ठोकुवा गरे । 

प्रदर्शनमा नेकपा केन्द्रीय सदस्य दिनेश राई, गोपाल ठाकुर, पूर्वसांसद बिचारी यादव, प्रदेश सभा सदस्य भरत साह लगायतका नेताहरूले सम्बोधन गरेका थिए । 

झडपमा सहभागी प्रहरी नियन्त्रणमा

शपथग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले आफूलाई सहभागी नगराएको भन्दै झडप गर्ने तीनजनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्ने हनिफ मियाँ, देवा सहनी र सोकदिन गदी रहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । उनले घटनालाई  अनुसन्धान गरी ज्यान मुद्दा दर्ता गर्ने तयारी भइरहेको बताए । 

पार्टीगत विवादमा सहभागी भएर झडप गरेकालाई नियन्त्रणमा लिएको उनले बताए । उनका अनुसार जिल्लाको पार्टीगत विवादमा सहभागी भएको र ठूलो झडप भएकाले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको हो । जिल्लाका विभिन्न कार्यक्रमबारे प्रहरीलाई पूर्वजानकारी नगराइएकाले शपथग्रहण कार्यक्रममा प्रहरी नपुगेको बताए । 

बिहीबार पर्साको विन्दावासनी गाउँपालिका– ५ प्रसौनी भाठामा झडपमा परी घाइते भएका चौरसियाको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।

बिहीबार दिउँसो १२ बजे विन्दवासनी गाउँपालिका शपथग्रहण कार्यक्रममा झडप हुँदा आठजना घाइते भएको थिए । जसमा चारजना उपचार गरी घर फर्केका छन्। मुकेशको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारको क्रममा नै चौरसियाको वीरगन्जको एलएस न्युरो अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो ।

निष्पक्ष छानबिन गर्न युवा संघको माग

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पर्साले पार्टीगत झडपमा परी घाइते भई उपचारको क्रममा मृत्यु भएका पर्साको विन्दवासिनी गाउँपालिकाका नेकपा कमिटी सचिव मुकेश चौरसियाप्रति स्तब्ध भएको जनाएको छ । 

शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै मृतक चौरसियाको चिरशान्तिको कामना गर्दै झडपमा परी घाइते भएकाहरूलाई शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । 

साथै झडपमा परी घाइते र मृतकको छानबिनका लागि उच्चस्तरीय छानबिन गर्नेसमेत माग गरेको छ । पार्टीको शपथग्रहणमा भएको विवादले कसैलाई राजनीतिक प्रतिशोध राखेर नफसाउन र निष्पक्ष छानबिनको माग गरिएको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा राष्ट्रिय युवा संघ नेपाल पर्साका संयोजक महम्मद निजामुद्दिन हवारी, सहसंयोजक ओमप्रकाश गुप्ता, केन्द्रीय सदस्य एवं पर्साका इन्चार्ज विमल पौडेल, केन्द्रीय सदस्य एवं पर्साका सहईन्चार्ज विकाश रौनियारले हस्ताक्षर गरेका छन्। 

चौरसियाको घटनामा संलग्न दोषी उम्कनुहुँदैन 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन अनेरास्ववियु पर्साले गाउँपालिका सचिव चौरसियाको घटनामा संलग्न दोषी उम्कन नदिने जनाएको छ । 

अनेरास्ववियु पर्साका सहसंयोजक मित्रदेव यादवले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै झडपलाई रोक्न पुगेका चौरसियाको कुटपिटबाट मृत्यु भएको जनाएका छन् ।  
 

ad
ad