१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक ८ शनिबार
  • Tuesday, 08 July, 2025
२o७७ कार्तिक ८ शनिबार १४:o४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

हराउन थाले ढिकी र जाँतो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ कार्तिक ८ शनिबार १४:o४:oo

हिमाली जिल्ला ताप्लेजुङका ग्रामीण क्षेत्रमा ढिकी–जाँतो पाउन छाडिएको छ । गाउँगाउँमा बिजुली पुगेसँगै ढिकी–जाँतो देख्न छाडिएको हो ।

ग्रामीण क्षेत्रमा बिजुली र तेलबाट चल्ने नयाँ प्रविधिबाट कुटानी–पिसानी गर्ने मिलहरू भित्रिएपछि गाउँघरमा ढिकी र जाँतो लोप हुँदै गएका हुन् ।  

गाउँमा मट्टीतेलबाट बल्ने टुकी विस्थापित भएका छन् । टुकी विस्थापित भएसँगै अन्न कुटानी–पिसानी गर्ने परम्परागत ढिकी–जाँतोसमेत विस्थापित भएका छन् । 

हिउँदको समयमा ओल्लो घर, पल्लो घर, तल्लो घर, माथ्लो घरका मानिस एकै ठाउँमा भेला भएर पालैपालो एउटै ढिकी–जाँतोमा अन्न कुट्ने गर्दथे । 

तर, अहिले मिलमा अन्न लगेर कुटानी–पिसानी गर्न थालेपछि हिउँदभरि चल्ने ढिकी–जाँतो पूर्ण रूपमा बन्द भएका छन् । धेरै घरमा ढिकी–जाँतो नै राख्न छाडिएको छ । 

फुङलिङ नगरपालिका– ७ निवासी मिरा दाहालको घरमा अहिले ढिकी खुस्काइएको छ । काम नभएपछि खुस्काएर दाउरा बालेको उनले बताइन् । 

विद्युत् र तेलबाट चल्ने मिलले गर्दा गाउँघरमा रहेका अन्न कुट्ने परम्परागत ढिकी र जाँतोको उपयोग हुन छाडेको मैवाखोला गाउँपालिका– १ का जीवन खतिवडाले बताए । 

थोरै अन्न पिस्न घन्टाैँ लगाएर ढिकी–जाँतो गर्नुपर्ने झन्झटको सट्टा सस्तोमै मिलमा अन्न सजिलै छिनमै पिसिदिने भएपछि सहज भएको खतिवडाको भनाइ छ ।

‘केही वर्षअघिसम्म गाउँमा चिउरा, धान, गहुँ, कोदो र पिठोका लागि ढिकी–जाँतो प्रयोग हुन्थ्यो । अहिले परम्परागत साधन थन्किएका फुङलिङ नगरपालिका– ६ कि कौशिला लिम्बूले बताइन् । 

डेढ दशकअघिसम्म आमा–भाउजूहरूले बिहान रातिदेखि घन्टाैँसम्म अन्न कुटानी–पिसानीका लागि ढिकी–जाँतो गर्नुपर्थ्याे, तर मिल आएपछि सजिलो भएको उनको भनाइ छ । 

दुई दशकअघि नै गाउँमा डिजल मिल आएपछि ढिकी–जाँतो प्रयोगमा केही कमी आएको भए पनि सात वर्ष अघिदेखि बिजुली मिल चल्न थालेपछि अहिले ढिकी–जाँतो बेकाम बनेको फुङलिङ नगरपालिका– १ का मिल सञ्चलक किशोर पोख्रेलले बताए । 

‘घरमै बिजुलीबाट चल्ने कुटानी–पिसानी मिल सञ्चालनमा ल्याएको छु, त्यसैले पनि गाउँभरिका ढिकी थान्को लागेका छन्,’ उनले भने, ‘मिलले एकैछिनमा कुटानी–पिसानी हुन्छ, तर ढिकी–जाँतोमा घन्टाैँ लाग्छ, किन चलाइरहनुपऱ्याे ।’

मिलको चलनले ढिकीमा हल्लिरहन पनि नपरेको फुङलिङ नगरपालिकाकी अर्की गृहिणी सूर्यकला बरालले बताइन् । 
विशेषगरी साल, हर्रो, बर्रो, चिलाउने, अमला, धँगेरोको काठबाट ढिकी बनाउने चलन थियो । 

आधुनिक कुटानी–पिसानी मिलले समय र श्रमको बचत हुने भएपछि क्रमिक रूपमा ढिकी र जाँतोको प्रयोग हुन छाडेको हो ।