१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ४ मंगलबार १९:२९:००
Read Time : > 2 मिनेट
फिचर

चन्द्रमामा अब फोर–जी सुविधायुक्त इन्टरनेट

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ४ मंगलबार १९:२९:००

अमेरिकी अन्तरिक्ष वैज्ञानिक नील आर्मस्ट्रङले चन्द्रमामा पहिलो पाइला (पहिलो मानव पाइला) टेकेको इतिहास धेरै पुरानो भइसकेको छ । अपोलो– ११ अन्तरिक्ष यानमा सवार आर्मस्ट्रङले २० जुलाई १९६९ मा चन्द्रमामा पाइला टेकेका थिए । आर्मस्ट्रङको त्यो सफलतापछि विकसित राष्ट्रहरूका वैज्ञानिक हौसिए । उनीहरूले लगातार चन्द्रमामा विभिन्न प्रयोग गर्दै आइरहेका छन् । यस कार्यमा विशेषतः अमेरिकाको अनुसन्धानात्मक संस्था नासा अग्रस्थानमा छ । यही क्रममा नासाले अब चन्द्रमामा फोर–जी सुविधायुक्त इन्टरनेट चलाउन सक्ने जनाएको छ ।

यो ऐतिहासिक अभियानको जिम्मा नासाले मोबाइल कम्पनी नोकियालाई दिएको छ । नोकियासँगको सहकार्यमा नासाले सन् २०२३ सम्ममा चन्द्रमामा पुग्ने वैज्ञानिकहरूले इन्टरनेट चलाउने सक्ने जनाएको छ । यस्तै, नासाले सन् २०२४ सम्ममा सर्वसाधारणले पनि चन्द्रमाको यात्रा गर्न सक्ने योजना सार्वजनिक गरेको छ । यी दुईवटा प्रमुख प्रोजेक्टमा नासाका वैज्ञानिकहरू दिनरात खटिरहेका छन् । चन्द्रमामा सेल्युलर नेटवर्क बनाउने जिम्मा पाएको नोकियाले नासाले भनेकै समयमा काम पूरा गर्ने प्रतिबद्धता जनाएको छ । 
नोकिया कम्पनीका अनुसन्धानकर्ता बेल लेब्सले सोसियल मिडियामा नासा र कम्पनीबीचको सम्झौताबारे जानकारी दिएका छन् । ‘चन्द्रमामा फोर–जी प्रयोग सम्बन्धमा नोकिया र नासाबीच सम्झौता भएको छ, अब चन्द्रमामा रोवर्स र नेभिगेसन वायरलेस हुनेछन्,’ उनले भने, ‘चन्द्रमामा यो वायरलेस जडानपछि भिडियो स्ट्रिमिङ गर्न सहज हुनेछ ।’ 

यस्तो छ नोकियाको योजना
नोकियाले चन्द्रमाको सतहमा सन् २०२२ सम्म अन्तरिक्षमा वायरलेस कम्युनिकेसन सिस्टम जडान गर्ने गरी पहिलो चरणको काम सुरु भएको जनाएको छ । यो योजना पूरा गर्न नोकियाले टेक्सास बेस्ड प्राइभेट स्पेस क्राफ्ट डिजाइन कम्पनीसँग सहकार्य गर्नेछ । नोकियाले स्पेस क्राफ्टको सहयोगबाट इन्टुएटिभ मेसिन निर्माणसम्बन्धी काम अगाडि बढाउनेछ । इन्टुएटिभ मेसिनको सहयोगमा चन्द्रमासम्म आवश्यक पर्ने सबैै डिभाइस तथा सामग्री पु¥याइनेछ । 

स्पेस क्राफ्ट डिजाइन कम्पनीले चन्द्रमासम्म नेटवर्क सिस्टम जोड्ने छ । त्यसपछि नोकियाले चन्द्रमामा फोर–जी कम्युनिकेसन सिस्टम स्थापित गर्नेछ । यो पहिलो प्रोजेक्टमा सफलता मिल्दा नोकियाले चन्द्रमामा फिक्वेन्सी परिवर्तन गरी फोरजीबाट फाइभ–जीसम्म सुविधा दिने योजना बनाएको छ । यसपछि अन्तरिक्ष वैज्ञानिकहरूले चन्द्रमाबाट भिडियो कम्युनिकेसन सहजै गर्न सक्ने नोकियाको दाबी छ । नोकियाले टेली मेट्रो र बायो मेट्रिक डाटा एक्सचेन्जसँगै थप सुधिवा दिनेछ । नोकियाले चन्द्रमामा यी सबै सिस्टम नियन्त्रण गर्न रोबोटिक डिभाइस र रिमोट कन्ट्रोल प्रविधि अपनाउनेछ । 

मुस्किल समयमा नेटवर्कले काम गर्ने
चन्द्रमामा नेटवर्किङ समस्या आउँदा अन्तरिक्षयात्रीले फोर–जी सिस्टमको सहयोग लिन सक्नेछन् । नोकियाकोे फोर–जी सिस्टमले चन्द्रमामा लन्च तथा ल्यान्डिङको वेला आउन सक्ने समस्याको समाधान गर्न पनि मद्दत गर्नेछ । सुरुमा नोकियाले फाइभ–जी नै चन्द्रमामा प्रयोग गर्ने जनाएका थियो । तर, अहिले फोर–जी (एलटिई) नै प्रयोग गर्न उपयुक्त भएको नोकियाको भनाइ छ । 

नोकियालाई १४.१ मिलियन डलर
चन्द्रमामा फोर–जी नेटवर्क स्थापना गर्न नोकियाले नासाबाट १४.१ मिलियन अमेरिकन डलर पाउनेछ । नासाले नोकियालाई यो रकम ‘टिपिङ प्वाइन्ट’ शीर्षकअन्तर्गत उपलब्ध गराउनेछ । दुई पक्षबीच सम्झौता भएपछि फोर–जी प्रोजेक्टको बजेट तीन सय ७० मिलियन डलर हुन आउनेछ । नासाले फोर–जीको सहयोगबाट चन्द्रमामा लामो दूरीसम्म पनि कम्युनिकेसन गर्न सकिने दाबी गरेको छ । 

मोबाइल कम्पनी नोकियाले चन्द्रमामा फोर–जी इन्टरनेट उपलब्ध गराउन लागेको यो पहिलोपटक होइन । यसअघि नोकियाले चन्द्रमामा एलटिई नेटवर्क लन्चको प्रयास गरेको थियो । सन् २०१८ मा नोकियाले जर्मन स्पेस कम्पनी पिटिएस साइन्टिस र भोडाफोन युकेसँगको सहकार्यमा चन्द्रमामा फोर–जी लन्च गर्न खोजेको थियो । त्यो वेला नोकियाले चन्द्रमाको १७ स्थानमा स्टेसन बनाउने तयारी बढाएको थियो । तर, नोकियाको यो योजना पूरा भएन । अब नोकियाले पुरानो गल्ती सच्याएर र सावधानीपूर्वक नासासँगको सहकार्यमा चन्द्रमामा फोर–जी सञ्चालनमा ल्याउने विश्वास गरेको छ । 

नासाको नयाँ योजना 
नासाले सन् २०२४ मा चन्द्रमामा पहिला महिला तथा त्यसपछि पुरुष उतार्ने योजना बनाएको छ । 
यससँगै चन्द्रमाको सहत पत्ता लगाउन नासाका वैज्ञानिकले विभिन्न प्रयोग गरिरहेका छन् । यो दुवै परियोजनाका निमित्त नासाले कमर्सियल तथा अन्तरिक्ष साझेदारी गरेको छ । सो योजनाअनुरूप चन्द्रमामा नयाँ क्षेत्र पत्ता लगाइनेछ । यद्यपि यसअघि चन्द्रमाका धेरै स्थान वैज्ञानिकले पत्ता लगाए पनि आर्टेमिसअन्तर्गत नयाँ खोज नै मुख्य उद्देश्य हो ।
–एजेन्सीको सहयोगमा