१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o८:३९:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

रोकथाम तथा नियन्त्रण प्रणाली कायम राख

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:३९:oo

चिनियाँ जनताका लागि यो संकट एउटा गम्भीर सार्वजनिक स्वास्थ्यको सवाल हो

चीनको पूर्वी प्रान्त झेजियाङका यिवुलगायतका सहरमा उच्च जोखिमयुक्त समूहलाई प्राथमिकतामा राखेर कोभिड–१९ विरुद्ध विकसित खोपहरू फराकिलो दायरामा उपलब्ध गराउँदै लगिएको छ । तर, यसलाई झेजियाङले पूरै प्रान्तका नागरिकलाई खोप लगाइसकेको अर्थमा भने लिन सकिँदैन । यसो गर्ने झेजियाङ चीनको पहिलो प्रान्त हो । तर, के चाहिँ सत्य हो भने खोपको अनुसन्धान तथा विकासले चीनमा आशातीत प्रगति हासिल गरेको छ र झेजियाङ यो मोर्चामा अगाडि देखिएको छ । पश्चिमले चीनको खोप विकासलाई भूराजनीतिक दृष्टिकोणबाट हेर्छ । पहिले तिनले चीनको कथित मास्क डिप्लोमेसीको रटान लगाए, अब अहिले उनीहरू ‘भ्याक्सिन डिप्लोमेसी’बारे कुरा गर्दै छन् । यी व्याख्यानले उनीहरूको मनोविज्ञानको उजागर गर्छ । उनीहरूका लागि कोभिड–१९ सँगको लडाइँ सबैभन्दा पहिले एउटा प्रतिस्पर्धा हो र त्यसमा पनि भूराजनीतिक प्रतिस्पर्धा हो ।

चीनले त सार्वजनिक रूपमै भनिसकेको छ– चीनमा खोप बन्यो भने त्यो विश्वको जुनसुकै मुलुकले प्रयोग गर्न सक्ने सार्वभौम वस्तु हुनेछ । चीनले विकास गरिरहेको खोपको कुनै राजनीतिक महत्व छ भने त्यो खोपलाई अन्य मुलुकमाथि हावी हुने र फाइदा लिन औजारका रूपमा प्रयोग गर्ने अमेरिकी प्रयासलाई प्रभावित गर्नमा छ । चिनियाँ खोपले मानवको साझा हितको सुरक्षा गर्नेछ । चीनका लागि, महाव्याधिसँगको यो लडाइँ सार्वजनिक स्वास्थ्यको मामला हो र यो कहिल्यै पनि अन्तर्राष्ट्रिय राजनीतिको मुद्दा हुनुहुँदैन । तर, अमेरिकाले कोभिड–१९ को लडाइँलाई राजनीतीकरण गरिरहेको छ र अन्तर्राष्ट्रिय समुदायलाई यसमा विभाजित गरिरहेको छ । जबकि, ऊ अन्य मुलुकसँग एकाकार हुँदै भाइरसविरुद्ध लड्नुपर्ने हो । हामी अमेरिका कोभिडसँगको लडाइँमा केन्द्रित नभएको बरु मानव समुदायलाई भाँड्न उद्यत् रहेको देखेर अचम्मित छौँ । हामीलाई अमेरिकाको राजनीतिक प्रणालीमा उत्तरदायित्व घटाउने यत्रो विघ्न आवश्यकता किन परेको बुझ्न गाह्रो परेको छ । 

के चाहिँ हो भने पुँजीवादी मुलुकमा सार्वजनिक विषयमा पनि मुनाफाको हिसाबकिताब हुन्छ । यो उनीहरूको प्रणालीको आदत नै हो । खोपको तत्काल आवश्यकता अमेरिकालाई जति चीनलाई होइन । किनकि, चिनियाँ समाज यो महाव्याधि नियन्त्रणमा प्रभावकारी र धेरै हदसम्म सफल छ । सर्वसाधारणका लागि खोप उपलब्ध भयो भने पनि अहिले अधिकांश चिनियाँ खोप लगाउन हिचकिचाउनेछन्, किनभने वास्तविक जीवनमा उनीहरू कोरोना भाइरसभन्दा निकै टाढा छन् । साथै, भर्खरै विकसित नयाँ खोप लाउनुभन्दा बाहिरफेर भीडभाडयुक्त स्थानमा मास्क लगाउनुलाई नै अधिक फाइदाजनक ठान्छन् । त्यसो त चीन यो व्याधिको सुरुआती चरणमै जनधनको खती व्यहोरेको मुलुक हो । यसको जनसंख्या, व्यापार र अन्य अन्तर्राष्ट्रिय सम्बन्ध पनि विशाल नै छन् । यसर्थ, प्रभावकारी खोपको रक्षाकवचविना दीर्घकालीन रूपले यो मुलुक पूर्णतः असुरक्षित रहनेछ । खोप विकासमा चीनले विश्वको जुन नेतृत्व गरिरहेको छ, त्यसले विश्वलाई मात्रै लाभान्वित बनाउँदैन, आफ्ना नागरिकको सुरक्षा र स्वास्थ्य सुदृढ गर्न पनि सघाउँछ । 

हामी यसमा कडा मिहिनेत गरिरहेका छौँ । अमेरिकाले नै खोप विकासमा सफलता हासिल गर्‍यो भने पनि हामी ईष्र्या गर्नेछैनौँ, अमेरिकालाई अनुचित फाइदा लिने मनसाय राखेको आरोप पनि लगाउनेछैनौँ । दीर्घकालीन रूपमा कोभिडको खोपले यस्तो भाइरसको सामना गर्नेछ, जुन निकै जब्बर हुनेछ । विश्वभर हर्ड इम्युनिटी प्राप्त गर्नु निकै कठिन छ । तर, भरोसायोग्य खोपले भाइरससँगको यो लडाइँ जित्नेछ । मानवीयताको प्रभावकारितामा वृद्धि गर्न सहयोग गर्नेछ । यस प्रक्रियामा अधिकांश मुलुक आ–आफ्नै ढंगले एक्लाएक्लै लडिरहेका छन्, एकताबद्ध मोर्चा खडा गर्न असफल छन् । यसले भाइरसविरुद्धको लडाइँलाई कमजोर बनाइरहेको छ । यसो हुँदा मानवमा क्रस इन्फेक्सनले भाइरसमा विविधता बढाउने र खोपले पनि भाइरसलाई पूर्णतः निर्मूल पार्न कठिन बनाउन सक्छ । यस परिप्रेक्षमा चीनले भाइरसको प्रसार रोक्न अत्यन्त प्रभावकारी सिद्ध आफ्नो घरेलु परिचालन कायम राखिराख्नुपर्छ । वर्तमान रोकथाम तथा नियन्त्रण प्रणालीलाई खोप विकासमा प्रगतिका बाबजुद कदापि शिथिल बनाइनु हुँदैन । 

केही मुलुक कोभिडका कारण झन्डै तहसनहस भएका छन् । यसैले अब खोप नै उनीहरूको एक मात्र आशा हो । यस मामलामा चीनले दोहोरो सुनिश्चितताको रणनीति अवलम्बन गर्नुपर्छ । मौजुदा रोकथाम प्रणालीबाट भाइरसलाई नियन्त्रणमा राख्ने र खोपद्वारा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीमा संक्रमणको जोखिम थप घटाउँदै लाने । यसो गर्दा चीन विश्वमा सबभन्दा सुरक्षित मुलुक हुन सक्छ । कोभिडसँगको लडाइँमा व्यापक सफलताले चिनियाँ जनताको विश्वास बढाएको छ । अधिकांश चिनियाँ यो संकटको सवालमा सरकारको मार्गनिर्देशन पछ्याउन सधैँ उत्सुक छन् । किनकि, चिनियाँ जनताका लागि यो संकट अरू कुनै थोकभन्दा पनि एउटा गम्भीर सार्वजनिक स्वास्थ्यको सवाल हो । 
(ग्लोबल टाइम्सको सम्पादकीयबाट)
 

ad
ad