१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
अजित अधिकारी काठमाडौं
२o८१ जेठ १ मंगलबार २२:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ

भैरहवाको पेट्रोलपम्प परिसरमा १२ हजार लिटर पेट्रोल बोकेको ट्यांकरमा आगलागी 

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार २२:२६:oo

रुपन्देहीको भैरहवास्थित अञ्चलपुरमा रहेको एभरेष्ट फ्युल सेन्टरमा सोमबार राति ९ बजे आगलागी भएको छ । आयल निगमको ५ नम्बर प्रादेशिक कार्यालय, भैरहवाबाट २० हजार लिटर पेट्रोल बोकेर गएको लु.२ख १५४१ नम्बरको ट्यांकरबाट पेट्रोल खन्याउन लाग्दा आगजनी भएको हो । आगजनीको कारण पत्ता  लागिसकेको छैन ।

निगमको भैरहवास्थित प्रादेशिक कार्यालयका प्रमुख प्रलयंकर आचार्यका अनुसार ट्यांकरका चालक र सहचालक फरार रहेकाले घटनाबारे थप जानकारी आएको छैन । ‘२० हजार लिटर पेट्रोलमध्ये आठ हजार लिटर पेट्रोल अन्य दुई पम्पमा खसालेको थियो । त्यसपछि एभरेष्ट फ्युल सेन्टरमा तेल अनलोडिङ गर्न आएको ट्यांकरमा एकाएक आगलागी भएको छ,’ उनले भने । आगलागीबाट ट्यांकर पूरै जलेको छ भने कुनै मानवीय क्षति भने भएको छैन । ट्यांकरमा रहेको १२ हजार लिटर पेट्रोल जल्दा सो क्षेत्रमा ठूलो आगोको मुस्लो निस्केको थियो ।
आगलागी हुनासाथ बुटवल र भैरहवा नगरपालिकाबाट दमकल पुगेका थिए । तर, पेट्रोलियम पदार्थमा लागेको आगो निभाउन पानीको फोहोरा फाल्ने दमकल प्रभावकारी मानिँदैन । आयल निगमले केही दिनअघि मात्र खरिद गरेको अक्वाइस फिल्म पार्मिङ फर्म (एथ्रीएफ) दमकल पुगेर आगो नियन्त्रण गर्न सघाउ पुऱ्याएको थियो ।

आचार्यका अनुसार केमिकलसहित मिसाइएको फर्म फाल्ने दमकल आइतबार मात्रै भैरहवा कार्यालय पुगेको थियो । ‘आइतबार दमकल आएकाले हामीले पानीसमेत नराखी त्यसै राखेका थियौँ, तर सोमबार राति एकाएक आगो लागेपछि हामीले दमकलमा पानी हालेर तुरुन्तै आगो निभाउन यहाँ ल्याएका थियौँ,’ उनले भने । आगलागी भएको क्षेत्र निगमको प्रादेशिक कार्यालयबाट करिब नाै किलोमटिरको दूरीमा छ ।

आयल निगमको उपनिर्देशक मनोज ठाकुरका अनुसार यस्तो दमकलले आगो लागेको ठाउँमा फर्मको लप्को फाल्ने गर्छ । ‘दमकलमा पानी भरेपछि त्यहाँ रहेको केमिकल मिसिएर फिँज बन्छ र आगोको मुस्लोमा त्यही फिँज जाने गर्छ,’ उनले भने, ‘यो फिँजले आगलागी भएको क्षेत्रमा अक्सिजन आउन दिँदैन र चाँडै आगो नियन्त्रण गर्न सघाउ पुग्छ ।’

दुई नगरपालिका र आयल निगमको दमकल परिचालन गरेर आगो करिब आधा घन्टामै नियन्त्रणमा ल्याइएको निगमको प्रादेशिक प्रमुख आचार्यले बताए । पम्प यार्डमै ट्यांकरमा आगजनी भएको थियो । आगो चाँडै नियन्त्रणमा आएकाले पम्पको अन्डरट्यांकी र डिस्पेन्सिङ मेसिनमा आगोले भेट्टाउन पाएन । ‘पम्पमा आगोले भेट्न पाएको भए ठूलो क्षति हुने थियो,’ उनले भने ।

पेट्रोलियम आगजनी नियन्त्रण गर्न ६ नयाँ दमकल खरिद
आयल निगमका उपनिर्देशक मनोज ठाकुरका अनुसार पेट्रोलियम तथा ग्यासबाट लागेको आगो निभाउन पानी प्रयोग गर्नुहुँदैन । ‘पेट्रोलियममा लागेको आगो चाँडो फैलन्छ । पानी हाल्यो भने अक्सिजनका कारण झन् फैलन्छ र चाँडो नियन्त्रणमा आउँदैन,’ उनले भने, ‘त्यसैले विश्वभर फर्म फाल्ने दमकल नै प्रयोग हुने गरेको छ ।’

आयल निगमले भने पेट्रोलियम क्षेत्रमा हुने आगलागी रोक्न केही दिनअघि मात्र ६ वटा फर्म फाल्ने दमकल खरिद गरेको छ । निगमको २ नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्जमा एउटा मात्र  फर्म फाल्ने दमकल थियो । अहिले ६ वटा किनेर सबै प्रादेशिक कार्यलयमा एक–एकवटा फर्म फाल्ने दमकल राखिएको छ ।

नयाँ किनिएको दमकल आइतबार मात्रै भैरहवा पठाइएको थियो । सो दमकल पुग्न केही दिन ढिला भएको भए सोमबार भएको आगलागीले ठूलो क्षति गर्न सक्ने खतरा रहेको निगम अधिकारीहरूको दाबी छ ।

ad
ad