मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ कार्तिक ३ सोमबार २०:१९:००
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरी सहायक निरीक्षक विकको सम्मानका साथ अन्त्येष्टि

Read Time : > 3 मिनेट
२०७७ कार्तिक ३ सोमबार २०:१९:००

गस्तीमा रहेका वेला अज्ञात समूहले हत्या गरेका प्रहरी सहायक निरीक्षक गोविन्द विकको अन्त्येष्टि गरिएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित दोदा नदीमा अन्त्येष्टि गरिएको हो ।

सुदूरपश्चिम प्रदेश प्रमुख डिआइजी उत्तमराज सुवेदीले विकको शवमा राष्ट्रिय झण्डा ओढाएका थिए । अन्त्येष्टिमा उच्च प्रहरी अधिकृतहरु, विकका आफन्त, स्थानीय बासिन्दालगायतको उपस्थिति थियो । 

ठूलो संख्यामा स्थानीय बासिन्दा शवयात्रामा सहभागी भएका थिए । हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गोविन्दका आफन्तले सोमबार दिउँसो धनगढीमा प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएका थिए । धनगढी उपमहानगरपालिका– १२, जुगेडास्थित अस्थायी प्रहरी पोस्टका इन्चार्ज विकको शनिबार राति गस्तीमा गएका वेला हत्या भएको थियो । उनीसँगै गएका प्रहरी जवान रामबहादुर साउदको अवस्था अज्ञात छ । 

प्रहरी निरीक्षकको तयारी गर्दै थिए गोविन्द
तीन वर्षअघि प्रहरी सहायक निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका विक प्रहरी निरीक्षकको तयारीमा थिए । ‘इन्स्पेक्टरको तयारी गर्दै छु, लिखित परीक्षा दिनुपर्छ भन्दै थियो,’ मृतकका दाइ रमेशले भने, ‘निकै मिहिनेती र लगनशील थियो ।’ तस्करी नियन्त्रणमा कडाइ गर्दा भाइको हत्या भएको रमेशको बुझाइ छ । 

विपन्न दलित परिवारका गोविन्द आफ्नै बलबुताले प्रहरी सेवामा प्रवेश गरेका थिए । ‘हाम्रो पहुँच थिएन, भनसुन गरिदिने कोही थिएन । जे जति प्रगति गऱ्याे उसले आफ्नै मिहिनेतले गरेको थियो,’ रमेशले भने, ‘हाम्रो परिवारको आशाभरोसा उही थियो ।’ 

साताअघि मात्रै भाइसँग फोनमा पारिवारिक कुराकानी भएको उनले बताए । आफन्तका अनुसार गाउँकै विद्यालयबाट एसएलसी पास गरेका उनले कैलाली बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेका थिए ।

गोविन्द नौ वर्षको हुँदा उनका बुबा बितेका थिए । सहारा केही थिएन, बुबा बितेपछि परिवारको पालनपोषणको अभिभारा आमा कलावतीको काँधमा आयो । सम्पत्तिका नाममा ओत लाग्ने सानो झुपडी थियो । कमाइ खान जमिन थिएन । आफ्ना सन्तानलाई हुर्काउन कलावतीले निकै हण्डर खाइन । तैपनि छोराछोरीलाई पढाएर ठूलो मान्छे बनाउने उनको सपना थियो । दाइभाइले पढाइमा धेरै रुचि देखाएनन् । दाइ खेती–किसानीमा जुटे । कान्छो भाइले पनि एसएलएसी दिएपछि पढाइ छोडे । दिदीको विवाह भयो । 

तर, गोविन्दले पढाइ छोडेनन् । स्थानीय बागेश्वरी माविबाट एसएलसी पास गरे । थप अध्ययनका लागि धनगढी आए । धनगढी डेरा गरेर पढाउन सक्ने आर्थिक हैसियत थिएन । तैपनि छोरालाई पढाएर ठूलो बनाउने सपना पूरा गर्न उनले रातदिन मजदुरी गरिन् । तीन वर्षअघि आमा कलावतीको सपना पूरा भयो । गोविन्दले नेपाल प्रहरीमा प्रहरी सहायक निरिक्षकमा नाम निकाले । त्यो दिन कलावतीका लागि मात्र नभएर उनको समुदायकै लागि ठूलो खुसीको दिन थियो । 

कलावतीको छोरा ठूलो भएको हेर्ने सपना भने धेरै समय टिकेन ।  धनगढी उपमहानगरपालिका– १२, जुगेडास्थित अस्थायी प्रहरी पोस्टका इन्चार्ज विक गस्तीका क्रममा शनिबार तस्करको ‘ट्रयाप’मा परे । धारिलो हतियार प्रहार गरेर उनको बीभत्स हत्या भयो । धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा धनगढी–१०, वनकट्टीघाटस्थित नेपाल–भारत सिमानामा बग्ने मोहना नदीमा उनको शव फेला पऱ्याे । उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउदको अवस्था अज्ञात छ । तस्करी गर्ने समूहले विकको हत्या गरेको प्रहरीको निष्कर्ष छ । 

परिवारको मुख्य भरोसा भएका व्यक्तिको हत्या भएपछि १२ जनाको उनको परिवार संकटमा परेको छ । उनका नाबालिका दुई छोरी र श्रीमती छन् । दाइ रमेश अहिले पनि गाउँमा अधियाँमा खेती गर्छन् । ‘परिवारको आशाभरोसा उही थियो । आम्दानीको अन्य स्रोत नभएकाले सबै उसैको कमाइमा आश्रित थियौँ,’ रमेशले भने, ‘पापीहरूले भाइलाई मारे ।’
    
जिल्ला प्रहरी कार्यालयका अनुसार घटना हुनुभन्दा दुई दिनअघि मात्र विकले त्यही नाकामा स्थानीय व्यक्तिहरूबाट अवैध रूपमा भित्र्याइँदै गरेको सामान बरामद गरेका थिए । उनले त्यहाँ खटिएदेखि नै नाकामा कडाइ गरेका थिए । सीमामा कडाइ गरिएपछि वर्षौँदेखि निर्वाध रूपमा तस्करी गर्नेहरूका लागि अवरोध बनेकाले उनी तस्करको निशानामा परेको स्थानीय बताउँछन् । उक्त क्षेत्र तस्करीको ट्रान्जिट प्वाइन्ट मानिन्छ ।
    
शनिबार राति विक आफैँ त्यहाँ गए वा तस्करहरूले झुक्याएर बोलाएर हत्या गरे खुल्न बाँकी रहेको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ । स्थानीय बासिन्दाले असइ विकलाई राति ठूलो मात्रामा तस्करीको सामान भित्रिँदै गरेको सुराकी दिई झुक्याएर बोलाई तस्करहरूले एम्बुसमा पारेको हुन सक्ने अनुमान गरेका छन् । प्रहरीले घटनामा संलग्न भएको आशंकामा ११ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
    
‘तस्करलाई नै एम्बुसमा पार्ने तयारीका साथ त्यहाँ गएको देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘उनी साथमा हतियार, स्लिपिङ ब्याग र त्यहाँको भूगोल र वस्तुस्थितिबारे रामैसँग जानकारी भएका प्रहरी जवान साउदलाई लिएर जानुले पनि त्यो कुराको पुष्टि हुन्छ ।’ विकको शवको प्रकृति र शरीरमा देखिएका चोटहरूले भने उनीमाथि पछाडिबाट आक्रमण भएको देखिएको प्रहरीको भनाइ छ ।
    
काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि घटनाको अनुसन्धानका लागि खटिएको छ । अछामको जयगढ घर भएका प्रहरी जवान साउदको अवस्था अज्ञात रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले बताए । इन्चार्ज विक तीन महिनादेखि र साउद ०७५ असारदेखि त्यहाँ कार्यरत थिए । बेपत्ता प्रहरी जवान साउदको खोजीका लागि पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । उनको पनि हत्या गरेर नदीमा फालिएको आशंकमा मोहना नदीमा खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोली खटिएको छ । प्रहरी स्रोतका अनुसार प्रहरीको क्षेत्रीय अनुसन्धान ब्युरो, राष्ट्रिय अनुसन्धान, सशस्त्र प्रहरी र नेपाल प्रहरीसमेत गरी सयजनाभन्दा बढी प्रहरी खटिएका छन् ।