मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक २ आइतबार ०८:५१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

१७ पटक भारतीय सैनिकमा असफल बुकबहादुर बने नमुना कृषक

Read Time : < 1 मिनेट
२०७७ कार्तिक २ आइतबार ०८:५१:००

भिरालो जग्गा, लस्करै प्लास्टिक घर, लटरम्म फलेका गोलभेँडा, खरबुजा, कागती, अलैँची, सुन्तला, काँक्रा, खुर्सानीलगायतका फलफूल तथा तरकारी । उत्तरी धादिङमा रहेको नेत्रावती गाउँपालिका–३ सेमजोङ गैराका बुकबहादुर गुरुङको कृषि फर्मको दृश्य हो यो । भारतीय सैनिकमा भर्ती हुन १७ पटकसम्म असफल भएपछि कृषि कर्ममा लागेका उनी अहिले सबैका लागि प्रेरणाका स्रोत बनेका छन् । 

वर्षाैँदेखि बस्दै आएको घर भूकम्पले भत्काएपछि ओत लाग्ने छानो र दुई छाकको मानो जोहो गर्न गाउँघरमै कृषि पेसा अँगालेको गुरुङ बताउँछन् । ‘जागिरको सिलसिलामा देश–विदेश पुगेँ । नेपाल र भारतका विभिन्न ठाउँमा कृषि फर्म हेरेपछि नेपालमै सुन फल्ने थाहा पाएँ । गाउँ फर्किएर ग्रिन जोन कृषि फर्म दर्ता गरी २०७२ सालमा १ लाख ५० हजार लगानीबाट कृषि कर्म सुरु गरेँ,’ उनले भने, ‘त्यतिवेला टनेल, बिउबिजनका लागि खर्च भयो । तर, अहिले फाइदैफाइदा छ । २२ रोपनी जग्गामा १२ वटा प्लास्टिक घर बनाएर गोलभेँडा खेती गरेको छु ।’ 

चारजना कामदार, वार्षिक पाँच लाख आम्दानी
वर्षाैँसम्म जागिर खोज्दै भौँतारिएका बुकबहादुरले आफ्नै कृषि फर्ममा चारजनालाई रोजगारी दिएका छन् । उनले भने, ‘गाउँघरमै रहेको रोजगारी ढिलै भए पनि चिनेकोमा खुसी लागेको छ । कृषिप्रधान देश, खेतीयोग्य जमिन, उस्तै प्रकृति हाम्रा लागि वरदान हुन् ।

आफ्नै खेतबारीमा सुन फलाइरहेको छु । कर्मचारीलाई तलब, खानपिन, घरखर्चजस्ता सबै खर्च कटाएर वार्षिक पाँच लाखभन्दा बढी आम्दानी हुने गरेको उनले बताए । उनले थपे, ‘अहिले त खर्च खासै हुँदैन, आम्दानी राम्रो छ । कामदारलाई प्रतिदिन ७ सयका दरले दिने गरेको छु ।’

अर्गानिक उत्पादन भएका कारण उनको उत्पादन गाउँघरमै ठूलो मात्रामा बिक्री हुन्छ । फर्ममा उत्पादन भएको तरकारी धादिङ र नुवाकोटका विभिन्न स्थानमा बिक्री हुने गरेको उनले बताए ।