मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहनदास नैमिसराय
२०७७ कार्तिक २ आइतबार ०८:४१:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सक्रिय राजनीतिज्ञको विरोधाभास

Read Time : > 3 मिनेट
मोहनदास नैमिसराय
२०७७ कार्तिक २ आइतबार ०८:४१:००

प्रत्येक चुनावी नारा फगत नारा मात्रै हुने गर्छन्, कुनै अँध्यारो घरमा दियो बल्यो कि बलेन, त्यो बेग्लै कुरा हो

रामविलास पासवान बिहारको त्यस्तो पृष्ठभूमिबाट आएका नेता हुन्, जहाँ सामन्तवाद आफ्नो क्रूर रूपमा विद्यमान छ । सम्भवतः स्वतन्त्रतापछि जात व्यवस्थाको माखेसाङ्लोमा मानिस सबैभन्दा धेरै अल्झिएका छन् । मुक्तिका प्रयास नभएका होइनन्, तर ती सफल भएनन् । यसको सबैभन्दा ठूलो कारण अधिकांश नेतामा गान्धीको अतिरिक्त छाप पर्नु हो, जसमा दलित नेता पनि थिए । हरिजन शब्दको प्रयोग खुलेर हुने गथ्र्यो । त्यसको एउटा महत्वपूर्ण कारक बाबु जगजीवन राम पनि थिए । जगजीवनको अम्बेडकरसँग प्रतिस्पर्धा थियो भने गान्धीसँग निकटता थियो । प्रारम्भिक दिनहरूमा पासवान पनि हरिजन शब्दको प्रयोग गर्ने गर्थे, तर पछि अम्बेडकरवादी साथीहरूसँग नजिक भएपछि उनले दलित शब्दको प्रयोग गर्न थाले । एवं रीतले उनी अम्बेडकरको नजिक र गान्धीदेखि पर हुँदै गए । 

यो नै उनको राजनीतिक परिपक्वता थियो । ढिला भए पनि उनी अम्बेकरबाट प्रभावित भए । दलित राजनीतिमा यो उनका लागि एकातर्फ प्रेरक कुरा थियो भने अर्कोतर्फ यसले उनलाई दलित नेताका रूपमा उभ्याउन ठूलो भूमिका खेलेको थियो । दलित राजनीतिमा बिपी मौर्य, काशीरामदेखि जगजीवन रामसम्म अस्ताउन लागेका नेता थिए भने पासवान उदाउँदै गरेका थिए । त्यसका साथै दलित समुदायका मानिस परिवर्तन चाहन्थे । उनी पुरानोसँग आजित भइसकेका थिए र अम्बेडकरवादी नयाँ नेतृत्वलाई आन्दोलन सुम्पन चाहन्थे । पासवानको जन्म सन् १९४६ मा बिहारको दलित परिवारमा भएको थियो ।

उनले स्नातकोत्तरसँगै एलएलबी पनि गरेका थिए । उच्च शिक्षासँगै दागविहीन छविका साथ उनले आफ्नो जीवनलाई राजनीतिमा होम्ने निर्णय लिए । पासवानको राजनीतिक उतारचढावको कुरा गर्ने हो भने उनले संयुक्त सोसलिस्ट पार्टीबाट राजनीतिमा पहिलो पाइला चाले । सन् १९६९ मा बिहार विधानसभामा यसै पार्टीको झन्डाअन्तर्गत निर्वाचित भएर आए । त्यसपछि उनले पछाडि फर्किएर हेर्नुपरेन । त्यसको धेरै पछि मात्र त्यो ठाउँबाट जित्ने व्यक्तिमा जनता दल युनाइटेडका रामसुन्दर दास थिए । उनी पूर्वमुख्यमन्त्री थिए । रामसुन्दर दास पनि दलित थिए । पासवानको राजनीतिको सुरुवाती दिनको कुरा गर्ने हो भने त्यो समय उनका लागि मात्र होइन कि उत्तर भारतको दलित आन्दोलनका लागि पनि सुनौलो युग थियो । तिनताका ब्राह्मणवादको जग हल्लिन लागेको थियो । डा. अम्बेडकरलाई मानिसले पढ्न र बुझ्न थालेका थिए । राजनीतिमा अम्बेडकर र लोहियाका सपना पूरा गरिनुपर्छ भन्ने अभियान पनि सुरु भइसकेको थियो । 

तिनताका ब्राह्मणवादको जग हल्लिन लागेको थियो । डा. अम्बेडकरलाई मानिसले पढ्न र बुझ्न थालेका थिए । राजनीतिमा अम्बेडकर र लोहियाका सपना पूरा गरिनुपर्छ भन्ने अभियान पनि सुरु भइसकेको थियो ।

प्रारम्भिक दिनमा रामविलाससँग प्रायजसो मेरो भेट सुरेन्द्र मोहनको निवास बिपी हाउसमा अथवा उनको घरमा हुने गथ्र्यो । त्यतिवेला उनको बसोवास साउथ एभेन्युमा थियो । सन् १९७७ मा पासवान जनता पार्टीका तर्फबाट हाजिपुर निर्वाचन क्षेत्रबाट पहिलोपटक निर्वाचित भएर आएका थिए । यो निर्वाचनमा उनले निकै धेरै मत ल्याएका थिए, जुन वल्र्ड रेकर्डमा दर्ज हुन पुग्यो । राजनीतिमा उनको यो शक्तिशाली प्रवेश थियो । त्यस्तो प्रवेश, जसबाट राजनीतिक पण्डित पनि एकचोटि आताल्लिए । अर्कोतर्फ दलित समुदायले आफूहरूको मुक्तिदाता फेला पारेको ठाने । उनले ‘न्याय चक्र’ नामको मासिक पत्रिका पनि सुरु गरे, जसको सम्पादक गुरवचन थिए । पछि दुई वर्षजति मैले पनि त्यसमा सम्पादकको रूपमा भूमिका निर्वाह गरेँ । त्यसैले प्रायजसो जनपथस्थित उनको निवासमा आउने–जाने भइराख्थ्यो । ‘न्याय चक्र’ मूल रूपमा आन्दोलनको पत्रिका थियो। 

सन् १९८९ मा पहिलोपटक उनी केन्द्रीय मन्त्री बने । समाज कल्याणका साथसाथै उनी श्रममन्त्री पनि बने । त्यतिवेला बिपी सिंह प्रधानमन्त्री थिए । डा. अम्बेडकर जन्मशताब्दी समारोह समितिको गठन हुँदै थियो र दलित नेताहरूमा रामविलास पासवान शीर्षमा थिए । उनलाई मैले एउटा कार्यकर्ताका रूपमा, नेताका रूपमा र मन्त्रीका रूपमा पनि नियालेको छु । त्यतिवेला उनी तीनवटा भूमिका निर्वाह गरिरहेका थिए । तर, मन्त्री पद उनीमाथि हावी हुँदै गइरहेको थियो । पुराना साथीभाइ छुट्दै गइरहेका थिए र नयाँ जोडिँदै थिए । यस्तो झन्डै सबैसँग हुन्छ । पासवान त्यसमा अपवाद थिएनन् । निकै धेरै मान्छे उनलाई भेट्न आउने गर्थे, जसमा साधारणदेखि खास दुवै हुन्थे ।

मलाई सम्झना छ, त्यति नै वेला लोकसभाको निर्वाचन जितेर फुलनदेवी पासवानलाई भेट्न आएकी थिइन् । पासवानको एउटा निकै सटिक चुनावी नारा थियो– ‘जुन घरमा अँध्यारो छ, म त्यसै घरमा दियो जलाउन निस्केको हुँ ।’ त्यसो त प्रत्येक चुनावी नारा फगत नारा मात्रै हुने गर्छन् । कुनै अँध्यारो घरमा दियो बल्यो कि बलेन, कुनै बेरोजगारले रोजगारी पायो कि पाएन, यो बेग्लै कुरा हो । तर, स्पष्ट कुरा के हो भने कुनै व्यक्ति लगातार सत्ताको भर्‍याङ चढिरह्यो भने ऊ जनताबाट टाढिँदै जान थाल्छ । पासवान पनि जगजीवनको विरुद्ध उभिएर उनैको विरासत धान्न अघि बढ्दै थिए ।

पासवानले दल फेरेर भाजपाजस्तो साम्प्रदायिक पार्टीमा प्रवेश गर्नुलाई मसमेत उनका पुराना साथीभाइले सही ठहर्‍याउन सकेनौँ, तर यसैलाई त राजनीति भनिन्छ । यदि राजनीति यही हो भने तिनीहरूको के होला, जसले निर्वाचनमा आफ्नो मुक्ति हुने आशासहित भोट दिएका छन् ? सवाल कुनै एउटा पासवानको होइन । सवाल हो, तथाकथित प्रतिनिधिको । रामविलास पासवान आफ्नो जीवनको आरम्भमा जुझारु दलित नेता थिए । उनले दलितको सुरक्षाका लागि दलित सुरक्षा सेना पनि बनाए । उनको सेनाले कति दलितलाई सुरक्षा दिन सक्यो ? एक लाइनमा भन्दा उनको आरम्भिक राजनीतिक जीवनको उद्देश्य र उत्तराद्र्धको उद्देश्य एउटै थिएन । 

(नैमिसराय ख्यातिप्राप्त भारतीय दलित साहित्यकार हुन्)
जनपथबाट