मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
विजयराज खनाल काठमाडौं
२०७७ असोज ३० शुक्रबार २१:५१:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

इतिहासमै पहिलोपटक कर्जाको ब्याजदर स्थिर 

पहिले परीक्षण अनि मात्र निरन्तरता 

Read Time : > 1 मिनेट
विजयराज खनाल, काठमाडौं
२०७७ असोज ३० शुक्रबार २१:५१:००

मुलुकको इतिहासमै पहिलोपटक बैंकहरूले औपचारिक रूपमा कर्जाको ब्याजदर स्थिर राखेका छन् । राष्ट्र बैंकको निर्देशनअनुसार १ कात्तिकदेखि लागू गरी हुने बैंकहरूले व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर तोकेका हुन् । 

२१ वाणिज्य बैंकले यस्तो ब्याजदर सार्वजनिक गरेका छन् । केहीले स्थिर ब्याजदरमा समेत आधारदरका आधारमा ३ देखि ५ प्रतिशतसम्म तोकेका छन् । तर, आधारदर परिवर्तन हुने भएकाले यसलाई स्थिर ब्याजदर मान्ने–नमान्नेमा अहिले द्विविधा नै देखिएको छ । बैंकहरूले घर कर्जामा ८ दशमलव ४९ देखि १५ प्रतिशत, सवारी कर्जामा ८ दशमलव ४९ देखि १४ दशमलव ५१ प्रतिशत, शैक्षिक कर्जामा ८ दशमलव ४९ देखि १४ दशमलव ४९ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । 

राष्ट्र बैंकले एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरूको ब्याजदर परिवर्तन नहुने स्थिर राख्न निर्देशन दिएको छ । व्यक्तिको नाममा प्रवाह भएका–हुने घर कर्जा, गाडी कर्जालगायतका मासिक वा कुनै पनि आवधिक किस्तामा यो व्यवस्था लागू गर्नुपर्नेछ । राष्ट्र बैंकको निर्देशन आउनुअघि जारी भएका कर्जामा समेत ग्राहकले माग गरेमा स्थिर ब्याजदर तोक्नुपर्ने निर्देशन राष्ट्र बैंकले दिएको थियो । ग्राहक स्वयंले इजाजतपत्रप्राप्त संस्थाको आधारदर परिवर्तन हुँदा परिवर्तन हुने परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहेमा सक्ने सुविधासमेत दिन भनिएको छ । यस्तो स्थिर ब्याजदर तोकिएको अवधिभर परिवर्तन गर्न पाइनेछैन । 

‘५० को दशकमा अघोषित रूपमै बैंकहरूको कर्जाको ब्याजदर स्थिर हुने गथ्र्याे,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले भने, ‘तर, करिब ०६२÷६३ देखि रेमिट्यान्सका कारण पुँजीको प्रवाह बढ्यो, बैंक पनि धेरै भए र कर्जाको माग पनि बढ्यो, यसले कर्जाको ब्याजदर चलायमान बनायो ।’ बैंकरहरूले अल्पकालीन अवधिको पुँजी स्रोत भएकाले स्थिर ब्याजदर कार्यान्वयनमा समस्या हुने बताउँदै आएका थिए । तर, राष्ट्र बैंकसँगको छलफलपछि यो कार्यक्रमलाई परीक्षणका रूपमा अगाडि बढाइने भएको हो । ‘हाम्रो जस्तो बजारमा यसलाई लैजान गाह्रो छ,’ नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले भने, ‘राष्ट्र बैंकसँग स्थिर ब्याजदर वा परिवर्तनीय ब्याजदर कुनमा ग्राहकको बढी इच्छा देखिन्छ, त्यहीअनुसार जाने भन्ने छलफल भएको छ ।’ 

बैंकहरूले ५ देखि १५ वर्षसम्मको अवधिको व्यक्तिगत कर्जामा स्थिर ब्याजदर तोकेका छन् । तर, निक्षेपको अवधि भने ५ देखि बढीमा ८–९ वर्ष हुने गरेको छ । बैंकहरूले कर्जाको स्थिर ब्याजदरमा आकर्षण देखिए निक्षेपसमेत लामो अवधिको ल्याउने योजना बनाएका छन् । त्यस्तै, दीर्घकालीन अवधिका ऋणपत्रहरू सार्वजनिक गर्ने क्रमसमेत बढाउने भएका छन् । 

लगानीका अन्य क्षेत्र घरजग्गा, सेयर बजारमा अधिकतम प्रतिफल आउने अवस्थामा भने बैंकहरूलाई दीर्घकालीन अवधिको पुँजी उठाउन यसअघि पनि समस्या पर्ने गरेको थियो । स्रोतको असन्तुलनका लागि भने हाल के गर्ने निर्णय भइसकेको छैन । यही कारण राष्ट्र बैंक र बैंकहरू दुवै यसलाई परीक्षणका रूपमा अगाडि बढाउने मनसायमा देखिएका छन् । राष्ट्र बैंकमै पनि कतिपयले दीर्घकालीन अवधिका लागि स्थिर ब्याजदरमा कर्जा कार्यक्रम सञ्चालनमा जटिलता आउने देखेका छन् । 

‘हाम्रो मुलुकमा बैंकहरूले निक्षेपकर्तालाई प्रस्ताव गर्ने ब्याजदरमा अन्य धेरै कुरा हाबी हुने गरेको छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘धेरै मानिसहरू उद्यममा भन्दा अल्पकालीन लाभका क्षेत्रमा बढी सक्रिय रहने भएकाले बैंकहरूलाई दीर्घकालीन निक्षेप उठाउन समस्या हुन सक्छ ।’