सोनाहा जातिलाई सीमान्तकृत सूचीमा राख्ने सर्वाेच्चको आदेश पाँच वर्षदेखि अलपत्र

सरकारी निकायको बेवास्थाका कारण सूचीमा नपर्दा सुविधा पाउनबाट वञ्चित

शुक्रबार, ३० असोज, २०७७
डिजिटल संस्करण

सोनाहा जातिलाई जनजाति तथा सीमान्तकृतमा सूचीकृत गर्न सर्वोच्च अदालतले दिएको आदेश पाँच वर्षदेखि अलपत्र परेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सर्वाेच्च अदालतकोे परमादेश कार्यान्वयनमा चासो दिएका छैनन् ।

१६ मंसिर ०७२ मा सर्वोच्चले सोनाहा जातिलाई आदिवासी जनजातिको सूचीमा राख्न परमादेश दिएको थियो । आफूहरूले पटक–पटक ताकेता गर्दा पनि वास्ता नगरिएको फैसला कार्यान्वयन निर्देशनालयका उपसचिव शिवकुमार पोखरेलले बताए । सूचीमा नपर्दा सोनाहा जाति राज्यबाट पाउने सुविधा पाउन वञ्चित भएका छन् । 

‘लोपोन्मुख अवस्थामा रहेका सोनाहा समुदायलाई अविलम्ब आवश्यक प्रक्रिया पूरा गरी अनुसूचीमा छुट भएको जातिको रूपमा समावेश गरी आदिवासी÷जनजाति राष्ट्रिय उत्थान ऐन, २०५८ को दफा २ (क) सँग सम्बन्धित अनुसूचीमा सूचीकरण गर्नू,’ आदेशमा भनिएको छ । ऐनअनुसार ‘आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको’लाई आदिवासी जनजाति मान्नुपर्ने उल्लेख छ । 

सरकारी निकायको बेवास्ताका कारण सोनाहा जातिले सर्वाेच्चले फैसला गरेको सुविधा पाउन सकेका छैनन् । ‘हाम्रो काम ताकेता गर्ने हो । उहाँहरूले आफैँ उपस्थित भएर भन्नुभएपछि हामीले पत्र लेखेर यसको कार्यान्वयनका लागि अनुरोध गरेका छौँ,’ फैसला कार्यान्वयन निर्देशनालयका उपसचिव पोखरेलले भने । यसको प्रगतबिारे आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा पत्र पठाएको उनले बताए ।

सोनाहा जाति २०७५ मा झन्डै एक हजार दुई सयको संख्यामा रहेको समुदायका अगुवा शान्ति सोनाहा बताउँछन् । बर्दिया, कैलाली र कञ्चनपुरमा मुख्य बसोवास रहेको यो जातिले बालुवा चालेर सुन निकाल्ने र माछा मारेर गुजारा चलाउँछ । ‘हामीले कोही ठूलाबडालाई चिन्दैनौँ । यो फैसला भइसकेपछि हामी प्रतिष्ठानमा गयौँ, मन्त्रालयमा गयौँ,’ सोनाहाले भने, ‘तर, हामीले पत्र पठाइसकेका छौँ भन्ने जवाफ आयो । अवहेलना मुद्दामा निवेदन दिने सोचेका थियौँ । त्यसअघि एकपल्ट फेरि सबैलाई आग्रह गरौँ भनेर काठमाडौं पुगेका वेला सबैलाई भन्यौँ ।’

बर्दियाको राजापुर नगरपालिकाका मेयर, समुदायका अगुवासहित विभिन्न निकायमा पुगेका उनले अहिलेसम्म आफूहरूको माग सुनुवाइ नभएको गुनासो गरे । आदिवासी जनजातिका रूपमा सूचीकृत भएपछि सरकारी सेवामा प्रवेश पाउन आरक्षण कोटा पाउने भएकाले सहज हुने सोनाहा जातिका अगुवाहरू बताउँछन् । जनजाति प्रतिष्ठानले सरकारले निर्णय गरे मात्र सूचीमा समावेश गर्न सक्ने बताउने गरेका छन् ।

केही समयअघि आफ्नो निर्वाचन क्षेत्रका सांसदलाई गुनासो गर्दा सोनाहासहित दुई जातिलाई सूचीकृत गर्न लागिएको जानकारी शान्तिले पाएका थिए । ‘तर, रानाथारूलाई छुट्टै जातिका रूपमा पहिचान दिइयो, हामीलाई दिइएन,’ उनले भने । माघ तेस्रो साता मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको थियो । त्यसपछि आदिवासी जनजातिमा सूचीकृतको संख्या ६० पुगेको छ ।

नेपालको जनगणनामा समेत सोनाहालाई छुट्टै जातिको रूपमा नराखिएकाले आफूले केन्द्रीय तथ्यांक विभागमा समेत निवेदन दिएको सोनाहाले बताए । ‘हाम्रो जनसंख्याले सांसद जिताउन सक्दैन । कतै राजनीतिक पहुँच छैन । त्यसैले पनि हाम्रो माग सुनुवाइ नभएको जस्तो लाग्छ,’ उनले भने ।

सुझावित समाचार