मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ३० शुक्रबार १५:५९:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

कृषिमन्त्री भुसाल भन्छन्– किसानलाई बैंकको ब्याज छुट दिनेबाहेक केही पनि गर्न सकिनँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ३० शुक्रबार १५:५९:००

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान् शिव र ब्रह्माजी आए पनि पाँच लाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको टिप्पणी गरेका छन् । 

शुक्रबार ४०औँ विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले अहिले ल्याउन खोजिएको पाँच लाख मेट्रिकटन मल आजकै व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताएका हुन् । 

उनले तत्काल पाँच लाख मेट्रिकटन मल ल्याउन भगवान् शिव वा ब्रह्मा आए पनि नसक्ने टिप्पणी गरे । 

काेलकाताको पोस्टबाट आजकै व्यवस्था र तरिकाले ल्याउने हो भने दिनदिनै एउटा डेडिकेटेड ट्रेन आउने व्यवस्था गर्नुपर्ने मन्त्री भुसालले बताए । 

उनले भने, ‘अहिलेकै आपूर्तिको कुरा र अहिलेको मागका कुरा गर्ने हो भने अहिले हामीले ल्याउन खोजेको पाँच लाख मेट्रिकटन आजकै व्यवस्थाबाट शिवजी आए भनेदेखि पनि, ब्रह्माजी आए भने पनि सक्दैनन् । काेलकाताकै पोस्टबाट ल्याउने आजकै तरिकाले ल्याउने हो भने पाँच लाख मेट्रिकटन दिनदिनै काेलकाताबाट नेपाललाई एउटा डेडिकेटेड ट्रेन हुनुपर्छ । जो दिनदिनै आउनेछ ।’

मन्त्री भुसालले कृषि व्यवस्थाको परिवर्तन नभएसम्म नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको पनि बताए । 

अहिलेसम्म कृषि व्यवस्थाको परिवर्तनबारे कम आलोचना हुँदा कृषिमा अपेक्षाकृत विकास हुन नसकेकोसमेत उनको ठहर थियो । 

कृषि प्राविधिकहरूले प्रविधिभन्दा माथि उठेर काम गर्न सके मात्रै कृषि व्यवस्थामा परिवर्तन ल्याउन सम्भव हुने उनकाे भनाइ छ । 
कृषि व्यवस्थालाई परिवर्तन गर्नका लागि पछिल्लो समय व्यक्तिगत प्रतिस्पर्धामा आधारित अनुदानलाई रोकेर इन्पुटमा आधारित लगानी गरिने व्यवस्था गरिएको पनि उनले बताए । 
तर, त्यसमा पनि धेरै काम गर्न नसकेको उनले स्वीकार गरे । 

किसानलाई बैंकको ब्याजदरमा अनुदान दिनेबाहेक केही पनि गर्न नसकेको उनको स्वीकारोक्ति थियो । 

कार्यक्रममा लकडाउन तथा निषेधाज्ञाको समयमा विभिन्न स्थानमा निःशुल्क खाना खुवाउने व्यक्ति तथा समूहहरूलाई मन्त्री भुसालले सम्मान गरे ।