मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
ग्लेन जोनसन
२०७७ असोज ३० शुक्रबार ०६:४५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

न्युजिल्यान्ड निर्वाचन : आर्डेनको कामको जनमत

Read Time : > 2 मिनेट
ग्लेन जोनसन
२०७७ असोज ३० शुक्रबार ०६:४५:००

मतदाताको नजर ती दलतर्फ छ, जसको योजनाले भाइरसको विस्तार नियन्त्रण गरोस् र त्यस क्रममा अर्थतन्त्रमाथिको क्षति न्यूनीकरण होस् ।

न्युजिल्यान्डका मतदाता शनिबार मतदान गर्दै छन् । फरक–फरक राजनीतिक विचारधारा बोकेका कैयौँ राजनीतिक दलहरू चुनावमा सहभागी भएका छन् र उनीहरूले मतदातामाझ आफ्नो कार्यक्रम तथा योजना राखिसकेका छन् । मतदाताको नजर ती दलतर्फ छ, जसको योजनाले भाइरसको विस्तार नियन्त्रण गरोस् र त्यस क्रममा अर्थतन्त्रमाथिको क्षति न्यूनीकरण होस् । मतदाताले गाँजा तथा इच्छामृत्युलाई कानुनी मान्यता दिने–नदिने विषयमा पनि मत जाहेर गर्नेछन् । 

मत सर्वेक्षणअनुसार प्रधानमन्त्री जेसिन्डा आर्डेनको मध्यपन्थी लेबर पार्टी संसद्मा बहुमत हासिल गर्ने दिशातर्फ अघि बढेको छ । २५ वर्षअघि देशमा मिश्रित निर्वाचन प्रणाली अंगिकार गरेपछि पहिलोपटक संसद्मा एउटै दलको बहुमत आउने सम्भावना देखिएको छ । कोभिड–१९ संकट अवधिभर लेबर पार्टीको जनसमर्थन ५० प्रतिशतवरपर रह्यो । यो उपलब्धि सरकारले महामारीको व्यवस्थापनमा देखाएको असाधारण सफलताको प्रतिफल थियो । एकातर्फ सरकारले आमसर्वसाधारणलाई संक्रमणबाट जोगायो भने अर्कोतर्फ लकडाउन लगाउँदा उत्पन्न हुने आर्थिक धक्का पनि न्यून देखियो । जेसिन्डाको पहिलो कार्यकालका क्रममा विभिन्न दुःखद घटनाहरू घटे, क्राइस्टचर्च आतंकवादी आक्रमण, वाकारी टापूको ज्वालामुखी विस्फोट र भाइरसको आगमन ।

प्रत्येक प्रकरणमा आर्डेनले आफ्नो स्पष्ट सञ्चार सीपमार्फत देशलाई एकताबद्ध र आस्वस्त बनाउने कोसिस गरिन् । सार्वजनिक कल्याणलाई महत्व दिने आर्डेनको राजनीतिलाई मानिसले सकारात्मक रूपमा लिने गरेका छन् । तर, अर्कोतर्फ उनको सरकारले सन् २०१७ को आमनिर्वाचनमा वाचा गरेका कैयौँ नीतिलाई कार्यान्वयन गर्न सकेको छैन । अघिल्लो चुनावमा आर्डेनले ‘रूपान्तरण’को वाचा गरेकी थिइन् तर सुधार निकै सुस्त भइरहेको छ । उनको यस सुस्त सुधारलाई दक्षिणपन्थी पार्टीहरूले उनको अक्षमताको रूपमा प्रस्तुत गरिरहेका छन् भने वामपन्थी पार्टीले लेबर पार्टी अझै नवउदारवादी युगका नीतिमा प्रतिबद्ध रहेको रूपमा हेरेका छन् । 

आर्डेन पहिलो कार्यकालमा विगतमा वाचा गरेअनुरूपको परिवर्तन प्रदान गर्न सुस्त रहिन्, यसलाई दक्षिणपन्थी पार्टीले उनको अक्षमताको रूपमा प्रस्तुत गरिरहेका छन् भने वामपन्थी पार्टीले यो सुस्तताले लेबर पार्टी अझै नवउदारवादी नीतिमा प्रतिबद्ध रहेको प्रमाणित गरेको बताएका छन् । 

सरकारको ‘किविविल्ड’ घरबार विकास योजना राजनीतिक घाउ बनेको छ । देशको विकराल असमानताको स्तरलाई कम गर्ने प्रयासले सतहमा खोस्रिएजस्तो मात्र काम गरेको छ । देशमा प्रत्येक पाँचमध्ये एक बालबालिका सापेक्षिक गरिबीमा बाँच्न बाध्य छन् । न्युजिल्यान्डको कल्याणकारी व्यवस्थामा पनि व्यापक सुधारको आवश्यकता देखिन्छ । तर, पनि सरकारले कल्याणकारी विज्ञ सुझाब समूहले दिएको सल्लाहलाई कार्यान्वयन गरेको छैन । समूहले अघिल्लो वर्ष राहत रकम ४७ प्रतिशतले बढाउन सुझाब दिएको थियो । 

यिनका बाबजुद आर्डेनको सरकारले स्वास्थ्य तथा शिक्षामा भने उल्लेखनीय उपलब्धि हासिल गरेको छ । आर्डेनअघि नौ वर्ष सत्तामा रहेको नेसनल पार्टीको सरकारको पालामा यी क्षेत्र बेवास्तामा परेका थिए । आर्डेनले विभिन्न सुधारपछि पनि अघिल्लो महिना ६५.८ करोड डलरको स्वास्थ्य योजना घोषणा गरेकी छिन् । यस योजनाभित्र देशको औषधि खरिदकर्ता एजेन्सी ‘फार्मम्याक’को कोषका लागि १३.२ करोड डलर खर्चिने योजना पनि छ । त्यस्तै न्यून आय भएका मानिसको दन्त स्वास्थ्यका लागि ११.६ करोड रकम पनि अनुदान रकम छुट्याएको छ । 

मतदाताले यसपटक लेबर पार्टीलाई बहुमत दिए भने सम्भवतः आर्डेनले अहिलेजस्तो विवादित मुद्दामा टाढा रहने शासनशैली छाड्न सक्छिन् । त्यसले मात्र यो महामारीपछिको ठुल्ठूला सुधार अँगाल्न सम्भव हुन्छ । उनको सत्ता गठबन्धनको एक घटक ग्रिन पार्टीले यसपटक पनि संसद् प्रवेश गर्न आवश्यक पाँच प्रतिशतको थ्रेसहोल्ड पार गर्ने वामपन्थीहरूमाझ आशा छ । तर त्यसको निश्चितता भने छैन । ग्रिनले गाँजालाई कानुनी मान्यता दिनुपर्ने मुद्दालाई बलियोसँग अघि बढाएको छ । त्यसअतिरिक्त ऊ अर्थतन्त्र, स्वास्थ्य तथा सामाजिक सुधारका प्रगतिशील नीतिगत सुधारको पक्षमा छ । ग्रिन पार्टीबाहेक सत्ताको प्रमुख घटक लेबरलाई राजनीतिक मुद्दामा थप बायाँ धकेल्ने अन्य पार्टी माओरी पार्टी तथा अपुच्युनिटी पार्टी हुन् । 

माओरी पार्टीले देशका सात माओरी आदिवासीको सघन बसोवास क्षेत्रमा उमेदवार उठाएको छ । माओरी पार्टीले औपनिवेशवादबाट न्याय, स्वास्थ्य तथा बसोवास क्षेत्रमा सिर्जना गरेको असमानतालाई सम्बोधन गर्ने नीतिगत सुधारको प्रस्ताव गरेको छ । यसबाहेक पार्टी अलग माओरी संसद् भवनको निर्माण गर्ने, विद्यालयमा माओरी भाषा, इतिहासलाई मुख्य विषयको रूपमा समावेश गर्न चाहन्छ । यी दबाबका बाबजुद आर्डेनले पुरानै सुस्त शैलीलाई निरन्तरता दिइन् भने उनी लिबरल डेमोक्रेटको अर्को असफलताको रूपमा दरिनेछिन् । आर्डेनजस्तै बाराक ओबामा, जस्टिन ट्रुडो र इम्यानुयल म्याक्रोँजस्ता नेताले ‘आशा’ र ‘परिवर्तन’को भाषा बोलेर सत्तामा त आएका थिए । तर, तिनले विषाक्त यथास्थितिलाई थप मजबुत बनाएको दृष्टान्त छ । 

(ग्लेन जोनसन न्युजिल्यान्डकी रिपोर्टर हुन् ।)
अलजजिराबाट