१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o८:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

भेरी अस्पतालको लापरबाही, कोरोना संक्रमितको रगत समूह नै गलत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:o९:oo

सिसा परियोजना, खजुराका एकाउन्टेन्ट वसन्त पराजुलीलाई लक्षणसहितको कोरोना संक्रमण देखिएपछि उनका साथीभाइले १२ असोजमा भेरी अस्पतालको कोभिड– १९ वार्डमा भर्ना गरे । ११ असोजमा कोरोना पुष्टि भएका उनलाई ज्वरोसँगै झाडापखालाको समस्या थियो । भेरी अस्पतालको कोभिड वार्डमा आठ दिन बिताए । तर, निको हुनुको साटो स्वास्थ्य समस्या झन्–झन् बिग्रिँदै गएपछि उनी आत्तिए ।

ज्वरो र झाडापखाला नरोकिएपछि अस्पतालले रगत चढाउनका लागि उनको रगतसमूह जाँच गर्‍यो । उनको रगतसमूह ओ पोजेटिभ भएको रिपोर्ट भेरी अस्पतालको इम्युनोलोजी विभागले दियो । तर, उनले अस्पतालको रिपोर्टमा विश्वास गरेनन् । किनकि, उनलाई आफ्नो रगतसमूह बी पोजेटिभ भएको पहिले नै थाहा थियो । अस्पतालको प्याथोलोजी रिपोर्टले उनी झनै तर्सिए । 

अस्पतालले उनलाई रेमडिसिभिर औषधि दिन खोज्यो । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले उक्त औषधिले स्वास्थ्य झनै बिग्रिने भनेको भन्दै उनका परिवारका सदस्य र साथीभाइले उक्त औषधि नचलाउन अस्पताललाई दबाब दिन लगाए । अस्पतालको क्रियाकलाप र गलत रिपोर्टले तर्सिएका पराजुली र उनका परिवारका सदस्यले उनलाई काठमाडौंको ह्याम्स अस्पताल लैजाने निधो गरे । 

काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना भएपछि उनी निको भएका छन् । उनको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ । नयाँ पत्रिकासँग फोनमा कुरा गर्दैै उनले भेरी अस्पतालमा रहँदा बाँच्ने आशा मार्दै गएको बताए । ‘छेउको बेडमा रहेका कोरोना संक्रमित आँखाअगाडि धमाधम मरेको देख्दा मन झनै आत्तिन्थ्यो । कोरोना संक्रमितले राम्रोसँग उपचार पाएको भए बाँच्थे होला । त्यहाँ त उपचार नपाएर बिरामी मरिरहेका छन्,’ उनले भने, ‘म पनि त्यहाँ भइरहेको भए मर्थें होला । धन्न समयमा बुद्धि पुर्‍याएँ ।’ 

बाँकेमा हालसम्म ३७ को मृत्यु
भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत २५ जना बाँकेका र १२ जना बाहिरी जिल्लाका कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षदेखि ८२ वर्ष उमेरका छन् । मृत्यु भएका अधिकांशलाई कोरोना संक्रमणपछि निमोनिया भएको अस्पतालले जनाउँदै आएको छ । कोरोना संक्रमण भई स्वास्थ्यमा जटिल समस्या भएका बिरामीलाई रेमडिसिभिर र प्लाज्मासमेत दिइँदै आएको छ ।

कोरोना संक्रमित बिरामीलाई रेमडिसिभिर औषधि प्रयोग गर्ने सरकारबाट अनुमति पाएपछि जटिल समस्या देखिएका बिरामीलाई उक्त औषधि दिन थालिएको अस्पतालका कोभिड–१९ वार्ड व्यवस्थापक वरिष्ठ सर्जन डा. श्यामसुन्दर यादवले बताए । 

मृत्यु भएकामध्ये अधिकांश बिरामीलाई रेमडिसिभिर औषधि दिइएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउँदै आएका छन् । उनले हरेक दिन कोरोनाबाट मृत्यु भएकाबारे दैनिक रिपोर्टमार्फत जानकारी गराउँदै आएका छन् । जारी रिपोर्टमा रेमडिसिभिर औषधि दिँदासमेत बिरामीलाई जोगाउन नसकिएको उल्लेख हुने गरेको छ । ‘बिरामीलाई रेमडिसिभिर औषधि दिँदासमेत बचाउन सकिएन,’ श्रेष्ठले जारी गरेको रिपोर्टमा उल्लेख छ । 
 

ad
ad