मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज २५ आइतबार ०८:०७:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

हाइड्रोक्सिक्लोरोक्वाइन  कोभिड संक्रमितका लागि प्रभावहीन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज २५ आइतबार ०८:०७:००

कोरोना भाइरसविरुद्ध विभिन्न औषधि प्रयोगमा आइरहेका छन् । अनुसन्धानको क्रममा अर्थात् ट्रायलका लागि विश्वभरि भिन्न–भिन्न औषधिमाथि परीक्षण भइरहेको छ, जसमध्ये हाइड्रोक्सिक्लोरोक्वाइन पनि एक हो । हाइड्रोक्सिक्लोरोक्वाइन एक एन्टिमलेरियल औषधि हो, जुन सामान्यतः लुपस र रुमेर्टाइड अर्थाइटिसका लागि प्रयोग गरिन्छ । हाइड्रोक्सिक्लोरोक्वाइन वा क्लोरोक्वाइनजस्ता औषधि विभिन्न देशमा संक्रमितमा प्रयोगमा ल्याइरहे पनि हालसम्मका अध्ययन अनुसन्धानले यस्ता औषधि कोभिड नियन्त्रणका लागि फाइदाजनक नभएको पाइएको छ । 

अक्सफोर्ड विश्वविद्यालयको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको समूहले हाल प्रयोग भइरहेका औषधिको सम्भावित फाइदाबारे प्रतिवेदन बिहीबार सार्वजनिक गरेको थियो । न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिकलमा प्रकाशित भएको अध्ययनअनुसार अस्पताल भर्ना भएका एक हजार पाँच सय ६१ बिरामीमा हाइड्रोक्सिक्लोरोक्वाइन प्रयोग गरिएको थियो । बाँकी तीन हजार एक सय ५५ जनामा सामान्य स्वास्थ्य सेवा दिइएको थियो । हाइड्रोक्सिक्लोरोक्वाइन प्रयोग गरिएका र नगरिएका व्यक्तिको स्वास्थ्यमा कुनै भिन्नता देखिएन । बरु अध्ययन अवधिभित्र हाइड्रोक्सिक्लोरोक्वाइन प्रयोग गरेका २७ प्रतिशत व्यक्तिको मृत्यु भयो भने सामान्य हेरचाहमा राखिएका व्यक्तिमा २५ प्रतिशतको मृत्यु भयो । 

अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडिएले जुन महिनामा कोरोना भाइरसविरुद्धका लागि हाइड्रोक्सिक्लोरोक्वाइन वा क्लोरोक्वाइनजस्ता औषधि प्रयोगमा ल्याउन अनुमति दिएको थियो । तर, यस्ता औषधिले शरीरमा एन्टिभाइरस उत्पादन गर्ने सम्भावना नदेखिएको बताएको छ । एफडिएका प्रमुख वैज्ञानिक डेनिस हिन्टनका अनुसार हाइड्रोक्सिक्लोरोक्वाइन कोभिड संक्रमण भएको पुष्टि भएको चार दिनसम्म प्रयोगमा ल्याएर ट्रायल सुरु गरिएको थियो, तर प्रभावकारी नतिजा नदेखिएपछि औषधि प्रयोगमा रोक लगाउन आग्रह गरिएको छ । वैज्ञानिकहरूले सम्भावित फाइदाका लागि जोखिम लिनुपर्ने भएकाले औषधिहरूमा परीक्षण गरिरहनुपर्ने बताए पनि यसको बेफाइदाबारे पनि सतर्क रहनुपर्ने बताएका छन् । हाइड्रोक्सिक्लोरोक्वाइन वा क्लोरोक्वाइनजस्ता औषधिको प्रयोगले कोभिड संक्रमितमा गम्भीर जटिलता निम्त्याउन सक्ने र कतिपय अवस्थामा घातक सिद्ध हुने बताइएको छ । 

जोखिम कति ?
पर्याप्त अध्ययन र परीक्षणविना कुनै पनि औषधिको प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर पार्ने सम्भावना रहन्छ । पछिल्लो समय कोभिडविरुद्ध प्रयोगमा आइरहेका सबै औषधिले शरीरमा एन्टिबडी अर्थात् भाइरससँग लड्ने क्षमता विकास गर्न सक्छन् भन्ने कुनै तथ्यगत प्रमाण छैन । हाइड्रोक्सिक्लोरोक्वाइनको अध्ययन गरेर यसको फाइदाबारे बताउने फ्रान्सेली अध्ययनले थोरै व्यक्तिमा अध्ययन गरेको बताइएको छ ।

यस्तै, चीनले सुरुवाती दिनमा हाइड्रोक्सिक्लोरोक्वाइनमा गरेको अध्ययनअनुसार माइल्ड लक्षण देखिएका बिरामीमा मात्र केही हदसम्म फाइदाजनक देखिएको थियो । मायोक्लिनिकले हाइड्रोक्सिक्लोरोक्वाइनको प्रयोगले स्वास्थ्यमा मुटुसम्बन्धी समस्याको जोखिम रहने बताएको छ । यो औषधि प्रयोग गरिरहेका व्यक्तिमा मुटुको चालमा परिवर्तन आउने र अचानक मृत्यु हुनेजस्ता जोखिम भएको मायोक्लिनिकले उल्लेख गरेको छ ।

एजेन्सीको सहयोगमा