१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १८:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लकडाउनमा म्याद गुज्रिएका खाद्यान्न नयाँ मिति राख्दै बेच्दै 

एक सातामा तीन ठूला कम्पनीमा प्रहरीको छापा, कालोबजोरी मुद्दा नलचाई, वाणिज्यमा बुझाइयो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १८:२१:oo

उपत्यकामा ठूलो मात्रामा अखाद्य वस्तुको बिक्री भइरहेको खुलेको छ ।  लकडाउनको समयमा म्याद गुज्रिएका खाद्य सामानमा नयाँ मिति राखेर बेच्ने गिरोह सक्रिय देखिएको प्रहरीले जनाएको छ । 

एक सातामा प्रहरीले तीनवटा ठूला गोदाममा छापा हानी ठूलो मात्रामा अखाद्य सामान बरामद गरेको छ ।  मंगलबार मात्र प्रहरीले चण्डोलस्थित जोडियक मार्केटिङ कम्पनीमा छापा हानी म्याद सकिएका खाद्य सामानलाई फेरि प्याकिङ गरी बिक्री गर्ने  तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मुकेश रौनियार, अर्नित मगर र जितेन्द्रकुमार लोहिया छन् ।  

उनीहरूमध्ये लोहिया सञ्चालक, रौनियार लेखापाल तथा मगर स्टोरकिपर भएको प्रहरीले जनाएको छ । उनीहरूले विदेशबाट आयात गरिएकामा सामानको म्याद सकिएपछि नेपाली नाम दिएर फेरि प्याकिङ गरी बेच्ने गरेको काठमाडौं परिसरका डिएसपी राजकुमार केसीले बताए । पास्ता, आँटा, बिस्कुट, तेल, चकलेटलगायत सामान रिप्याकिङ गरी बेच्दै आएका थिए ।  सो कम्पनीको करिब चार करोड रुपैयाँबराबरको सामान प्रहरीले बरामद गरेको छ । 

आइतबार प्रहरीले कलंकीमा चार करोड रुपैयाँबराबरको म्याद गुज्रिएका विभिन्न सामान बरामद गरेको थियो । प्रवीणकुमार बंकाले सञ्चालन गरेको एएसटी कम्पनीबाट प्रहरीले विभिन्न सामान बरामद गरेको हो । पुरानो स्टिकर मेटाई नयाँ मिति राखेर उनीहरूले सामान बेच्दै आएको प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी अपिलराज बोहराका अनुसार चकलेट, तेल, पाउडरलगायत सामानहरू नयाँ मिति राखेर बिक्री हुँदै आएको थियो ।  

पक्राउ पर्नेहरूमा भारतीय नागरिक अनिलकुमार बंका, स्मिता श्रेष्ठ, आनन्दकुमार अवस्थी, विनोद ओझा, रामकुमार खत्री र मोहन महतो छन् । पक्राउ पर्नेहरू बन्काबाहेक अरू कामदार हुन् । उनीहरूको दुईवटा गाडी पनि प्रहरीले बरामद गरेको छ ।   

गत १४ असोजमा प्रहरीले आयान डिष्ट्रिब्युटर र अमेजन डिष्ट्रिब्युटरका सञ्चालकलाई पक्राउ गरेको थियो । महानगरीय अपराध महाशाखाले चलखेल, बिस्कुट तथा विभिन्न खाद्य सामानमा नयाँ मिति राखेर बिक्री गर्ने सातजनालाई पक्राउ गरेको थियो । 

झापाकी पुष्पादेवी अग्रवाल, भारतीय नागरिक रोनक बोथ्रा, रौतहटका मुन्ना ठाकुर, पप्पुकुमार ठाकुर, महोत्तरीका श्यामकुमार सिंह, धादिङका रामबहादुर बयलकोटी, सीताराम उपरकोटी र दिलीप थापामगरलाई पक्राउ गरेको हो । 

लकडाउनको समयमा सामानको म्याद गुज्रिएपछि नयाँ नक्कली लेबलिङ गरेर बिक्री गर्ने प्रवृत्ति देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली बताउँछन् । उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाडको काम भएकाले प्रहरीले यस्ता गोदाममा निगरानी बढाएको उनको भनाइ छ । 

किन चलेन कालोबजारी मुद्दा ? 
पक्राउ परेका तीनैवटा कम्पनीका सञ्चालक तथा कर्मचारीलाई  प्रहरीले कारबाहीका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा पठाएको छ । विभागले १४ असोजमा पक्राउ परेकालाई तारेखमा छाडिसकेको छ भने १८ असोजमा पक्राउ परेकालाई भने थुनामै राखेको छ । चण्डोलमा मंगलबार पक्राउ परेका पनि छुटेका छन् । 

रिलेबलिङ गरिएको विषय उपभोक्ता हित संरक्षण ऐनले विभागलाई दिएकाले उतै पठाइएको एसएसपी ज्ञवाली बताउँछन् । प्रहरी स्रोत भने कालोबजारी मुद्दा चलाउँदा लामो समय थुनामा बस्नुपर्ने भएकाले व्यापारीकै दबाबमा विभागमा पठाउने दबाब आउने गरेको स्रोत बताउँछ । उपभोक्ता हित संरक्षण ऐनभन्दा कालोबजारी मुद्दामा कडा सजाय हुने भएपछि कम सजाय हुने अभियोगमा उनीहरूमाथि कारबाही भइरहेको छ ।

ad
ad