मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असोज १३ मंगलबार १४:५८:००
Read Time : < 1 मिनेट
समाचार

सांसद सुदन किराँतीले तलबबाट विपन्नको छानो हालिदिए

Read Time : < 1 मिनेट
२०७७ असोज १३ मंगलबार १४:५८:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा भोजपुरका प्रतिनिधिसभा सदस्य सुदन किराँतीले आफ्नो तलबबाट स्थानीय एक विपन्न परिवारको घरको छाना फेरिदिएका छन् । उनले साल्पासिलिछो गाउँपालिका– ५ दोभानेका उत्तरकुमारी राईको घर एक महिनाको तलब खर्चेर टिनले छाइदिएका हुन् । 

४२ वर्षीया उत्तरकुमारी एक छोरा र दुई छोरीको साथमा बस्दै आएकी छिन् । उनका श्रीमान् दश वर्षदेखि बेपत्ता छन् भने एउटा आँखा देख्दिनन् । बनिबुतो गरेर पेट पाल्दै आएका उनीहरू बस्ने घरको टुंगोसमेत थिएन । मावली घरमा बस्दै आएका उनीहरूलाई गाउँले मिलेर घर बनाइदिएका थिए । तर, छानो छाउन कुनै स्रोत थिएन । यो समस्याबारे सांसद किराँतीले थाहा पाएपछि तलबबाट टिनको छानो हालिदिएका हुन् । स्थायी छानो पाएपछि विपन्न परिवारमा खुसी छाएको छ । ‘आफ्नो भन्नु केही छैन । गाउँका मान्छेले घर त बनाइदिनुभयो, तर यसलाई छानो हाल्न सकेका थिएनौँ,’ गहभरि आँसु टिलपिल पार्दै उत्तरकुमारी बोलिन्, ‘हामी घरभित्रै पनि रुझ्दै बस्नुपर्थ्याे । हाम्रो समस्यालाई सांसदले सधैँका लागि हटाइदिनुभएको छ । हाम्रो दुःखमा घरैमा आएर सांसदले सहयोग गर्नुभएको छ, हामी अत्यन्तै खुसी भएका छौँ ।’

सांसद किराँतीले पनि सहयोग गर्न पाएकोमा निकै खुसी मिलेको बताए । ‘घरबारविहीन परिवारलाई मेरो एक महिनाको तलबसुविधा दिँदा उहाँहरू खुसी हुनुहुन्छ भने किन नदिने ?’ किराँतीले भने, ‘उहाँहरू छानो पाएर खुसी हुनुभयो, म उहाँहरूको खुसी देखेर झन् खुसी भएँ ।’

सांसद सुदन किराँतीले कम्तीमा महिनाको एकपटक आफ्नो निर्वाचन क्षेत्र पुगेर नागरिक र कार्यकर्ताहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको सुखदुःखमा साथ दिने गरेका छन् ।