
नेपालले सार्कको १९औँ शिखर सम्मेलन यथाशीघ्र हुनुपर्नेमा जोड दिँदै यसको ‘व्यावहारिक विकल्प’ खोज्न सदस्य मुलुकसँग आग्रह गरेको छ । २४ र २५ कात्तिक ०७३ का लागि तोकिएको १९औँ शिखर सम्मेलन भारत–पाकिस्तान तनावका कारण अहिलेसम्म हुन नसक्दा नेपालले व्यावहारिक विकल्पमा जोड दिएको हो । सार्कको १८औँ शिखर सम्मेलन ०७१ मंसिर १० र ११ मा काठमाडौंमा भएको थियो ।
बिहीबार आयोजित सार्क मन्त्रिपरिषद् बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सबै मुलुकलाई सहज हुने मुलुकमा १९औँ शिखर सम्मेलन गर्ने बाटो खुला गर्नुपर्ने सन्देश दिए । ‘परराष्ट्रमन्त्रीले सदस्य मुलुकहरूलाई यथाशक्य चाँडो मितिमा १९औँ शिखर सम्मेलन हुने व्यावहारिक विकल्पको खोजी गर्दै सार्कमा नयाँ गतिशीलता उत्पन्न गर्न आग्रह गर्नुभएको छ,’ बैठकपछि परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा छ ।
परराष्ट्रमन्त्रीको भनाइलाई व्याख्या गर्दै एक कूटनीतिक अधिकारीले यस्तो सन्देश पाकिस्तानका लागि दिइएको नयाँ पत्रिकालाई बताए । ‘अहिलेको परिस्थितिमा १९औँ शिखर सम्मेलन पाकिस्तानमा हुन सक्ने सम्भावना छैन । उसले यसका लागि सार्थक प्रयास पनि गरेन । अब श्रीलंकामा शिखर सम्मेलन होस् भन्ने प्रस्ताव पाकिस्तानबाटै आओस् भन्ने सन्देश परराष्ट्रमन्त्रीको सन्देश हो,’ उनले भने ।
मुलुकको वर्णानुक्रमअनुसार पाकिस्तानपछि शिखर सम्मेलन श्रीलंकाले आयोजना गर्नुपर्नेछ । नेपाल ६ वर्षदेखि सार्क अध्यक्ष रहेकोमा अब शीघ्र शिखर सम्मेलनमार्फत अध्यक्षता हस्तान्तरण गर्ने मनसाय व्यक्त गरेको छ । भिडियोमार्फत आयोजना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मन्त्रिपरिषद् (परराष्ट्रमन्त्रीस्तरीय) अनौपचारिक बैठकमा अध्यक्ष मुलुक नेपालले सार्कलाई गतिशील र प्रभावकारी क्षेत्रीय संगठनका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएको हो ।
बैठकमा भारतका विदेशमन्त्री डा. एस जयशंकरले सीमापार आतंकवाद, कनेक्टिभिटीमा रोकावट तथा व्यापार अवरोधजस्ता मुख्य चुनौतीलाई सार्कले परास्त गर्नुपर्नेमा जोड दिए । ‘त्यसपछि मात्रै हामीले दक्षिण एसियामा स्थायी शान्ति, समृद्धि र सुरक्षा देख्न सक्नेछौँ,’ विदेशमन्त्री डा. जयशंकरले भने ।
बैठकमा पठाइएको रेकर्डमा पाकिस्तानका परराष्ट्रमन्त्री शाह मोहम्मद कुरेसीले सार्कको १९औँ शिखर सम्मेलन शीघ्रातिशीघ्र आयोजना गर्न पाकिस्तान तयार रहेको बताए । उनले सार्कको बाटोमा उत्पन्न भएको कृत्रिम अवरोध चाँडै हट्ने र सार्क क्षेत्रीय सहकार्यको प्रभावकारी संगठनका रूपमा विकास हुने विश्वास व्यक्त गरे ।
परराष्ट्रमन्त्री ज्ञवालीले अध्यक्षता गरेको बैठकमा पाकिस्तानका परराष्ट्रमन्त्री शाह मोहम्मद कुरेसीबाहेक परराष्ट्रमन्त्रीहरू सहभागी थिए । पाकिस्तानका परराष्ट्रमन्त्रीको भने रेकर्डेड भिडियो प्रस्तुत भएको थियो । करिब दुई घन्टा चलेको बैठकमा आठै सदस्य मुलुकका मन्त्रीसहित उच्च कूटनीतिक अधिकारी सहभागी थिए ।
परराष्ट्रमन्त्री ज्ञवालीले सार्कलाई दक्षिण एसियाका जनताको जीवनमा देखिने परिवर्तन ल्याउने गरी सक्षम, प्रभावकारी तथा परिणाममुखी क्षेत्रीय संगठन बनाउनुपर्ने पनि बताए । सार्क सदस्य मुलुकहरू कोभिड– १९ विरुद्ध संयुक्त रूपमा लड्न तथा महामारीको प्रभावलाई न्यूनीकरण गर्न साझा क्षेत्रीय प्रयासमा जोड दिएका थिए । बैठकमा परराष्ट्रसचिव शंकरदास वैरागीले नेपालको धारणा राखेका थिए ।
कोभिड–१९ को महामारी सुरु भएपछि २ चैत ०७६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क शीर्ष नेताहरूको भिडियो सम्मेलन आयोजना गरेका थिए । सम्मेलनमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानबाहेक सबै शीर्ष नेता सहभागी थिए । भिडियो सम्मेलनमा मोदीले भारत सरकारका तर्फबाट १ करोड अमेरिकी डलर राख्ने गरी कोभिड–१९ आपत्कालीन कोष घोषणा भएको थियो । कोषका लागि सार्क मुलुकबाट १ करोड ८८ लाख अमेरिकी डलर घोषणा भएको छ । भारतको गुजरातमा रहेको सार्क डिजास्टर मेनेजमेन्ट सेन्टर (सार्क प्रकोप व्यवस्थापन केन्द्र)सँग समन्वय गरेर भारतले घोषित कोषमार्फत पाकिस्तानबाहेक सार्कका सदस्य मुलुकलाई सहयोग गर्दै आएको छ ।
१९८५ डिसेम्बरमा सात राष्ट्र रहेर सार्क स्थापना भएको थियो । सार्कमा सन् २००७ अप्रिलमा १४औँ शिखर सम्मेलनबाट अफगानिस्तान थपिएपछि आठ सदस्य मुलुक भएका छन् । युरोपियन युनियन, चीन, जापान, इरानलगायतसहित सार्कका ९ वटा पर्यवेक्षक मुलुक छन् ।
किन हुन सकेन १९औँ शिखर सम्मेलन ?
४ चैत ०७२ मा पोखरामा बसेको सार्क परराष्ट्र मन्त्रीस्तरीय बैठकले २४ र २५ चैत ०७३ मा सार्कको १९औँ शिखर सम्मेलन पाकिस्तानको इस्लामाबादमा गर्ने गर्यो । काठमाडौंमा १० र ११ मंसिर ०७२ मा सार्कको १८औँ शिखर सम्मेलनले पाकिस्तानमा अर्को सम्मेलन गर्ने निर्णय गरेको थियो । परराष्ट्रमन्त्रीहरूको बैठकले मिति तोकेको थियो ।
तर, २ असोज ०७३ भारतको उरीमा १९ जना सैनिकको ज्यान जाने गरी आतंककारी हमला भयो । घटनामा पाकिस्तानलाई दोषी देखाउँदै भारतले आतंकको माहोलमा सार्क सम्मेलन इस्लामाबादमा हुन नसक्ने धारणा सार्वजनिक गर्यो । भुटान र बंगलादेशले भारतलाई साथ दिएपछि सम्मेलन नहुने पक्का भयो र स्थगित भयो ।
नेपालले १६ असोज ०७३ मा विज्ञप्ति जारी गरी आतंककारी हमलाको निन्दा गर्यो । तर, क्षेत्रीय सहकार्य अपरिहार्य रहेकामा जोड दिँदै नेपालले सार्क सम्मेलन हुनुपर्नेमा जोड दियो ।
तर, फेरि कास्मिरको पुलवामा भन्ने स्थानमा २ फागुन ०७५ मा भएको आतंककारी हमलामा ४० भारतीय सुरक्षाकर्मीको मृत्युसँगै भारत र पाकिस्तानको सम्बन्ध थप चिसियो । योसँगै सार्क सम्मेलन अनिश्चित भयो । यी घटनामा भारतले पाकिस्तानको हात देख्यो भने पाकिस्तानले अस्वीकार गर्याे । नेपालले सन् १९८७ मा तेस्रो र २००२ मा ११औँ शिखर सम्मेलन आयोजना गरेर अध्यक्षता हस्तान्तरण गरेमा यसपटक भारत–पाकिस्तानको आपसी टकरावका कारण नेपालले अध्यक्षता हस्तान्तरण गर्न पाएन ।
कुनकुन शिखर सम्मेलन समयमा भएनन् ?
सार्कको ३५ वर्षे इतिहासमा १८ वटा शिखर सम्मेलन भएका छन् भने पाँचवटा शिखर सम्मेलन मात्रै तोकिएको समय र देशमा सम्पन्न भएका छन् । पाँचवटा सम्मेलन समयमै भएका छन्, तर पूर्ववत् सहमतिभन्दा फरक देशमा । आठवटा शिखर सम्मेलन भने समयमा भएका छैनन् । नेपालले आयोजना गरेका दुईवटा सम्मेलन तोकिएभन्दा दुई वर्ष ढिलो सम्पन्न भएका छन् ।
सार्कको पहिलो शिखर सम्मेलन १९८५ डिसेम्बर ७ र ८ मा बंगलादेशको ढाकामा भयो । दोस्रो सम्मेलन १९८६ नोभेम्बर १६ र १७ मा भारतको बैंग्लोरमा भयो । तेस्रो सम्मेलन १९८७ नोभेम्बर २ देखि ४ सम्म काठमाडौंमा भयो जब कि यो भुटानमा गर्ने पूर्ववत् निर्णय थियो । चौथो सम्मेलन पाकिस्तानको इस्लामाबादमा १९८८ डिसेम्बर २९ देखि ३१ मा भयो । जब कि यो श्रीलंकाको कोलोम्बोमा हुनुपर्ने थियो ।
पाँचौँ पनि श्रीलंकामा नभएर १९९० नोभेम्बर २१ देखि २३ सम्म माल्दिभ्सको मालेमा भयो । सार्कको छैठौँ सम्मेलन १९९१ डिसेम्बर २१ मा कोलम्बोमा भयो । सातौँ सम्मेलन १९९३ अप्रिल १० देखि ११ मा बंगलादेशको ढाकामा भयो जब कि यो एक वर्षअघि नै हुनुपर्ने थियो । सार्कको आठौँ सम्मेलन १९९५ मे २ देखि ४ मा भारतको दिल्लीमा भयो जब कि यो एक वर्षअघि हुनुपथ्र्यो ।
नवौँ सम्मेलन पनि एक वर्ष ढिलो गरेर १९९७ मे १२ देखि १४ सम्म माल्दिभ्सको मालेमा भयो । दशौँ सम्मेलन तोकिएकै समय र स्थानमा १९९८ जुलाई २९ देखि ३१ मा श्रीलंकाको कोलोम्बोमा भयो । सार्कको ११औँ सम्मेलन १९९९ मा हुनुपर्ने भारत र पाकिस्तानको तनावलगायतका कारण सन् २००२ जनवरी ४ देखि ६ सम्म काठमाडौंमा सम्पन्न भयो ।
सार्कको १२औँ सम्मेलन पाकिस्तानको इस्लामाबादमा २००४ जनवरी ४ देखि ६ सम्म भएको थियो । तोकिएभन्दा एक वर्ष ढिलो भयो । सार्कको सम्मेलन २००५ नोभेम्बर १२ र १३ मा बंगलादेशको ढाकामा भयो । जब कि यो जनवरीमै हुनुपर्ने थियो । सार्कको १४औँ सम्मेलन दिल्लीमा २००७ अप्रिल ३ र ४ मा भयो ।
माल्दिभ्सको मालेमा हुनुपर्ने १५औँ सम्मेलन २००८ अगस्ट २ र ३ मा श्रीलंकाको कोलोम्बोमा भयो । सार्कको १६औँ सम्मेलन २०१० अप्रिल २८ र २९ मा भुटानको थिम्पुमा भयो जब कि सम्मेलन माल्दिभ्सको मालेमा २००९ सेप्टेम्बरमा हुनुपर्ने थियो । सार्कको १७औँ सम्मेलन माल्दिभ्सको अड्डुमा २०११ नोभेम्बर १० र ११ मा भयो । सार्कको १८औँ सम्मेलन २०१२ मा हुनुपर्नेमा २०१४ नोभेम्बर २६ र २७ मा काठमाडौंमा भयो । तर, १८औँ सम्मेलन २०१६ नोभेम्बर ९ र १० मा इस्लामाबादका लागि तोकिएकोमा भारत–पाकिस्तान तनावका कारण रोकिएको छ ।