मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका म्याड्रिड
२०७७ असोज ८ बिहीबार २१:०८:००
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

सुआरेजको भावुक बिदाइ 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, म्याड्रिड
२०७७ असोज ८ बिहीबार २१:०८:००

उरुग्वेका स्ट्राइकर लुइस सुआरेज बिहीबार पत्रकारसामु भावुक बने । बार्सिलोनामा ६ वर्षको प्रगाढ नाता गाँसेका सुआरेज चिरपरिचित प्रतिद्वन्द्वी एटलेटिको म्याड्रिडमा स्थानान्तर भएका छन् । बार्सिलोना छाड्नुअघिको अन्तिम पत्रकार सम्मेलनमा सुआरेजले धेरैपटक प्रतिक्रिया राख्दा अडकिएका थिए । सुआरेजलाई यति विश्वास छ– आउँदो दिनमा अझै उत्कृष्ट प्रदर्शन गर्न सक्छु । बार्सिलोनाले उनको बिदाइ भव्य बनाउन सकेन । सुआरजले बार्सिलोनाबाट बाहिरिने क्रममा भव्य बिदाइ हुने अपेक्षा राखेका थिए । 

बार्सिलोनामा ६ वर्ष बिताउँदा उनले दुई सय ८३ खेलमा एक सय ९८ गोल गरेका थिए । बार्सिलोनाको इतिहासमा सुआरेज धेरै गोल गर्ने खेलाडीको सूचीको तेस्रो स्थानमा पर्छन् । पहिलो स्थानमा उनका मिल्ने साथी लियोनल मेसी नै छन् । ‘नरमाइलो साथ म बार्सिलोनाबाट जाँदै छु, जुन मेरो कल्पनाभन्दा बाहिर रह्यो,’ सुआरेजले भने । 

बार्सिलोनामा रहँदा सुआरेजले चार स्पेनिस ला लिगा, चार कोपा डेल रे, युरोपियन च्याम्पियन्स लिग तथा क्लब विश्वकप उपाधि जितेका थिए । सन् २०१४ मा उनी इंग्लिस क्लब लिभरपुलबाट सात करोड ४० लाख पाउन्डमा बार्सिलोनामा अनुबन्ध भएका थिए । 

सुआरेजले अन्तिमपटक बार्सिलोनाको जर्सीमा युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वार्टरफाइनलमा बायर्न म्युनिखविरुद्ध प्रतिस्पर्धा गरेका थिए । सो खेलमा बार्सिलोना बायर्नसँग ८–२ ले पराजित भएको थियो । गत वर्षको सिजनमा बायर्न नै च्याम्पियन्स लिगविजेता बन्यो । बार्सिलोनाको अन्तिम सिजन सुआरेजले २१ गोल गरेका छन् । ११ पटक उनले असिस्ट गरेका थिए ।

सन् २०१५/१६ को सिजनमा सुआरेज उत्कृष्ट फर्ममा थिए । यस वर्ष उनले सबैखाले प्रतियोगितामा गरी बार्सिलोनाबाट ५९ गोल गरेका थिए । साथै उनले २२ पटक असिस्ट गरे । यस वर्ष बार्सिलोनाले क्लब विश्वकप, कोपा डेल रे तथा स्पेनिस ला लिगा जितेको थियो । यस वर्ष सुआरेजले गोल्डेन बुट हात पारेका थिए । 

बार्सिलोनाबाट बाहिरिने स्टार खेलाडीमध्ये सुआरेज तेस्रो हुन् । यसअघि इभान राकिटिक तथा भिडाल पनि अन्य क्लबमै लागेका छन् । यति वेला प्रशिक्षक रोनाल्ड कोएम्यानले स्टार खेलाडीलाई क्लबमै निरन्तर राख्न नसक्नु कमजोरीका रूपमा लिइएको छ । 

गत महिना मेसीले अन्य क्लबमा जानका लागि बार्सिलोनालाई बाटो खुलाउन आग्रह गरेको थियो । तर, मेसी बार्सिलोनामै रहेका छन् । गत महिना नै सुआरेजलाई प्रशिक्षक रोनाल्डले आफ्नो टिममा नभएको स्पष्ट पारेका थिए । 

यद्यपि सिजन सुरु हुनुअघि सुआरेज कोरोना परीक्षण तथा अभ्यासमा फर्किएका थिए । त्यसवेलासम्म सुआरेज बार्सिलोनामै रहने विश्वास थियो ।  तर, प्रशिक्षकसँगको सम्बन्ध राम्रो बनाउन नसकेपछि सुआरेजले अन्य क्लबमा जाने विकल्प रोजे । 

सुआरेजले पनि प्रशिक्षकको नजरमा आफू नरहेको जनाएका छन् । उनी भन्छन्, ‘प्रशिक्षकले मलाई भन्नुभएको थियो, तिमी मेरो योजनामा छैन ।’ त्यसपछि अन्य क्लबमा जाने निधो गरेको उनले बताए । ‘खेलाडी कहिलेकाहीँ परिवर्तन चाहन्छन्, क्लब पनि केही परिवर्तन गर्न चाहन्छ, तर यो परिवर्तनको खेलमा प्रशिक्षकले मलाई नै परिवर्तन गर्नुभयो,’ निराश हुँदै उनले भने । 

बार्सिलोना र एटलेटिको म्याड्रिडबीच ६ मिलियन युरोमा सम्झौता भएको छ । ३३ वर्षीय सुआरेजको पारिश्रमिक च्याम्पियन्स लिगको छनोट खेलअनुसार तय हुनेछ । सुआरेज दुई वर्ष एटलेटिको म्याड्रिडसँग सम्झौता गर्दा पारिश्रमिक पनि घटाएको छ । ‘म मेरो क्षमतामा विश्वास गर्छु,’ सुआरेजले भने, ‘आउँदा दिनमा योभन्दा पनि राम्रो प्रदर्शन गरी देखाउनेछु ।’

बार्सिलोनाको बिक्री सूचीमा रहेको थाहाँ पाउँदा आफूलाई ठूला क्लबबाट प्रस्ताव आएको उनले खुलासा गरेका छन् । भन्छन्, ‘जब बार्सिलोनाले सुआरेजको निरन्तरता हुँदैन भनेको थियो, त्यसबेवेला मलाई धेरै क्लबबाट राम्रो प्रस्ताव गरेको थियो, तर रकमभन्दा पनि प्रतिस्पर्धी क्लब नै रोजेँ ।’ बार्सिलोना र रियल म्याड्रिडविरुद्ध खेल्न पाउनु नै ठूलो सफलता भएको उनले बताए । यसअघि सुआरेज सिरिए क्लब युभेन्टसमा जाने पक्कापक्की भएको थियो । प्राविधिक कारणले उनी सिरिए क्लबमा अनुबन्ध हुन सकेनन् ।