मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवराज मैनाली काठमाडौं
२०७७ असोज ७ बुधबार १८:४७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

इन्टरपोल रेड नोटिसमा थपिँदै नेपाली : सुन तस्करदेखि बैंकरसम्म

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ असोज ७ बुधबार १८:४७:००

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले जारी गर्ने रेड नोटिस सूचीमा नेपालीको संख्या बढ्दै गएको छ । नेपालभन्दा विदेशमा अपराध गरेर रेड नोटिसमा पर्ने नेपाली बढ्दो क्रममा छन् ।

नेपाल प्रहरीका अनुसार हाल एक सय पाँच नेपालीमाथि रेड नोटिस जारी भएको छ, जसमध्ये ७८ जनालाई अन्य देशका प्रहरीको सिफारिसमा इन्टरपोलले रेड नोटिस जारी गरेको हो । नेपालमा अपराध गर्ने २७ जना यो सूचीमा छन् ।

विदेशका प्रहरीको फरार सूचीमा रहेकामध्ये अधिकांश भारत, कतार, संयुक्त अरब इमिरेट्समा अपराधमा संलग्न नेपाली छन् । उनीहरूविरुद्ध ठगीदेखि हत्यासम्मका मुद्दा छन् । गम्भीर किसिमका मुद्दामा फरार अभियुक्तविरुद्ध मात्र इन्टरपोलले रेड नोटिस जारी गर्छ ।

कलाकारदेखि सुन तस्करसम्म
विश्वका प्रहरीको ‘खोजी सूची’मा नेपालका कलाकारदेखि सुन तस्करसम्म छन् । ३८ क्विन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दामा फरार रहेका आठजना रेड नोटिसमा छन् ।

झापा गौरादह–१८ का भोजराज भण्डारी, सिराहा धनगढीमाई–१२ का रोहित आचार्य, सोलुखुम्बु दूधकुण्ड गाउँपालिका–८ का टुकबहादुर मगर, धरान–२ का कृष्ण बस्नेत, धरान–३ का मोहनकुमार अग्रवाल, झापा मेचीनगर–१३ का मोहम्मद उस्ताम मियाँविरुद्ध पनि ‘रेड नोटिस’ जारी भएको छ ।

सोही मुद्दामा रेड नोटिस जारी भएका रमेश उप्रेती र किसनकुमार अग्रवाललाई गत वर्ष नै दुबई प्रहरीले पक्राउ गरेको छ । तर, हालसम्म नेपाल ल्याउन सकिएको छैन । कागजपत्र नपुगेको बताउँदै युएई प्रहरीले नेपाल डिपोर्ट गर्न नमानेको स्रोत बताउँछ ।

 

मानव तस्करीको आरोपमा क्यानडा बस्ने कलाकार सुदर्शन गौतमविरुद्ध रेड नोटिस जारी भएको अढाई वर्ष भइसकेको छ । उनले दर्जनौँ नेपाली युवा–युवतीलाई अमेरिका लैजाने भन्दै ठगी गरेका थिए । तीमध्ये कतिपयको समुद्रमै मृत्यु भएको थियो ।

यस्तै, तत्कालीन क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको ठगीमा संलग्न पवन कार्की अमेरिकामा छन् । उनले अमेरिकाकै पिआर पाइसकेकाले नेपाल ल्याउन समस्या भएको प्रहरी अधिकारीहरू बताउँछन् ।

जापान लैजाने भन्दै करोडौँ ठगी गर्ने गोविन्द तिवारीविरुद्ध पनि रेड नोटिस जारी भएको दुई वर्ष बितेको छ । तर, उनलाई नेपाल ल्याउन सकिएको छैन । उनी जापानमा बस्दै आएका छन् ।

गैँडाको खाग चोरी तस्करी मुद्दामा अदालतले १५ वर्ष कैद सजाय सुनाएका पेमा शेर्पा पनि अमेरिकामा छन् । उनलाई पनि ल्याउन पहल भइरहेको प्रहरी स्रोत बताउँछ ।

इन्टरपोलको नेपाल शाखा अर्थात् नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्युरोका अनुसार ठगीदेखि वन्यजन्तु तस्करी मुद्दाका अभियुक्तसम्म रेड नोटिसमा छन् । ठगीमा संलग्न पशुपति शुक्ला ६ वर्षदेखि रेड नोटिसमा छन् । विष्णु लामा, भूपेन्द्र खड्का, राहुल हल्दिया, रामकुमार यादवलगायत रेड नोटिसमा छन् । सम्बन्धित अभियुक्तलाई सहज हुन सक्ने भन्दै पछिल्लो वर्ष प्रहरीले रेड नोटिसमा भएका व्यक्तिको नाम गोप्य राख्ने गरेको छ ।

चार वर्षमा ३० जना थपिए
पछिल्लो चार वर्षमा नेपाल प्रहरीको सिफारिसमा ३० जना नेपालीविरुद्ध रेड नोटिस जारी भएको छ । सन् २०१७ मा एकजना पनि सिफारिसमा परेका थिएनन् । सन् २०१८ मा भने १९ जना थपिएका थिए । तीमध्ये १२ जना सुन तस्करीमा संलग्न व्यक्ति थिए ।

सन् २०१९ मा एक र २०२० मा चारजनाविरुद्ध रेड नोटिस जारी भएको छ । नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले दुई विदेशी नागरिकविरुद्ध समेत रेड नोटिस जारी गरेको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए । एनसिबी स्रोतका अनुसार थप केही फरार अभियुक्तलाई रेड नोटिसमा राख्न इन्टरपोलमा सिफारिस भइसकेको छ ।

सन् २०२० मा विदेशमा समेत गरी आठजना नेपालीमाथि रेड नोटिस जारी भएको छ । तीमध्ये चारजनाले नेपालमा अपराध गरेका थिए भने चारजनाले विदेशमा । नेपाल प्रहरीको सिफारिसमा रेड नोटिसमा पर्नेहरूमा जाभेद अनवर दिन, सन्तोषकुमार लवांगानलगायत छन् । यस्तै, कतारमा विभिन्न किमिसका अपराधमा संलग्न प्रमोद खतिवडा, मनुदिन कवारी, नारायण क्षत्री र बाबुकाजी राजथाल छन् ।

एमएलए नहुँदा समस्या
रेड नोटिसमा रहेका कतिपय व्यक्ति कहाँ छन् भन्ने थाहा हुँदा पनि नेपाल प्रहरीले ल्याउन सकेको छैन । सम्बन्धित देशसँग पारस्परिक कानुन सहायता सन्धि नहुनु र कूटनीतिक सम्बन्ध बलियो हुन नसक्दा प्रहरीले यस्तो समस्या झेल्नुपरेको छ ।

सुन तस्करीमा संलग्न फरार अभियुक्तहरू दुबईमा पक्राउ परेको लामो समय हुँदा पनि उनीहरू त्यहाँ तारेखमा बसेर आफ्नो व्यवसाय गर्दै आएका छन् । नेपाल प्रहरीले पटक–पटक आग्रह गरे पनि अनेक समस्या देखाएर युएईले दिन नमानेको स्रोत बताउँछ ।

जापानमा रहेका गोविन्द तिवारीलाई नेपाल ल्याउन पनि प्रहरीले समस्या झेल्दै आएको छ । अमेरिकाबाट लामो प्रयासपछि प्रहरीले लीलाराज गौतमलाई गत वर्ष ल्याउन सफल भएको थियो । तर, पवन कार्की र पेमा शेर्पालाई ल्याउन सकेको छैन । सुपुर्दगी तथा पारस्परिक कानुनी सहायता सन्धि नभएकाले सम्बन्धित देशबाट निष्कासनको प्रक्रियामार्फत फरार अभियुक्तलाई नेपाल ल्याउने गरिएको छ ।

पछिल्लो १० वर्षमा नेपाल प्रहरीले रेड नोटिसमा परेका २४ जनालाई विदेशमा पक्राउ गराई नेपाल ल्याएको छ । तीमध्ये पछिल्ला अभियुक्त हुन्, हरिशरण खड्का । सुन तस्करीमा मुछिएका उनलाई दुबईमा पक्राउ गरी गत असारमा नेपाल ल्याइएको थियो ।