१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o९:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मन्दिरको माता बनाउने बहानामा किशोरी भारत लैजाने तीन पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:o३:oo

मन्दिरमा माता बनाइदिने भन्दै किशोरीलाई ललाइफकाई भारत लैजाने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई सोमबार साँझ विराटनगर महानगरपालिका– १७ सीमावर्ती क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका– ३ घर भई सुनसरी रामधुनी नगरपालिका– ५ झुम्कामा बस्दै आएकी २२ वर्षीया मनिका ढकाल, सप्तरी विष्णुपुर गाउँपालिका– ५ का २८ वर्षीय सुमितकुमार मण्डल र सप्तरी तिलाठीकैलारी गाउँपालिका– १ घर भई विराटनगर बस्दै आएका २० वर्षीय प्रदीपकुमार  मण्डल छन् ।

उनीहरू पक्राउ परेसँगै प्रहरीले किशोरीको उद्धार गरेको छ । मन्दिरको माता बन्दा एकैदिन एक हजारभन्दा बढी कमाइ हुने प्रलोभनमा पारेर विराटनगरको जोगबनी नाका हुँदै भारत बिहारको फारबिसगन्सम्म पुर्‍याइएकी १७ वर्षीया किशोरीलाई  सोमबार साँझ  ७ बजे विराटनगर महानगरपालिका– १७ सीमावर्ती क्षेत्रबाट अधिकारकर्मीको सहयोगमा प्रहरीले उद्धार गरेको हो ।  

मोरङका एसपी सन्तोष खड्काले उद्धार भएकी किशोरीले आफूलाई मन्दिरमा बिक्री गरेर बलि दिनका लागि लैजान लागेको योजना थाहा पाएर नेपाल फर्केको बयान दिएको बताए ।

उनले भने, ‘अझै अनुसन्धान पूरा भइनसकेकाले वास्तविकता के हो यकिन हुन बाँकी छ ।’ ‘मन्दिरमा बस्दा पैसा धेरै कमाउने प्रलोभन देखाएर बेचबिखनको लागि किशोरीलाई भारत लगेको पुष्टि हुन्छ ।  तर, बलि दिनकै लागि हो भन्ने यकिन भएको छैन, हामी अनुसन्धान गर्दै छौँ,’ उनले भने ।  

पक्राउ परेका तीनैजनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन कसुरमा अदालतमा म्याद थप गरिएको एसपी खड्काले बताए । 
 

ad
ad