१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
ट्रमा सेन्टरबाट डिस्चार्ज भएपछि डा. केसी
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार o५:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

डा. केसीको सत्याग्रह अब शिक्षण अस्पतालबाट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o५:२४:oo

जुम्लाबाट नेपालगन्ज हुँदै काठमाडौं आएका डा. केसीलाई झुक्याएर ट्रमा सेन्टर लगियो, झर्न नमान्दा प्रहरीद्वारा दुर्व्यवहार, स्वेच्छिक डिस्चार्ज लिएर उनी शिक्षण अस्पताल गए

चिकित्सा क्षेत्र सुधारको माग गर्दै जुम्लामा अनशनरत डा. गोविन्द केसी मंगलबार काठमाडौं आइपुगेका छन् । महाराजगन्जस्थित शिक्षण अस्पतालबाट उनले अनशनलाई निरन्तरता दिएका छन् ।

डा. केसी सोमबार जुम्लाबाट नेपालगन्ज आएका थिए । ‘राज्यले हिंसा र आक्रमण गर्न सक्ने लागेर सत्याग्रहलाई निरन्तरता दिने योजनासहित जुम्लाबाट काठमाडौं जान लागेको छु,’ उनले काठमाडौंका लागि हिँड्नुअघि भनेका थिए । नभन्दै काठमाडौं आउनासाथ उनीमाथि दुर्व्यवहार भएको छ । मंगलबार काठमाडौं विमानस्थलबाट उनी शिक्षण अस्पताल जान खोजेका थिए । तर, उनलाई बलपूर्वक ट्रमा सेन्टर लगिएको थियो । 

एम्बुलेन्सबाट निकाल्ने क्रममा प्रहरीले डा. केसीमाथि दुर्व्यवहार गरेको थियो । प्रहरीका एक डिएसपीले केसीको स्लाइन चढाइरहेको हात तानेर ढोकासम्म ल्याएका थिए भने अर्का डिएसपीले घचेटेर एम्बुलेन्सबाट निकालेका थिए । यसक्रममा डा. केसीले प्रतिवाद पनि गरेका थिए ।

प्रहरीले शिक्षण अस्पतालमा कोभिडको जोखिम भएको भन्दै डा. केसीलाई जबर्जस्ती ट्रमा सेन्टर पुर्‍याएको थियो । तर, केसी ट्रमा सेन्टरबाट स्वैच्छिक डिस्चार्ज लिएर साँझ नै शिक्षण अस्पताल आएका छन् । उनले त्यहीँबाट १९औँ सत्याग्रह जारी राखेको केसीका सहयोगी प्रितम सुवेदीले बताए । सरकारले शिक्षण अस्पताललाई कोभिड थ्री अस्पतालका रूपमा सूचीकृत गरेको छ । 

डाक्टर्स सोसाइटी अफ नेपालले डा. केसीको जीवन रक्षा गर्न अपिल गरेको छ । मंगलबार विज्ञप्ति निकाल्दै सोसाइटीले चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा. केसीले उठाएका जायज मागलाई पूरा गर्दै जीवनरक्षा गर्न सरकारसँग आग्रह गरेको छ । सत्याग्रहमा बसेको नौ दिन बित्दा पनि उनको जीवनरक्षाका निम्ति कुनै पहल नभएकोमा सोसाइटीले आपत्ति जनाएको छ । 

डा. केसीले आफ्ना माग पूरा नभएसम्म कुनै पनि उपचार सेवा नलिने बताएका छन् । उनले कर्णाली र राप्तीका स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा गेटा मेडिकल कलेजलाई व्यवस्थित बनाई सञ्चालन गर्न प्रमुख माग गरेका छन्  । आयल निगम, वाइडबडी जहाज, सेक्युरिटी प्रेस, दरबारमार्गको जग्गा, ओम्नीको औषधि खरिदलगायतका विषयमा भएका भ्रष्टाचारका विषयमा दोषीलाई कारबाही गर्न पनि उनको माग छ । त्यस्तै, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्न पनि डा. केसीको माग छ ।

प्रहरीले डा. केसीमाथि गरेको दुव्र्यवहारको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । प्रहरीले भने बल प्रयोग नगरेको दाबी गरेको छ । महानगरीय प्रहरी कार्यालयले मंगलबार साँझ दिएको प्रस्टीकरणमा भनिएको छ, ‘उहाँ (डा. केसी)को स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर चिकित्सकहरूको सल्लाहबमोजिम राष्ट्रिय ट्रमा सेन्टरमा पुर्‍याउन प्रहरीले सहयोग गरेको जानकारी गराउँदछौँ ।’

ad
ad