१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार २१:२८:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दाइजोको विवादमा युवतीको मृत्यु, प्रहरीले जाहेरी लिन मानेन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २१:२८:oo

दाइजोको निहुँमा सर्लाहीमा एक युवतीको हत्या भएको परिवारजनको आरोप छ । तर, घटनाबारे जाहेरी लिन प्रहरीले आनाकानी गरिरहेको छ ।

हरिपुर नगरपालिका– ८ बस्ने बबिता महतोको हत्या भएको आरोप लागेको छ । उनको विवाह गत १५ जेठमा  सोही नगरपालिकाका रामएकवाल महतो कोइरीसँग भएको थियो । दाइजोका लागि विवाह लगत्तैदेखि मानसिक यातना दिइरहेको र कुटपिट गरी ३ भदौमा हत्या गरिएको मृतकका पिता दशरथको आरोप छ । रामएकवालको परिवारले भने आत्महत्या गरेको दाबी गरेको छ ।

पटक–पटक प्रहरी कार्यालय पुग्दा पनि जाहेरी नलिइएको दशरथ महतोले बताएका छन् । तर, उनको घरतर्फका आफन्तका नाममा किटानी जाहेरी दिँदा नलिइएको महतोले बताए । उनले भने, ‘म केही दिन गाउँका मान्छेसँग त्यो दिनको घटना बुझ्न व्यस्त भएँ । त्यसपछि छोरीको घरकाले पोस्टमार्टम रिपोर्ट आउँछ भनेपछि कुरेर बसेँ । तर, नआएपछि अन्त्यमा २८ भदौमा जाहेरी लिएर इलाका प्रहरी कार्यालय गएँ ।’

छोरीका ससुरा विलास महतो, सासू गुलाबदेवी महतो र ज्वाइँ २१ वर्षीय रामएकवाल महतोका नाममा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिन खोज्दा नलिएको दशरथले बताए । उनका अनुसार छोरीलाई आठ हजार रुपैयाँ नगद र केही फर्निचर नदिएको कारण घरपरिवारले कुट्ने गरेको फोनमा कुरा हुँदा उनले भन्ने गरेकी थिइन् ।

त्यसपछि छोरीलाई माइतीमै राखेका उनले जनैपूर्णिमाको भोलिपल्ट श्रीमान् लिन आएपछि छोरी जान नमाने पनि पठाएका थिए । दशरथका अनुसार कोरोनाका कारण जिल्लामा निषेधाज्ञा लागू भएकाले पैसा नभएको र उपयुक्त सामान पाउने पसलहरू पनि खुला नभएका कारण फर्निचरलगायतका केही सामान दिन बाँकी थियो । त्यही नदिएको निहुँमा विवाहयता दुई–तीनपटक छोरीलाई कुटेको थाहा पाएको उनले बताए ।

‘तर, विष सेवन गरी आत्महत्या गरेको हो । तपाईंले केको आधारमा कर्तव्य ज्यान मुद्दामा जाहेरी दिँदै हुनुहुन्छ भनेर इन्स्पेक्टरले सोधे,’ उनले जाहेरी लिएर जाँदा प्रहरीको प्रतिक्रियाबारे भने, ‘मसँग उसको लासको फोटो छ । दाँत भाँच्चिएको, मुख र कानमा चोट लागेको देखिएको छ भनेँ । त्यसपछि निवेदनको फोटोकपी गराएर मलाई पोस्टमार्टम रिपोर्ट आएपछि मात्र आउनु भने ।’
 
तर, मृतक बबिताका घरकाले अझै पोस्टमार्टम रिपोर्ट नआएको बताएका कारण आफूसँग रिपोर्ट नभएको उनको भनाइ छ । पहिले पोस्टमार्टम रिपोर्ट जनकपुरबाट आउँछ भन्ने गरेकोमा मृतक बबिताका घरकाले अहिले काठमाडौंबाट कागजात आउन बाँकी रहेको बताउने गरेका छन् ।
इलाका प्रहरी कार्यालयमा दर्ता नगरेपछि उनी कर्फ्युका बीच आइतबार २५ किलोमिर साइकल चलाएर सदरमुकाम मलंगवा पुगेका थिए । तर, त्यहाँ इलाका प्रहरी कार्यालयको क्षेत्र पर्ने भएकाले त्यहीँ जान भन्दै जाहेरी नलिइएको दशरथले बताए ।

उनी सोही दिन फर्किए र भोलिपल्ट जनकपुर पुगी वकिलबाट अर्को जाहेरी लेखाएर आए । जिल्ला प्रहरी कार्यालयको भनाइअनुसार दोस्रोपटक मंगलबार (असोज ६) इलाका प्रहरी कार्यालय हरिपुर पुग्दा पनि उनको जाहेरी लिइएन । ‘इन्स्पेक्टर साबको सरुवा भइसक्यो भने । एक महिना हुन लागिसक्यो । छोरीको ससुराले मेरी श्रीमती र छोरा मिलेर मारेको भनेर गाउँलेका अगाडि भनेका छन् । प्रहरीले चाहिँ जाहेरी लिन मानेको छैन,’ उनले भने ।

उनका अनुसार भदौ ३ गते बिरामी भएको भनेर सर्लाहीकै एक अस्पतालमा उनकी छोरीलाई लगिएको जानकारी घरपक्षबाट उनले पाएका थिए । त्यसपछि जनकपुर लगेर उनलाई छोरीको उपचारका लागि पैसा जम्मा गर्नु भनेका थिए ।

त्यसको भोलिपल्ट भदौ ४ मा छोरी हिँड्न सक्ने भएको बताएका थिए । तर, ५ गते छोरीको शव घर ल्याइएको उनले बताए । दाहसंस्कार अगाडि अनुहार र पेटमा चोटपटक देखिएकाले गाउँलेसहित उनले सम्धी विलास महतोलाई सोधेका थिए ।

‘गाउँलेले दबाब दिएपछि उनले सबैको अगाडि मेरी श्रीमती र छोरा मिलेर मारेको हो, मेरो गल्ती छैन भनेर स्विकारेका थिए,’ दशरथले भने, ‘छोरीलाई चत्रिरमा प्रश्न उठाउँदै र दाइजोको कुरा उप्काएर कुटेको र जबर्जस्ती विष खुवाइदिएको गाउँलेका अगाडि भनेका हुन् ।’ 

सर्लाहीका प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले घटनाबारे अनविज्ञता व्यक्त गर्दै त्यस सम्बन्धमा आफूले ‘बुझ्ने’ प्रतिक्रिया दिए ।

ad
ad