Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७७ असोज ६ मंगलबार १०:२९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

खासा गोदामका सामान ग्वान्झाओ फिर्ता हुँदै

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७७ असोज ६ मंगलबार १०:२९:००

प्राकृतिक विपत्तिको कारण देखाएर चीन सरकारले  तातोपानी नाका ठप्प पारेको छ । भोटेकोसीको मुहान क्षेत्र न्यालममा ताल फुट्ने सम्भावना रहेको र बोकु रिभरले सडक बगाएकोले नाका बन्द भएको तिब्बतको जांमु प्रशासनले जनाएको छ ।

तीन महिनादेखि नाका बन्द हुँदा नेपाली व्यापारीले चीनको विभिन्न सहरबाट खरिद गरेर खासासम्म ल्याइपुर्‍याएको भन्सार सामग्री अलपत्र अवस्थामा छन् । ‘फेसन आउट’ हुन लागेकोले  नेपाली व्यापारीको अनुरोधमा चिनियाँ ट्रान्सपोर्टेसनले खासा गोदामको सामान ग्वान्झाओ फिर्ता लैजाने प्रक्रिया आइतबारबाट सुरु गरेको छ ।

गर्मी महिनाका लागि ल्याएको सामान पाँच महिनादेखि चिनियाँ क्षेत्रमा अलपत्र परेकोले नेपाली व्यापारीको अनुरोधमा खासा, न्यालम र केरुङबाट चार हजार दुई सय ८९ किलोमिटर फर्केर ग्वान्झाओ लैजाने प्रक्रिया सुरु गरिएको सिल्क ट्रान्सपोर्टका चिनियाँ प्रमुख अदो सोनाम पाल्डेनले ल्हासाबाट नयाँ पत्रिकालाई फोनमार्फत जानकारी दिए । 

‘तीन महिनादेखि खासा, न्यालम र केरुङ बस्दाको गोदाम भाडा र फर्केर ग्वान्झाओ पुर्‍याएको ढुवानी खर्चसमेत एक कन्टेनरले एक लाख घोर्मु तिरेर सामान फिर्ता लगिएको हो,’ उनले भने । खासा र न्यालममा डेढ सय कन्टेनर छन् । एक कन्टेनरले तीन करोडबराबरको सामग्री ल्याउँछन् । तातोपानी र केरुङ नाकामा रहेका झन्डै १५ सय कन्टेनर सामान नेपाली व्यापारीको हो । 

ग्वान्झाओबाट सामान ल्याउँदा एक कन्टेनरबराबर करिब ५० हजार घोर्मु ट्रान्सपोर्टेसन खर्च लाग्छ । फिर्ता पठाउँदा एक लाख खर्च लाग्यो । ग्वान्झाओबाट पानीजहाजमार्फत भारतको कोलकाता हुँदै वीरगन्ज भन्सारबाट सामान ल्याउँदा व्यापारीले ठूलो घाटा व्यहोर्नुपरेको छ । झन्डै एक वर्षदेखिका भन्सार सामग्री नाकामा रोकिएका छन् । फेरि ग्वान्झाओ फर्काएर पानीजहाजबाट भारत हुँदै काठमाडौं आइपुग्न तीन महिना लाग्छ ।

चीनको विभिन्न सहरमा किनेको सामान १५ महिना लगाएर काठमाडौं आइपुग्दा व्यापारीलाई ठूलो घाटा हुने र त्यसको मार नेपालीले व्यहोर्नुपर्ने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले बताए । ‘व्यापार गर्नेहरू सडकमा आउने अवस्था छ,’ उनले भने, ‘यही अवस्था रहे अब नेपालीले चीनबाट सामान आयात नै गर्न सक्दैनन् ।’ 

तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार नाका खुलाउन सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, अध्यागमन कार्यालय र सरकारी उच्च तहले पहल गरिरहेको छ । ‘हामीले खासा क्षेत्रमा गएर चिनियाँ अधिकारीसँग नाका खुलाइदिन अनुरोध गरेका हौँ । तर, ल्हासाबाट आदेश नआई नाका खोल्न नसकिने उहाँहरूको भनाइ छ,’ उनले भने ।

सिन्धुपाल्चोकका बाढीपहिरोपीडितलाई चीन सरकारले दिएको राहत सामग्री आजै (मंगलबार) आउँदै छ । चामल, टेन्ट र स्यानिटाइजरसहित आठ कन्टेनर सामान मंगलबार सुक्खा बन्दरगाहमा आइपुग्ने खत्रीले बताए ।