१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज ६ मंगलबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ असोज ६ मंगलबार o१:३९:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रवासी नेपालीलाई भ्रमित पारेर पैसा संकलन गर्ने सगुनको प्रयास जारी

३६ सय नेपाली सेयरहोल्डर, तर नीति निर्माणमा संस्थापकको एकाधिकार

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ असोज ६ मंगलबार o१:३९:oo

‘नेपाली भावनामाथि सगुनको बैगुन : प्रवासी नेपालीबाट ५५ करोड उठाएको कम्पनी एक रुपैयाँ आम्दानी नगरी एक अर्ब घाटामा’ शीर्षकमा नयाँ पत्रिकामा प्रकाशित समाचारप्रति सगुनले औपचारिक रूपमा प्रतिक्रिया दिएको छ । तर, एपबाट ब्याट्री चार्ज हुन्छ भन्ने हावादारी दाबी गरेर प्रवासी नेपालीबाट रकम संकलन गरेकोमा कम्पनीले आफ्नो गल्ती स्विकारेको छैन । 

खोज पत्रकारिता केन्द्रको संयोजनमा तयार भएको सो समाचारमा सगुनले हावादारी सपना बेचेर ३६ सय प्रवासी नेपालीबाट रकम संकलन गरेको दाबी गरिएको थियो । समाचार प्रकाशित भएपछि सगुनका सहसंस्थापक कविन सिटौलाबाट प्रेषित पत्रमा भनिएको छ, ‘सफ्टवेयरको सहयोगबाट मोबाइल फोन चार्ज गर्ने प्रविधिको विकास गर्नेबारेमा आइआइटी दिल्लीका प्राध्यापकहरूसँग मिलेर अनुसन्धान गरेको, तर त्यसका लागि धेरै खर्च लाग्ने देखेर हामीले उक्त परियोजनालाई हाल स्थगित गरेका हौँ ।’ तर, प्रश्न के उठ्छ भने अनुसन्धान सुरु गरेको र प्रमाणित नभएको विषयलाई सगुनले केको आधारमा विज्ञापन ग¥यो ? देशका प्रधानमन्त्रीका अगाडि यस्तो हावादारी दाबी किन र के उद्देश्यले प्रस्तुत गरिएको थियो ? यो नेपाली जनतालाई भ्रमित गर्ने र उनीहरूबाट पैसा दोहन गर्ने उद्देश्य थियो भन्ने प्रस्ट छ ।

ब्याट्रीको दाबी ‘फ्युज’ भएपछि प्रयोगकर्ता ८१ लाख पुगेको अर्को हावादारी दाबी प्रस्तुत गरेको छ । 

गत जुनयता हरेक महिना १० लाख प्रयोगकर्ता बढेको दाबी गरिए पनि यसको स्वतन्त्र पुष्टि हुँदैन । सोमबारसम्म गुगल प्लेस्टोरको आधिकारिक रेकर्ड हेर्दा स्थापनादेखि अहिलेसम्म सगुनका दुई एप्समध्ये एउटा पाँच लाख र एउटा एक लाख डाउनलोड भएका छन् । यो नेपालभित्र सञ्चालन भएका सामान्य ‘स्टार्टअप’को तुलनामा पनि निकै कम हो । एनसेल, इ–सेवा, नबिल बैंक, खल्तीजस्ता एपहरू नै १० लाखभन्दा बढी डाउनलोड भएका छन् । हाम्रो पात्रो एप ५० लाखभन्दा बढी, अर्थात् सगुनभन्दा १० गुणा बढी डाउनलोड भएको छ । 

सगुनका वेबसाइट प्रयोगकर्ताको तथ्यांक पनि निराशाजनक छ । अमेजन कम्पनीको अलेक्साको विवरणअनुसार सगुन डटकम र सगुन लाइट डटकमका संसारभरका प्रयोगकर्तामध्ये ३५ प्रतिशत नेपालबाटै देखिन्छ । यति ठूलो प्रतिशतमा नेपालबाट चलाउँदा नेपालका चर्चित साइटहरूमध्येमा पर्नुपर्ने हो । तर, सगुन लाइटको नेपाल ¥यांक ६ हजार एक सय ४० छ । जब कि इसेवा ३८, हाम्रो पात्रो १७औँ ¥यांकमा छन् ।

अझ तीन हजार ६ सय सर्वसाधारण नेपालीले सेयर हाले पनि नीतिगत निर्णय हुने ‘क्लास ए’को शतप्रतिशत सेयर भने संस्थापक गोविन्द गिरीमा निहित किन छ ? समाचारले उठाएको यो प्रश्नमा सगुनले भनेको छ, ‘अमेरिकामा सबै स्टार्ट कम्पनीका संस्थापकहरूले शतप्रतिशत भोटिङ राइट आफूसँग राखेका हुन्छन् । बरु सगुनले आफ्ना मिनी आइपिओ लगानीकर्तालाई १० मा १ भोटिङ राइट दिएको हुन्छ । कम्पनीमा नयाँ लगानीकर्ता थपिँदै जाँदा पुराना लगानीकर्ताको सेयर खुम्चिँदै जान्छ । तर, नाफा र मूल्य भने बढ्दै जान्छ ।’ 

सगुनले अमेरिकी सरकारलाई बुझाएको सन् २०१७ को वार्षिक प्रतिवेदनको ‘फरवार्ड लुकिङ स्टेटमेन्ट’मा कम्पनीको सेयर जारी गर्ने अधिकार, प्रतिसेयर मूल्य तोक्ने र सेयरको मूल्यांकन गर्ने अधिकार संस्थापक गिरीमा हुन्छ भनेर प्रस्ट भनिएको छ । नयाँ सेयर जारी गर्ने आधार कम्पनीको सम्पत्ति, बुक भ्यालु, सम्भावित मुनाफाजस्ता आधारमा होइन कि आर्थिक स्रोत चाहिएका वेलामा निष्कासन गरिनेछ भनिएको छ । यसरी नयाँ निष्कासन गरिने सेयरले पुराना सेयरधनीको कम्पनीमा हुने सम्पत्ति हिस्सा घट्दै जान्छ भनिएको छ । सगुनका आधिकारिक कागजातबाट नै यसअगाडिको आइपिओ अफरिङमा प्रतिसेयर मूल्य २३ डलर र यसपालि ३० डलर तय गर्नुमा कम्पनीको मूल्यांकनका आधार नभई संस्थापकको तजबिजमा भएको प्रस्ट हुन्छ ।

कुनै स्वतन्त्र मूल्यांकनकर्ताले तय गरेको सेयर मूल्य हो भने संस्थापक गिरीलाई इमेल गरेको भरमा मूल्य कसरी कम हुन सक्छ ? जब कि सगुनको वेबसाइटमै सूचना छ, ‘संस्थापक गिरीलाई सीधै इमेल गरेमा सेयर मूल्यमा डिस्काउन्ट पनि हुनेछ ।’ स्वतन्त्र मूल्यांकन हुने सेयरको खरिद–बिक्रीमा डिस्काउन्ट हुन्छ भन्नु नै अनैतिक कारोबार हो । सन २०१८ मा पनि आइपियो म्याद सकिन लाग्दा सेयर किन्नेलाई प्रतिशतका हिसाबले सित्तैमा 'बोनस सेयर'को अफर ल्याइएको थियो ।

सगुनले हालसम्म नेपालमा मिनी आइपिओअन्तर्गत सेयर किनबेच नगरेको र तत्काल त्यस्तो योजना नभएको बताएको छ । तर, जहाँ सेयर कारोबार हुँदैन, त्यहाँ किन विज्ञापन गरियो भन्ने प्रश्न स्वाभाविक छ । यो प्रश्न मिडियाले मात्र होइन, नेपालको धितोपत्र बोर्डले पनि गरेको हो । बोर्डले नेपालीलाई भ्रममा पार्ने गरी विज्ञापन र सूचना सार्वजनिक नगर भनेको हो किनकि यस्तो विज्ञापन गर्न विज्ञापन ऐनले पनि निषेध गरेको छ । 

सगुनले पठाएको पत्रमा भनिएको छ, ‘हिन्दुस्तान टाइम्सको सिंगापुरस्थित सब्सिडियरी कम्पनी ‘एचटी ओभरसिज पिटिई एलटिडी’ सम्पर्कविहीन छ भन्ने समाचार सही होइन ।’ तर, सगुनले नै २०२० जुलाईमा सार्वजनिक गरको वार्षिक प्रतिवेदनमा नै एचटी सम्पर्कविहीन भएको उल्लेख गरेको छ । वार्षिक प्रतिवेदन भरपर्दो हो कि प्रेस विज्ञप्ति भनेर सगुनले नै स्पष्ट पार्ने वेला आएको छ ।