मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असोज ३ शनिबार १३:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहामा बोक्सीको आरोपमा निर्घात कुटिएकी महिलाको धरानमा उपचार हुँदै

Read Time : < 1 मिनेट
२०७७ असोज ३ शनिबार १३:५३:००

सिराहाको सीमावर्ती गाउँमा एक महिलालाई बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट गरिएको छ । कुटपिटबाट गम्भीर घाइते भएकी उनको  धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 

सिराहाको कुर्सन्डी गाउँपालिका– ५ नवराजपुरनिवासी ४५ वर्षीया मूर्तिदेवी यादवलाई स्थानीय धर्मनाथ यादव, उनका छोरा सन्तोष, पशुपति र अन्य देवनाथ यादव, कृष्ण यादव र ब्रह्म यादवलगायतको समूहले २८ भदौको राति निर्घात कुटपिट गरेको पीडितका छोरा गणेश यादवले बताए।

गणेशका अनुसार गाउँमा एक बच्चा बिरामी भएको थियो । अर्को एकजनाको चट्याङ लागेर मृत्यु भएको थियो । बोक्सी लागेर यस्तो घटना भयो भन्दै मूर्तिदेवीलाई मरणासन्न हुने गरी कुटपिट गरिरएकाे थियाे ।   

आमाको अस्पतालमा रेखदेख गर्दै आएका गणेशले भने, ‘राति १२ बजे घरबाट निकालेर सडकमा लगेर कुटे, कुटपिट गरेर खेतमा फालिदिए । उनीहरूले आमालाई मलमूत्र पनि खुवाए । छुट्याउन जाँदा मलाई पनि पिटे।’ घटनाबारे प्रहरीलाई खबर गरे पनि उनीहरूलाई कारबाही गर्न प्रहरीले बेवास्ता गरेको गणेशले गुनासो गरे । 

घटनापछि मूर्तिदेवीलाई लहानको कामना नर्सिङ होममा उपचारका लागि भर्ना गरिएको थियो । अस्पतालमा उनको उपचार सम्भव नभएपछि धरान ल्याइएको छ । उनको चिउँडो र गालाको हड्डी भाँचिएको उपचारमा संलग्न चिकित्सकले बताए । 

उनको शुक्रबार अप्रेसनको तयारी गरिए पनि उच्च रक्तचापका कारण अप्रेसन गर्न नसकिएकाे  दन्तचिकित्सक सर्जन डा. प्रदीप आचार्यले जानकारी दिए । उनकाे अहिले प्रतिष्ठानको डेन्टल वार्डको ३२ नं. बेडमा उपचार भइरहेकाे छ । 

कुटपिट गर्ने समूहले पीडित महिला र उनको परिवारलाई प्रहरीमा उजुरी गरे चोरीको आरोपमा फसाइदिने धम्की दिँदै आएको गणेशले बताए । पीडित परिवारले लगातार धम्की आएपछि प्रहरीलाई घटनाबारे सामान्य खबर गरे पनि अहिलेसम्म उजुरी दिन सकेको छैन ।